यो निर्वाचन औपचारिकता मात्रै: देउवा



नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिका लागि आफ्नो जित सुनिश्चित भएको र यो निर्वाचन औपचारिकता मात्रै बताएका छन्।

सभापतिका लागि दोस्रो चरणको निवार्चनमा मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले आजको निर्वाचन औपचारिकता मात्र भएको दाबी गरेका छन्।

उनले निर्वाचित भएपछि पनि पराजय हुने नेताहरु सबैलाई मिलाएर लाने र पार्टीलाई एक ढिक्का बनाउने दृढता व्यक्त गरे। आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन अहिले भइरहेको छ।

निर्वाचन समितिले मतदानका लागि अपराह्न २ बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेको छ।

पहिलो निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गरेका थिए। अर्का प्रत्यासी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गर्नुभएको थियो। रासस

,