भुली गए पाप लाग्ला (नेपाल भारत सम्बन्ध)




श्रीजन / बाल्टिमोर

हालै हाम्रा देशका प्रधानमन्त्री के.पि. ओलीको मैत्रीपुर्ण भारत भ्रमण सम्पन्न भएको छ।

भारतले अघोषित रुपमा केहि समय अघि लगाइएको नाकाबन्दीका कारण दुई देश र जनताहरु बिच बढ्दै गैइरहेको आपसी चिसोपन र वैमनस्यतालाई यसले पक्कै अन्त्य गरेको छ। यस भ्रमणले दुबै देश र देशवासीहरु बिचको पुरानो मित्रता र सम्बन्धलाई अझै मजबुतसंग जोड्न सकोस हामी सबैको यहि कामना छ।

हो, राष्ट्र, राष्ट्रियता अनि राष्ट्रिय अखण्डता कसलाई प्यारो हुन्न ? संसारको हरेक स्वतन्त राष्ट्र र त्यहाँका हर एक जनताहरुमा आफ्नो राष्ट्र प्रेम बलियोसंग गांसिएको हुन्छ, भुगोलले चाहे सानो होस वा ठुलो । रास्ट्र, राष्ट्रियता अनि राष्ट्रका हरेक गौरवहरुको रक्षा र सम्मानका लागि हरेक नागरिकले आफ्नो आहुती हाँसीहाँसी स्विकारेका हुन्छन्। आज हाम्रो राष्ट्रको इतिहासको पानाहरु पल्टाएर हेर्ने हो भने पनि नेपाल र नेपालीको बिरता र गौरवगाथाको इतिहास अझै शानले चन्द्रसुर्यमा सदियौं देखि फर्फराईरहेको संसारले प्रष्ट देखिरहेको छ।

तर आज त्यही झण्डाको अपमान भएको छ अनि जान अन्जान जे जसरी भएको भए पनि यो ठुलो भुल कसैले पक्कै गरेको छ र यसलाई हामीले भुली गए हामीलाई साँच्चै पाप लाग्ने छ। आजको २१ औं शताब्दीको बैज्ञानिक अनि शिक्षित युगमा एक राष्ट्रले अर्कौ राष्ट्रको राष्ट्रिय शानको झण्डा नचिन्नु ज्यादै ठुलो बिड्म्बना हो, यो कुनै समान्य गल्ती होईन त्यो पनि आफैले आमन्त्रण गरेको राष्ट्र प्रमुखहरुको राष्ट्रिय भ्रमणको स्वागतमा..के यदि नेपालले यस्तै गल्ती अन्य राष्ट्रको वा भनौं भारत कै झण्डाको गरेको भए आज उनीहरू पनि के हामी र हाम्रो संचार जगत, पत्रकार, बौद्धिक जगत अनि राजनीतिज्ञहरु झैं मौन बस्थे त ?

यो "ध्यानाकर्षण" र आवाजले यहाँ कुनै दलले बिरोध र्याली निकालोस् भन्नका लागि होईन, न एकाअर्का बिच लडाइ गराउन पनि होईन र कुनै दलले अर्को दललाई सत्ता च्युत गर्ने मोहरा बनाओस भन्नका लागि पनि होइन। महागल्ती त कतै भएकै छ र सो सम्बन्धमा सम्बन्धि मंत्रालय, सबंधित निकायका संबंधित अधिकारीहरुको पहल कदमीमा सबंधित बिषयमा बिश्व संचारमा लिखित/मौखिक रुपमा गल्ती स्विकारियोस्, सच्च्याईयोस् र आवश्यक कार्वाही होस् र नेपाली जनताको आत्मसम्मानमा कोहि कसैले ठेस् पुर्याउने फेरि यस्तै गल्तीहरु नदोहोर्याईयोस भन्न मात्र हो। यो घटना यसै भुली गए हामी सारा नेपालीलाई राष्ट्रघात् को पाप लाग्नेछ।

हो, भारत र नेपाल बिच दाजु र भाईको सम्बन्ध छ, रोटी बेटीको सम्बन्ध छ। कोहि कसैको जान अन्जान गल्ती वा कमजोरीले फेरि कहिल्यै हामी बिच फाटो ल्याउन नसकोस् र नेपाल भारत बिचको एक आपसको आत्मसम्मान, साथ, सहयोग, समझदारी र मैत्री सम्बन्ध सधैं अमर रहोस्।

..संसारलाई सधैं स्मरण रहोस्, बिश्वमा नेपाल, नेपाली अनि चन्द्रसुर्य अंकित नेपाली झण्डा न कहिल्यै कसैसंग झुकेको छ न कहिल्यै झुक्नेछ, यो सधैं स्वतन्त्र, सार्वभौम र अट्ल छ " सयौं थुंगा फुलका हामी एउटै माला नेपाली" ।

 02/29/2016

,