नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा भ्रष्टाचारको शंका !

काठमाडौं चैत, ४-नेपाली लेखा व्यवसायीलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐनविपरीत काम भएको छ । विद्यार्थीलाई दिइने सूचना प्रविधि तालिमसम्बन्धी कामलाई लिएर सार्वजनिक खरिद ऐनविपरीत काम भएको हो ।
आइक्यानले केही समयअगाडि सूचना प्रविधि तालिम सञ्चालन गर्नका लागि भन्दै विभिन्न संस्थाबाट सिलबन्दी दर्खास्त आह्वान गरेको थियो । उक्त संस्थामा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन गर्ने विद्यार्थीले सूचना प्रविधि तालिम लिनुपर्ने व्यवस्था छ । आइक्यानले गरेको सोही आह्वानबमोजिम विभिन्न संस्थाले उक्त तालिम सञ्चालन सिलबन्दी दर्खास्त आवेदन दिएकोमा काठमाडौंको नयाँबानेश्वरमा रहेको प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले सबैभन्दा कम दरभाउ आइक्यानमा पेस गरेको थियो ।
सोही दरभाउबमोजिम प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई नै उक्त कामको जिम्मा दिइएको भन्दै गत फागुन २३ गतेदेखि तालिम सञ्चालन गर्न तयार गर्न संस्थाबाट मौखिक जानकारीसमेत आइसकेको फाउन्डेसन स्रोतको दाबी छ । तर, रातारात उक्त निर्णय परिवर्तन गरेर आइक्यानले आफ्ना विद्यार्थीलाई सूचना प्रविधि तालिम लिन कम्प्युटर पोइन्ट नेपाल (सीपीएन) मा पठाएको छ । उक्त काम सार्वजनिक खरिद ऐनविपरीत भएको सरोकारवालाको गुनासो छ ।

नियमविपरीत काम भएपछि आइक्यान संस्थामा भ्रष्टाचार भएको शंका गरिएको छ भने आइक्यान अध्यक्षको कामप्रति रुष्ट केही कर्मचारीले यस विषयलाई लिएर अख्तियारको ढोका ढकढकाउने तयारीसमेत गरिरहेको बताइएको छ ।