जापानको नेपाली दुताबासको फेसबुक खुल्यो, सर्बसाधारणको गुनासो सकेसम्म छिटो हल गरिने(लिंकसहित)

ह्याप्पी बन्धु "बिश्व" 
जापान, मार्च १५

जापानका लागि नेपाली कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारीले जापानमा बस्ने नेपालीहरुको समस्या समाधानका लागि दूताबास सदैब तयार रहेको बताउनुभएको छ ।

एनआरएन कान्साइले आयोजना गरेको ‘जापानमा नेपालीहरुको बर्तमान अबस्था, त्यसमा राजदूताबास र जापानमा सक्रिय संघसंस्थाहरुको भूमिका’ बिषयक अन्तरक्रिया कार्यक्रममा कार्यबाहक राजदूत राजभण्डारीले समस्याको सहज समाधानका लागि कार्य सुरु गरिसकेको जानकारी समेत दिनुभयो ।

जापानको कान्साईमा मार्च १३ मा भएको कार्यक्रममा उहाँले सबैको पहुँचमा पुग्नका लागि दूताबासले हालसालै आफ्नो फेसबुक पेज बनाई सर्बसाधारणको गुनासो सुन्ने र सकभर चाडो समाधानको बाटोमा जाने गरेको जानकारी दिनुभयो । दूताबासले तत्काल समस्या समाधानको थालनी गरेकोले केही सहज हुनका लागि समय लागे पनि निरन्तर प्रयासरत रहने समेत बताउनुभयो ।

कार्यबाहक राजदूत राजभण्डारीले आगामी दिनहरुमा नेपालीहरुका समस्या न्यूनीकरणका लागि दूताबासको तर्फबाट जनचेतनामुलक कार्यक्रम ल्याउनका लागि प्रारम्भिक अध्ययन, अनुसन्धान प्रकृया अघि बढाएको समेत जानकारी दिनुभयो ।

एनआरएन कान्साईका कार्यबाहक संयोजक भूमिराज दवाडीको सभापतित्वमा भएको कार्यक्रममा ओसाकाका कन्सुलर इमानिसी कुनियो, एनआरएनए आइसीसी सदस्य तुलसीराम खरेल, जापानमा बसोबास गर्ने विभिन्न पेशा, व्यवसायमा संलग्न नेपाली तथा विश्वविद्यालयमा पढ्दै गरेका नेपाली विद्यार्थीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
लिंक यहाँ छ:
https://www.facebook.com/Embassy-of-Nepal-in-Tokyo-Japan-%E5%9C%A8%E6%97%A5%E3%83%8D%E3%83%91%E3%83%BC%E3%83%AB%E5%9B%BD%E5%A4%A7%E4%BD%BF%E9%A4%A8-213951378952957/