शेरबहादुरलाई विश्वप्रकाशको सुझावः सुदूरपश्चिमबाट माथि उठ्नोस्


नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं चर्चित युवा नेता विश्वप्रकाश शर्माले शर्माले कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालालाई केही रचनात्मक सुझाव दिएका छन् । चुनावमा हारेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिहं केसी र गगन थापालाई कमजोर नआँक्नसमेत शर्माको सुझाव छ ।
झापाली नेता शर्माले सभापति देउवालाई सुदुरपश्चिमको मानसिकताबाट माथि उठ्न भनेका छन् भने शशांकलाई व्यक्तिगत विचार जे भए पनि कांग्रेसको नीति र सिद्धान्तमा अडिन सुझाव दिएका छन् ।  अन्लाईन खबर डटकमले शर्माको सुझाव उनकै शब्दमा यसरी ओराकाषित गरेको छ :


विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसको १३ औं महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वबारे बहस गर्दैगर्दा पहिला यसको मनोवैज्ञानिक पाटो छ जस्तो लाग्छ मलाई । र, म यसमा सभापति र महामन्त्री दुबैलाई गाँसेर कुरा गर्न चाहन्छु ।

शेरबहादुर देउवा र शशांक कोइराला भिन्न पृष्ठभूमिबाट आउनुभयो होला । तर, दुबैजनासँग एउटा कुराको समानता छ, त्यो भनेको बीपी कोइरालाले समावेशी राजनीति सुरु गर्नुभएको थियो, देउवाले त्यसको निरन्तरताका क्रममा महिला आयोग, दलित आयोग बनाउनुभयो । कर्णाली, दलित, महिला, जनजाति, मधेसी भनेर कदमजम सुरु गर्नुभयो । कमैया मुक्ति गर्नु भो । बीपीले थालेको कामलाई केही गति दिनु भएकै हो ।

बीपीको जेनेटिक प्रतिनिधित्व विरासतको सन्दर्भ गाँस्ने हो भने शशांक कोइराला हुनुहुन्छ । अब शशांक कोइरालाले आफ्नो पीताजीबाट प्रेरित भएर हुर्किएको देउवाजस्तो मान्छे आज सभापति रहेका बेलामा उहाँभन्दा विपक्षमा रहने मनोविज्ञान पाल्नहुँदैन । उहाँले सहयोगी बन्नैपर्छ ।

यसैगरी सभापति शेरबहादुर देउवाले बिर्सनै नहुने पाटो के हो भने उहाँले प्रतिस्पर्धा गर्दैगर्दा कुनै कमजोर र अयोग्य उम्मेदवारलाई हराउनुभएको होइन । विचार र स्वच्छ छवि भएका रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्नुभएको थियो । रामचन्द्र पौडेलसँग जुन मत खस्यो, त्यो मतलाई जित्न सक्ने अवस्थामा देउवा हुनुहुन्न । तर, त्यो मतहरुको मन जित्ने अवस्थामा हुनुहुन्छ । त्यसकारण शेरबहादुरले रामचन्द्र पौडेललाई विश्वासमा लिएर उहाँ सभापति बन्नुभएको भए के गर्न चाहनुहुन्थ्यो भन्ने कुरासँग यसलाई गाँस्न सक्नु भयो भने रामचन्द्र पौडेलकै स्वामित्व लिने गरी अघि बढ्न सक्नहुन्छ ।

मतको हिसावले कृष्णप्रसाद सिटौलाले ३२४ मत मात्रै ल्याउनुभएको छ । तर, सिटौलाको जुन काम गराइको शैली छ, रातविरात खट्न सक्ने क्षमता छ । नयाँ संविधान निर्माणका बेलामा मस्यौदा समितिको सभापति भएर काम गर्नुभएको छ । त्यसैले अब कति मत लिनु भो भनेर कृष्ण सिटौलाको मूल्यांकन गर्नु हुन्न । उहाँसँग के क्षमता थियो भनेर मूल्यांकन हुनुपर्छ ।

लोकतन्त्रमा मतगणना सकिएपछि मतलाई होइन, मन र मुद्दालाई विश्लेषण गर्नुपर्छ । कृष्ण सिटौलालाई मतका आधारमा कमजोर सोच्नुभन्दा मुद्दालाई हेरेर विश्वासमा लिने कोशिस गर्नुपर्छ ।

महामन्त्री शशांक कोइरालाले पनि बिर्सन नहुने पाटो के छ भने एकजना पाको र वरिष्ठ अर्जुननरसिंहलाई उपविजेता बनाउनुभएको छ । अर्को आफूभन्दा कनिष्ठ तर, भविश्य भएको युवा नेता गगन थापालाई उपविजेता बनाउनुभएको छ । पाको पुस्ता र पछिल्लो युवा पुस्ताबीचको सेतु भएर आउनुभएको छ भने शशांकले दुबैलाई दायाँ-बायाँ गाँस्नु भो भने समग्रमा कांग्रेसको स्ट्रेन्थ गाँसिन्छ ।


शेरबहादुरका चुनौति
हिजो शेरबहादुर देउवाले पार्टीभित्रको विपक्षीका रुपमा बोलिरहँदै गर्दा नेतृत्व गर्ने पक्षको समस्या के थियो भन्ने शायद बुझ्न पाउनुभएन होला । तर, अहिले उहाँको भूमिका फेरिएको छ । हिजो बोल्ने ठाउँमा हुनुहुन्थ्यो, आज सुन्ने ठाउँमा हुनुहुन्छ ।

हिजो प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो, आज उत्तर पस्किनुपर्ने ठाउँमा आइपुग्नुभएको छ । हिजो माग गर्ने ठाउँमा हुनुहुन्थ्यो, आज अरुको मागहरु सम्बोधन गर्ने ठाउँमा हुनुहुन्छ । त्यसकारण शेरबहादुरले हिजोको कार्यशैलीभन्दा सम्पूर्ण रुपमा भिन्न हुनुपर्छ ।

शेरबहादुर देउवाको सामुन्नेमा एकसाथ चार चुनौती मैले देखेको छु । पहिलो, उहाँले विपक्षी गुटको नेताबाट पार्टीको सत्तारुढ बन्नुभएको छ । अब उहाँ हिजोको त्यो मनोविज्ञानबाट माथि उठ्नुपर्छ र म गुटको नेता मात्र रहिँन र यो वा त्यो बीचको साझा नेता बन्ने प्रयत्न गनुपर्छ । दोस्रो, कांग्रेस अव्यवस्थित पार्टी बनेको छ । यसलाई व्यवस्थित गर्नु पर्ने दायित्व छ ।

तेस्रो, कतिपय सन्दर्भमा कांग्रेसभन्दा माथि उठ्ने । जस्तो मधेसको मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा होस् वा जनजातिको । शेरबहादुर आफ्नो क्षेत्र सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने धारणामा बाँधिरहनु भयो । अब आज उहाँको परीक्षा त्यहीँ छ कि त्यहाँका थारुहरु उहाँतिर फर्किएर हेरिरहेका छन् । त्यहाँ शेरबहादुरजीले कांग्रेसको धारणाभन्दा पनि आवश्यकता अनुसार राष्ट्रिय नेताको भूमिका खेल्नुपर्छ । शेरबहादुर देउवाले नयाँ संविधानको अपनत्वको दायरा विस्तारका लागि सीमाकंनलाई हेरफेर गर्न, नामाकंन र राजधानीको सन्दर्भमा जिम्मेवार प्रस्ताव अघि सार्नका लागि कांग्रेसको सभापतिभन्दा पनि माथि उठेर सोच्नुपर्छ ।

, चौथो, संविधान बन्ने, कांग्रेस पनि आधुनिक बन्ने, घर व्यवस्थापन पनि हुने । यो सबै केका लागि भन्दा सडकमा हिँडिरहेको युवकलाई छुनुपर्‍यो नि अबको रानजीतिले । कतारमा ५० डिग्रीको तातो घाममा नेपालीहरुले बगाएको पसीना नेपालभित्रै बगाउने वातावरण बनाउनुपर्‍यो । त्यसैले अब कांग्रेसले प्रतिपक्षमै रहेर भए पनि राष्ट्रिय पुनर्निर्माणको खाका मुलुकसमक्ष प्रस्तुत गर्नुपर्छ ।

अर्थात शेरबहादुर देउवा विद्यालयस्तरको परीक्षामा राम्रैसँग उत्तीर्ण हुनुभएको छ । ‘कदमजम’को नीति ल्याउने जस्ता राम्रा कामहरु पनि भए । शासन सञ्चालनका क्रममा कतिपय विवादित प्रश्नहरु पनि उठेका छन् । तर, त्यो विद्यालयस्तरीय परीक्षा उत्तीर्ण भएको अवस्था हो ।
अब उहाँको भर्ना विश्वविद्यालयमा भएको छ । र, यहाँबाट जीवनको उत्तरार्धमा जीवनको अन्तिम परीक्षा पनि सुरु भएको छ । हिजो वर्तमान निर्माण भो, विगत निर्माण भो, तर, भविश्य निर्माण हुने गरी र इतिहासमा अंकित हुने गरी काम गर्ने दिन अब सुरु भएको छ ।


शशांकलाई सुझाव
महामन्त्रीका रुपमा डा. शशांक कोइराला आउनुभएको छ । उहाँले हिजो यति प्रतिशत यो समूहले माग गर्‍यो, पार्टीको मूल नेतृत्वलाई अप्ठ्यारो बनायो भन्ने ठाउँमा हुनुहुन्थ्यो । आज उहाँले त्यसरी नै त्यो गणितलाई हेरेर सभापतिसँग तिमीले हिजो माग्यौं, अब मैले माग्न थालेँ भन्ने कुरा गर्न मिल्दैन । हिजो उहाँले भागवण्डा गलत भन्नुहुन्थ्यो, आज पनि त्यसरी नै सोच्नुपर्छ ।

महामन्त्री शशांक कोइरालाले व्यक्तिगतरुपमा के धारणा राख्नुहुन्छ, त्यो उहाँको व्यक्तिगत कुरा भो । तर, उहाँले अब आफ्नो व्यक्तिगत धारणा लोकतन्त्र वा लोकतान्त्रिक गणतन्त्रको मर्मभन्दा विपरीत छैन है भनेर पुष्टि गराउनुपर्ने दायित्व आएको छ ।
दोस्रो, बीपी कोइरालालाई बुझ्ने सन्दर्भमै बीबीसीमा आएको अन्तरवार्ताका बारेमा प्रश्नहरु उठेका छन् । बीपीले राजासँग सहमति चाहनुहुन्थ्यो र मेलमिलाप भनेको त्यो थियो भनेर बुझ्ने विश्लेषण छ, उहाँ त्योभन्दा माथि उठ्नुपर्छ ।

मेरो बुझाइ के हो भन्दा बीपी कोइरालाले एउटा कालखण्डमा राजालाई एउटा शक्तिका लिएर शक्ति सन्तुलन चाहनु भयो । तर, केन्द्रमा डेमोक्रेसी थियो । जीपी कोइरालाले माओवादीसँग मेलमिलाप गर्न चाहँदा पनि डेमोक्रेसीलाई नै केन्द्रमा राख्नु भो । हिजो बीपीका बेलामा डेमोक्रेसीलाई प्रजातन्त्र भनिन्थ्यो, जीपीका पालामा आएर लोकतन्त्र भन्न थालियो । यो राजा वा माओवादीलाई केन्द्रमा राखेको होइन भन्ने कुरा हामी सबैले बुझ्नैपर्छ ।

र, यो विन्दुमा आइसपकेपछि डा. शशांक कोइरालाले यो पुष्टि गराउनुपर्ने दायित्व थपिएको छ कि उहाँ बीपी कोइरालाको छोरा मात्र होइन । जसले जतिसुकै जे भने पनि उहाँले अहिले प्राप्त गरेको उचाइ बीपी कोइरालाको छोरा भएका कारण प्राप्त गरेको नै हो ।
अब उहाँले के पुष्टि गर्नुपर्छ भने मसँग केही थप गुणहरु पनि छन् । अर्थात कांग्रेसको महामन्त्रीका रुपमा उहाँको वास्तविक परीक्षा सुरु भएको छ ।

यसका साथै बीबीसीको अन्तरवार्तालाई लिएर पार्टीभित्रबाटै कृष्ण सिटौलाहरुले गरेको खबरदारी र बाहिर प्रचण्डको अभिव्यक्ति पनि मैले पढेँ । मलाई के लाग्छ भने यसलाई दुई रुपमा हेर्नुपर्छ । व्यक्तिगत रुपमा शशांक कोइरालाको हृदयमा के छ, उहाँले जान्ने कुरा हो । कांग्रेसको विधान, नीति र निर्णयले के भन्छ दोस्रो कुरा दुनियाँले जान्ने कुरा हो । यसकारण उहाँ व्यक्ति होइन, कांग्रेसको महामन्त्री हो । र, महामन्त्रीले कांग्रेसका पारित दस्तावेजहरुलाई प्रतिनिधित्व गर्नुपर्छ । र, गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।
जहाँसम्म सार्वजनिक प्रतिवद्धता जनाउनुपर्छ कि पर्दैन भन्ने कुरा छ, राजनीतिमा शब्दमा के राखिन्छ भन्दा पनि नियतमा के बोलिन्छ, त्यो महत्वपूर्ण हुन्छ । उहाँको बचनलाई पक्रिएर जाँदै गर्दा नेपथ्यमा नागरिक पंक्तिलाई चित्त नबुझिरहेको देखिन्छ । संघीयताको सन्दर्भमा उचित हुँदैन कि भनेर आइरहेको जनमत पनि एक ढंगको छ । तर, के रुपमा आइरहेको छ भन्दा पनि कांग्रेसको केन्द्रले के निर्णय गरेको छ भनेर हेर्नुपर्छ ।

मलाई लाग्छ, सिंगो कांग्रेस पार्टी आफ्नो नेतृत्वमा जारी भएको नयाँ संविधानभन्दा बाहिर उभिन सक्दैन र उभिँदैन ।

र, अन्त्यमा
धेरै साथीहरुको विश्लेषणपछि खुला २५ मा मैले पनि के पाएँ भने केन्द्रीय सदस्य कहिल्यै नभएको, सांसद, मन्त्री केही नभएको एउटा म रहेंछु । त्यसैले मलाई के लाग्छ भने म र मजस्तै जो साथीहरु आउनुभएको छ, हामीले सानो भएर सिक्नुपर्छ, ज्ञान लिनुपर्छ । त्यसपछि बाहिर के आवाज छ, त्यसलाई भित्र सानो स्वरमा सुरु गर्नुपर्छ र प्रभाव राख्नुपर्छ । यदि सुनुवाइ हुँदैन भने गतिलो र संगठित ढंगले विनम्र तर बुलन्द ढंगले कांग्रेस केन्द्रमा हस्तक्षेपको भूमिका खेल्नुपर्छ ।
(कुराकानीमा आधारित)




, , ,