आतभाइको छोराको जनैसुपारी -दीपक विश्वकर्मा


दीपक विश्वकर्मा 
आतभाइको छोराको जनैसुपारी



कालान्तरमा,
निकै गतिलो सुजोक जु¥यो
र हामी संघियार बन्न पुग्यौं
आँत भन्दा साँधको कथा जोर्दै
मनमा गाँठो पारियो
क्या वात कमरेड १
पर्दा काँध थाप्लान्नित सहयोद्धाले
वा म आफै लर्वराउने छैन
उनका पाइलासंग पाइला मिलाउन ।
हामी संगै थियौं कुनै समय
गाउँ बिउँझाउने अभियानमा ओडारमा बासबस्दा
हामीसंगै रह्यौं कुनै समय
तोकिएको सिधा सहितको मानोको कथा लेख्दा
नेल, हत्कडी सहित सुरुङ्गमार्ग हुँदै
फेरी फर्केर गाउँ चहार्दा पनि संगै थियौं
इन्कलावमा मुठ्ठी उठाउँदा
वा नाराका भाकाहरुमा भाका मिलाउँदा
हातेमालो गर्दै मृत्युलाई स्वीकार्दा हामी संगै थियौं ।
कालान्तरमा हामी फेरी संगै भयौं
मेरो बासको बगलमा उन्को बास बन्यो
या
उनको बासको छेउमा मेरो बास बन्यो
हामी आँतभाइ भयौ ।
हामी,
ऐचो, पैचो र अर्मपर्मका कुरा गर्ने भयौं
ध्वंशको विचारबाट भनौ
वा खरानीबाट सिर्जनाको सपना बुन्दै
जगको कुरो गर्ने हामी दुई भाइ
फेरी त्यही बिन्दुमा पुग्यौं ।
यसपटक मैले छोराको बिहे गरें
ठूलो तामतमासा गरिन
तर पनि,
जन्तेबाख्राको जोहो गरेँ
सानोतिनो लस्कर लाग्यो
निम्तालुको र जन्तीमा सामेल भए
तर,
आँतभाइ कमरेडको महान् मिटिङ्ग तेर्सियो अगाडि
फिस्स हाँसेर
घरको नोकरलाई भोज खान पठाए ।
कति निरर्थक लाग्न थालेको छ यी उक्तिहरु
समाज रुपान्तरण र छलाङ्गका कुरा
परिरर्वन, प्रगति र सुधारका कुरा
यसपटक कमरेडले पनि बिहे गरे छोराको
टोल जम्मा भयो— जनैसुपारीमा
हर्षबडाई भयो जाग्राम बस्दै राति अवेरसम्म
बटारियो कसरा
ओल्तिर पल्तिर सबैलाई जम्मा गरियो
मात्र बोलाइएन मेरी जहानलाई
यो पबित्रताको अर्थ के हो ?
बताउन सक्नु हुन्छ कमरेड ?

(आज विश्व कविता दिवस भन्छन् सबैले, मैले पनि धस्काएँ)
बुटवल, नेपाल