ओली स्वयं सरकारदेखि असन्तुष्ट



भक्तपुरः प्रधानमन्त्रीको सपथ खाएको पाँच महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामप्रति आफू पनि सन्तुष्ट हुन नसकेको स्वीकार गरेका छन् ।

प्रधानमन्त्री हुनुअघि सोचेजस्तै सरकारलाई रफ्तारमा अघि बढाउन नसकिएको उनले स्वीकार गरेका हुन् ।

‘प्रमको सपथ खाएको पाँच महिना भयो तर सन्तुष्ट हुन सकिरहेको छैन’, विश्व मृगौला दिवसको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले बिहीबार यहाँ गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘असहज र अप्ठ्यारो महसुस भइरहेको छ । जे गर्छु भनेको हो, त्यो रफ्तारमा हुन सकिरहेको छैन ।’

सरकारलाई डिब्बैडिब्बाको रेलको संज्ञा दिँदै उनले अहिले आफू अगाडि पनि जान नसकिएको र पछाडि पनि फर्कन नसकेको स्थितिमा पुगेको सुनाए ।

‘सरकार रेलको डिब्बा जस्तै भएको छ । अगाडि तानौं, पांग्रा लागेको छ । बेसरी बल गर्दा पनि डिब्बा तानिएन, पांग्रा गुड्दै गुडेन’, प्रम ओलीले भने, ‘पछाडि फर्कौं आफ्नै डिब्बाले छेकेको छ ।’

तैपनि उनले देश र जनताको लागि केही गर्ने उद्देश्यले आफू प्रधानमन्त्री भएको भन्न भने छुटाएनन् । केही गर्न नसकिए अरु प्रधानमन्त्री र आफूमा केही फरक नहुने उनको भनाइ थियो ।

‘मैले पनि देश र जनताको लागि केही नगरे कसले गर्ने ? केही नगर्ने हो भने म हुनु र अरु हुनुमा जनतालाई के फरक प¥यो’, प्रम ओलीले थपे, ‘मैले पनि काम गरेन भने जनतालाई अरुले काम गर्छ भन्ने विश्वास नै हुनेछैन ।’

केन्द्रमा सञ्चालनमा ल्याउने अत्याधुनिक ग्यास्ट्रोइन्टरोलोजी मेसिन, आईसीयू र प्याथोलोजी सेवाको उद्घाटन गर्दै प्रम ओलीले जनतामा सकारात्मक परिवर्तन ल्याउन आफू प्रधानमन्त्री बनेकोसमेत दाबी गरे ।

उनले प्रधानमन्त्री हुनमात्रै १४ वर्ष जेल नबसेको र विभिन्न आन्दोलनमा सहभागी नभएको बताए । तानाशाहीलाई हराएर जनताको अधिकार स्थापित भइसकेको अवस्थामा अब मुलुकमा यथार्थ परिवर्तन ल्याउनु आवश्यक भएको उनको भनाइ थियो ।

उनले जनताको लागि तीव्रताका साथ परिवर्तन ल्याउन काम गर्ने दृढतासमेत व्यक्त गरे । भूकम्प र भारतको आर्थिक नाकाबन्दी झेलेको मुलुकलाई पुनर्निर्माणमा ढिलो गर्ने अवस्था नभएकोसमेत प्रम ओलीले जोड दिए ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले केन्द्र साँघुरो भएकाले यसको क्षेत्र तथा भौतिक पूर्वाधार विस्तारमा जोड दिन प्रम ओलीको ध्यानाकर्षण गरे ।

गरिब तथा विपन्न बिरामीहरुलाई निःशुल्क उपचारको बन्दोबस्त गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।

उद्योग राज्यमन्त्री एवं मृगौला पीडित मेघराज नेपालीले सरकारले गरिब तथा विपन्न मृगौला रोगीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गर्न प्रम ओलीको ध्यानाकर्षण गरे ।

त्यस्तै महिला, बालबालिका तथा समाज कल्याण संसदीय समितिकी संयोजक साँसद रञ्जु झाले समितिले पारित गरेको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन कार्यान्वयन गर्न चाँडै नियमावली बनाउन सरकारको ध्यानाकर्षण दिइन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको उक्त ऐन चाँडै राजपत्रमा प्रकाशित हुने उनले जानकारी दिइन् । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन कार्यान्वयन गर्न आवश्यक नियमावलीको मस्यौदा तयार भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीबार उद्घाटन गरेको अत्याधुनिक ग्यास्ट्रोइन्टरोलोजी मेसिनले कलेजोका अवस्थाबारे विस्तृत जानकारी मिल्ने र उक्त मेसिन कलेजो प्रत्यारोपणको पहिलो खुड्किलो भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

उनले यस मेसिनको उपलब्धताले प्यान्क्रियाज, फोक्सो तथा मुटु प्रत्यारोपणको समेत पहिलो पाइला भएको बताए ।