बधाई र अपेक्षा! कांग्रेसको नयाँ कार्यसमितिलाई




कृष्ण सादगी 

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिमा विभिन्न भुमिका र क्षेत्रमा निर्वाचित हुन पुगेका ६४ जना नेताहरुलाई हार्दिक बधाई छ! तपाईहरुको आगामी कार्यकाल पुर्ण सफल बनोस्। मिलेर अगाडी बढ्न सक्नुहोस । काम गरेर देखाउन सक्नुहोस्।

४ लाख ७० हजार क्रियाशिलहरुबाट विभिन्न चरणहरु पार गर्दै ३ हजार १ सय ६१ जना निर्वाचित भएर उनीहरुबाट ६४ जना केन्द्रमा निर्वाचित हुँदै गर्दा तपाईहरुका काधमा जिम्मेवारीबोधको ठुलो भारी हुनु पर्छ। त्यो भारीलाई निश्चित समय सीमा भित्र तपाईहरुले निश्चित गन्तव्यसम्म पुर्याउन सक्नुपर्छ। राम्रो ख्याल राख्नुहोला।

मौका पटक पटक आउँदैन। अवसर पाउँदा राम्रा र परिवर्तनको महसुस हुने खालका काम गरेर देखाउन सक्नुहोस्। 'साँघुरो समुह/घेराभित्र सिमित हुनमा रमाउने कुखुरे छाती'बाट मुक्त हुनसक्नुहोस्। चित्त फराकिलो होस्। आफ्ना कार्यकर्ताहरुसँगको पहुँच सहज र फराकिलो बनाउनुहोस्। आफुलाई बदल्नुहोस अनी मात्र देशको मुहार बदल्न सक्नुहुनेछ।

दुई चीरामा विभाजित काँग्रेसलाई एकीकृत गर्न सफल हुनुहोस्। भद्रगोले संस्कृतिमा चलेको दललाई व्यवस्थित उत्तरदायी र पारदर्शी बनाउन कम्मर कसेर काम गर्नुहोस्/सफल हुनुहोस्। दल सुध्रिएमा मात्र देशमा परिवर्तन सम्भव छ! नत्र फेरी उही घुमीफिरी शुन्यको परिणती नआउला भन्न सकिन्न। अब त्यो सुधारको महत्वपुर्ण जिम्मेवारी तपाईहरुकै विवेक र क्षमतामा भर पर्नेछ ।

नियमअनुसार नहुने काम गर्न दबाब नगर्नुहोस्। नियमानुसार हुने काम सम्पन्न गर्न कुनै रुकावट सिर्जना नगरिदिनुहोस्। बढी समय खट्नुहोस्! आरोप प्रत्यारोपका श्रृंखलामा समय नबिताई काम गरेर देखाउन सक्नुहोस्।

तत्काल मधेश समस्याको निकाश निकाल्न ईमान्दारीपुर्वक बिज्ञहरुसहितको टिम बनाएर लागि पर्नुहोस्। तपाईहरुको यही नेतृत्वकालमा मुलुकले समृद्दी र विकासमा पाईला चाल्न शुरु गरोस्। मुलुक दुई अपत्यारिला ठुला दुर्घटनाबाट थीलथिलो बनेको छ । भुकम्प र नाकाबन्दीको चोट असाध्यै गहिरो छ। सबैका कुरा सुनेर तुरुन्त काम गर्न सुरु गर्नुहोस्। ढिलाई नगर्नुहोस्। समयले पर्खदैन।

आन्तरिक कलहले निर्वाचन गर्न गराउन नसकेका जति पनि भातृ संगठनहरु छन्- सबैमा ६/७ महिना भित्रै निर्वाचन गराई नयाँ नेतृत्वलाई काम गर्ने बातावरण बनाईदिनुहोस्। यसो गर्दैगर्दा आफ्नो मान्छे खोज्ने हैन, संक्षम र सबल मानिसहरुलाई स्वस्थ्य प्रतिष्पर्धाबाट अगाडी बढ्ने मौका दिनुहोस्!

दल बलियो र संस्थागत भएमा लोकतन्त्र बलियो हुन्छ। दलहरु जनताप्रति जवाफदेही, पारदर्शी र उत्तरदायी हुन अनिवार्य छ। पहिलेका सभापतिहरुले जसरी पार्टी हाँकेका थिए- त्यो अब सम्भव छैन। समय बद्लीसकेको छ। अपारदर्शी र अनुत्तरदायी अनी भद्रगोले पद्दतीबाट दल चलाउन खोजिएमा त्यो दलका लागि मात्र हैन देशकै लागि पनि ठुलो धोका हुनेछ। जनता सचेत हुँदै गएका छन्- आफुलाई उनीहरुका शासक हैन सेवक बनाउन सक्नुहोस्।

दलभित्र पुरै पुनर्संरचना गर्न जरुरी छ। संघिय स्वरुपको बनाउनेदेखी कार्य समितीका हरेक सदस्यलाई जिम्मेवारी दिएर प्रभावकारी/'फंक्शनल' बनाउन सक्नु पर्छ। आवश्यकताका आधारमा विभागहरुको गठन गरी तिन्लाई क्रियाशिल गर्न जरुरी छ। सरकारका मन्त्रालयहरुको विषय/कार्यक्षेत्रलाई पनि विभिन्न विभागहरुमा विभाजन गरेर जिमेवारी दिई सदस्यहरुलाई विषयगत क्षमता अभिबृद्दी गर्न सक्नु पर्छ।

पहिले शासनमा रहँदा देउबाजी कुशासनका नाईके र लोकतन्त्र नै सिद्ध्याउने मुख्य खलपात्रमा रुपान्तरित थिए। त्यसैले उनी एक्लैले केही गर्लान भन्ने आशा गर्नु बेक्कार हुनेछ। सभापती देउवाजीलाई पनी राम्रोसँग पद्दती बनाएर मात्र चल्न सक्ने थीति बनाउनुहोस्।

पहिलेका काँग्रेस सभापतीहरुले झै उन्लाई एक्लै चलखेल र निर्णय गर्ने अवसर कहिल्यै नबनाउनुहोस्। उनलाई नजिकबाट निगरानी नगर्ने हो भने फेरी पनि ठुला दुर्घटना नदोहोरिएला भन्न सकिन्न। देउवाजीले पनि 'आफुलाई बद्लीएको हुँ' भन्ने आभाष हुने गरी काम गर्न सक्नुहोस् भन्ने शुभकामना छ।

देउवाजीलाई समयले पटक पटक मौका दिईरहँदैन। उनले सबैभन्दा पहिले आफैले आफ्नो अनुहारमा पोतेका बदनामीका गाढा काला धब्बाहरु मेटाउन निक्कै मिहेनत गर्नुपर्छ, गर्नुहोस र यसपाला सफल पनि हुनुहोस्।

पार्टी सभापती लगायत सम्पुर्ण निर्वाचित पदाधिकारी र सदस्यहरुका हैसियतमा के कस्ता काम-कुरा, कार्यशैली र व्यबहार बाहिर आउन थाल्छन् ? गुण र दोषका आधारमा फेरी पनि लेख्दै गरौला। पहिले बदल आफैलाई अनीमात्र बदल्न सफल हुनेछौ दल र देश/मुलुकलाई। स्वार्थी गिरोहको साँघुरो घेरा भित्र सिमित हुनुमै नरमाउनुहोस्। त्यस्तो गर्ने बानी नेपाली जनताका लागि ठुलो घात हुनेछ। आगे! तिमीहरुकै मर्जी।

, ,