एकल इन्जिनका विमानमा यात्रु चढ्न प्रतिबन्ध

काठमाडौँ, २३ फागुन । सरकारले एक इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एकल इन्जिन भएका विमानमा यात्रु चढ्न प्रतिबन्ध लगाउने र कार्गोका रुपमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्गोका रुपमा सञ्चालन अनुमति दिएका विमानको पनि प्रत्येक महिना नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत प्राविधिक परीक्षण गरी प्राप्त प्रतिवेदनका आधारमा मात्र उडाउने निर्णय गरेको छ ।

त्यस्तै एकल इन्जिनका जहाज उडाउनु अगाडि परीक्षण गरी दैनिक लगबुक राख्ने र त्यसको अनुगमनका आधारमा मात्र उडान अनुमति प्रदान गर्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबन्ध गर्ने निर्णय पनि गरेको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले हाल भएका एकल इन्जिनका विमानलाई कार्गोको रुपमा उडान अनुमति दिने तर आगामी दिनमा एकल इन्जिन भएका विमान खरिद गरेर ल्याउन प्रतिबद्ध लगाइएको जानकारी दिनुभयो ।

यही फागुन १४ गते नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखायामा दुर्घटना भएपछि सरकारले एकल इन्जिनको विमान सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो । नेपालमा हाल एकल इन्जिनका पाँचवटा मात्र विमान छन् । रासस