"न्यूयोर्कमा हरीबहादुर थापा 'रंगमंच सम्राट' द्वारा सम्मानित"


ज्योतिकुमार श्रेष्ठ, न्यूयोर्क 
मार्च २०, २०१६ आईतवारका दिन अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले यस वर्ष देखि हरेक महिनाको तेश्रो आईतवार उल्लेखनीय  साहित्यिक गतिविधि/कार्यक्रम गर्ने योजना अनुसार न्यूयोर्कमा नेपाली नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ हरीबहादुर थापालाई 'रंगमंच सम्राट' को उपाधीले सम्मानित गर्यो ।

गीति नाटक 'मालती मंगले' का चर्चित नायक हरीबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश पनि सो कार्यक्रममा भिडीयो प्रदर्शन गरिएको थियो भने 'पाईलाहरु' शिर्षकको सोही भिडीयो सिडी पनि लोकार्पण गरियो ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा भट्टराईको प्रमुख आतिथ्यमा; नेपाली महाबाणिज्यदूतावास न्यूयोर्कका अधिकारीहरु; र स्थानिय समुदायको उपस्थिति रहेको सो कार्यक्रममा आज सम्मानित हुनुहुने रंगकर्मी कलाकार हरीबहादुर थापालाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी दुर्गा भट्टराई; महाबाणिज्यदूत नारायण मैनाली; उप बाणिजदूत एवं कवि प्रबिन भट्टराई; साहित्य सर्जक गीता खत्री लगायतले कलाकार हरीबहादुर थापालाई शुभकामना मन्तव्य दिनुभएको थियो भने बाणिज्यदूत तथा गीतकार कृसु क्षेत्रीले उहांको नेपाली नाटक प्रतिको अतुलनीय योगदानको समिक्षा गर्नु भएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र कुशल उदघोषिका एवं साहित्य सर्जक शकुन ज्ञवालीको उदघोषणमा संचालन गरिएको सो कार्यक्रममा साहित्य सर्जकहरु बिजया सीमले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नु भएको थियो भने लक्ष्मी श्रेष्ठले शुभकामना कविता वाचन गर्नु भएको थियो ।