एक आपसमा भिड्दै तीन बलिउड नायक?

एजेन्सी फागुन,१९-बलिउड अभिनेता आमिर खानले हालै आफ्नो फिल्म ‘दंगल’ रिलिज डिसेम्बरबाट हटाएर चार महिनाअघि ल्याए । स्रोतका अनुसार अर्को बहुप्रतिक्षित फिल्म ‘बाहुबली २’ पनि सोही महिनामा रिलिज हुन सक्ने भएकाले आमिर पछि हटेको बताइन्छ ।

आमिरले ‘दंगल’ सेप्टेम्बर १५ मा पर्ने भारतीय स्वतन्त्रता दिवसका अवसरमा रिलिज गर्ने बताएपछि अहिले बलिउड बक्सअफिस क्यालेन्डरमा हलचल मच्चिएको छ । किनकी सोही मितिलाई अक्षयकुमारको ‘रुस्तम’ र ऋतिक रोशनको ‘मोहनजोदडो’ले ताकिसकेका छन् । आमिरले दंगल रिलिज मिति सारेपछि अहिले बलिउड व्यापार विश्लेषकहरु अचम्मित भएका छन् । किनकी सलमानलाई इद फापेझैं आमिरलाई क्रिसमस फाप्थ्यो । तर, केही बलिउड विश्लेषकले भने आमिर, अक्षय र ऋतिकबीच भिडन्त हुने सम्भावना कम भएको बताएका छन् । ऋतिक क्रिसमसमा मोहनजोदडो रिलिज गर्न पनि चाहिरहेका छैनन् । किनकी सन् २०१७ को जनवरीमा उनको अर्को फिल्म ‘काबिल’ रिलिज हुँदैछ । यी तीन नायकको फिल्म सोही मितिमा भिड्ने हो कि अर्को मितिका लागि तर्किने हो, त्यो चाहिं आउँदो समयले बताउनेछ ।