भगवान ! यो जीत देउवाको होस् खुमबहादुरको नहोस




भर्खरै नेपाली काँग्रेसको १३ औ महाधिवेशनबाट वरिष्ठ नेता शेर बहादुर देउवा भारी मतको अन्तरबाट दोस्रो पटकको मतदान प्रकृयाबाट केन्द्रिय सभापति पदमा विजयको माला पहिरहन सफल भएका छन् ।

सभापतिको चुनावी प्रकृयाबाट कार्यवाहक सभापति रहेका रामचन्द्र पौडेल पराजय भएका छन् । संस्थापन पक्षको बिल्ला भिरेर चुनावी दौडमा भाग लिएका पौडेल अन्ततः हारको संघारमा पुगे ।

जे होस्,  नेपाली काँग्रेसको ईतिहासलाई गहनरुपमा हेर्ने हो भने यी दुवैको योगदानलाई कमवेसी तौलिन मिल्दैन । आ-आफ्नो ठाउँमा दुवैजनाके योगदान महत्वपूर्ण नै मानिन्छ ।

यद्धपी, संगठनको बागडोर वा नेतृत्व आफुले प्राप्त गर्न सके काँग्रेसको संरचनात्मक रुपमा नयाँ परिवर्तन गरेर समयसापेक्ष संगठनको रथलाई दौडाउने जिम्मा लिने उदघोष गरेका देउवाले अन्ततः बल आफ्नो पोल्टामा पारेका छन् । यसका लागि देउवालाई बधाई दिनका लागी कन्जुस्याई गर्नुहुदैन | प्रजातान्त्रिक प्रक्रियाबाट सभापति भएका देउवालाई धेरै धेरै बधाई र शुभकामना छ |

अव आउँदा दिनमा संगठनलाई उनले कसरी हाँक्छन्, देशको शासकिय क्षेत्रमा  राजनैतिक उपस्थिती कसरी देखाउँछन्, दुई-तिन चिरामा बिभाजन रेखा कोरिएको पार्टीको अवस्थामा देखापरेका आन्तरिक समस्या र आपसी मनमुटावहरु कसरी हल गर्छन्, कार्यकर्ताहरुको आवस्यकताहरुलाई कसरी संबोधन गर्छन्, देश-विदेशमा पार्टीलाई कसरी परिचित गराउँछन् ?  यस्तै तमाम प्रश्नहरुको जवाफ कार्यकर्ता र आम नागरिक विच उब्जेको छ ।

अहिलेको अवस्थाहरुलाई सरसति हेर्दा पनि उनले समालेको गुट वा समुहमा भ्रष्टचारको मुद्धा खेपेर अदालतको सजाय भोगेका खुम बहादुर खड्का, गोविन्दराज जोशी, चिरंजिवी वाग्ले  लगायत व्यक्तीहरुको बर्चस्व धेरै रहेको छ ।

अर्को तर्फ महामन्त्रीमा विजय माला पहिरन आतुर अर्जुन नरसिंह के.सी. लाई समेत विवादास्पद व्यक्ती कै रुपमा हेर्ने गरिन्छ | उनी अवसर र पदको लागी जस्तो काम गर्न पनि पछि नपर्ने व्यक्तीको रुपमा पार्टी भित्रै चर्चा -परिचर्चा हुने गरेको देखिन्छ | पार्टीमा भाईहरुको भर्ति, ज्वाई गगनको प्रयोग अर्जुनले आफ्ना हितमा गर्दै आएको बिगतदेखिको अनुमान हो |

साथै स्वयं देउवा पत्नी आरजु देउवा समेत समय-समय विभिन्न विवादमा परेको देखिन्छ | जस्तै: सत्ताको दुरुपयोग गरि NGO, INGO चलाउने गरेको त्यस्तै अमेरिका, युरोप लगायत देशहरुमा पठाउने एजेन्टहरुसँग मिलेर कमाउ धन्दामा लागेको समेत आरोप लाग्ने गरेको छ । यस्ता किसिमको विवादास्पद व्यक्तीहरुलाई साथमा राखेर पार्टीलाई चुस्त, दुरुस्त र गतिशिल बनाएर हाँक्न भने देउवालाई फलामको चिउरा चपाए झै अवस्य देखिन्छ ।

हुनत: शेर बहादुरले पार्टीका विभिन्न तह र तप्कामा काम गरेको अनुभव प्रशस्त छ । अझै ३ -३ पटक प्रधानमन्त्रीको जिम्मेवारी समाली सकेका व्यक्ती र वि. सं. २०२० देखि राजनितिक यात्रा प्रारम्भ गरेर निरन्तर ने.वि.सघ र नेपाली काँग्रेस पार्टीको महत्वपुर्ण जिम्मेवारी पोस्टमा रहेर काम गरेको अनुभवबाट पनि अहिले आएको पार्टीको प्रमुख जिम्मेवारीलाई सहजै निर्वाह गर्नेमा विश्वास लिने प्रशस्त आधार मान्न सकिन्छ ।

 यति हुँदा हुँदै पनि अहिले उनको टिममा सहभागी व्यक्तीहरुलाई हेर्दा र उनीहरुको जित भएर केन्द्रिय समितीमा सहभागी भए भने तिनीहरुलाई सँगै मिलाएर स्वच्छ छवी बनाएर अगाडी बढ्न बाधा आउने देखिन्छ । भ्रष्टहरु पार्टी र देशका जिम्मेवार पदबाट सदाका लागी जिम्मेवारी मुक्त हुनु पर्छ भनि रहेको अवस्थामा यस्ता व्यक्तीहरुको देउवा क्याम्पमा हुनु भनेको देउवालाई काम गर्न कठिनाई हुनु हो ।

 हुनत देउवाले अनेक मिडियामा समेत खुमबहादुरहरुलाई फसाईएको भन्ने अभिव्यक्ती दिदै गरेको पनि चर्चामा छ | यो कुरा सत्य हो भने अव जिम्मेवार पदमा पुगेको व्यक्तीले अख़्तियार र अदालतले गरेको फैसलालाई उचित नमान्नु भनेको संवैधानिक निकाय माथी नै विश्वास कसरी सर्वसाधरणले गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ ।  वास्तवमा दोषी र अपराधीहरुले कहिल्यै पनि राजनैतिक संरक्षण पाउनु हुँदैन र यस्तालाई सबै तिरबाट बहिस्कार हुनु जरुरी छ । अझै राजनिती जस्तो देश बदल्ने महत्वपुर्ण साधन/बाटो भएकोले यो क्षेत्रमा अवस्य ईमान्दार व्यक्तीहरुको उपस्थिती हुन पर्छ | जसले राजनितीलाई समाजसेवा सम्झेर काम गर्न सकोस् नकी कमाई खाने पेशाको रुपमा लिने गरोस् ।

अव देउवाका काँधमा ६०/४० को मान्यतालाई परास्त गर्दै रामचन्द्र लगायत सबै नेता- कार्यकर्तालाई मिलाएर लैजानु जरुरी छ । प्रजातन्त्र प्रति आस्था राख्ने पार्टीमा चुनाव हुनु र विभिन्न समुहमा आवद्ध भएर चुनाव लड्नु स्वाभाविक एउटा पद्धति हो । यो पद्धतिबाट आएको नेतृत्वले संगठनलाई चुस्त र गतिशिल बनाएर सबैलाई समेटेर साथै सबैको योगदानलाई उच्च सम्मान गर्दै अगाडी जानु पर्ने हुन्छ नत्र जिम्मेवारीको रथ गन्तव्यमा नपुग्दै दुर्घटना हुन सक्छ । यसमा देउवा लगायत युवा नेताहरुले अवस्य सजक भएर अघि बढ्ने छन् र आमरुपमा सर्वसाधरण देखि कार्यकर्ता , पार्टीपंक्तीका सबै नेताहरुमा विश्वास दिलाउने छन् की पार्टी एकढिक्का भएर देशले मागेको संविधानको कार्यान्वयन र आर्थिक विकास एवं आर्थिक एजेण्डा , पार्टीको महाधिवेशनले पास गरेको सबैखाले एजेण्डाहरुको अक्षरस पालना हुने छ र त्यसमा सामुहिकरुपमा नेतृत्व तहबाट प्रतिबद्धता आउनु जरुरी छ ।

       फेरी पनि वरिष्ठ नेता शेर बहादुर देउवालाई काँग्रेसको पार्टी सभापति निर्वाचित भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना छ । साँच्चिकै नयाँ नेपाल बनाउने र युवाहरुको हरेक क्षेत्रमा परिवर्तनको आभाष हुनु पर्ने माग पुरा गर्ने काममा हरदम देउवा लगायत नेतृत्वमा आउने तमाम व्यक्तीबाट आवस्यक प्रयास निरन्तर हुनेछ र सर्वसाधरणको अनुहारमा खुशीको लाली छर्नमा सबै नेताहरु लाग्ने छन्, सर्वदलीय सहअस्तित्व बाट नेपाली राजनितीक क्षेत्र अगाडी बढ्ने छ भन्ने कामना समेत हामी विदेशमा बस्ने नेपालीहरुले विश्वास लिईरहेका छौ ।

अन्त्यमा, यो जित चालिस प्रतिशत कांग्रेसीको मात्र नहोस | आफ्नो प्रतिबद्दता अनुसार पौडेल समर्थक कार्यकर्ताको भावना  बुझ्ने कोशिश देउवाले गरुन | आज सारा नेपालीहरुको कामना छ -भगवान ! यो जीत ईमान्दार देउवाको मात्र जीत बनोस, अख्तियारले भ्रष्ट ठहर गरिसकेका खुमबहादुर, गोविन्दराज र चिरन्जीवीहरुको जीत नबनोस | यसैमा नेपाल र नेपाली सबैको जय होस्  !

, ,