गल्ति: देउवा र पौडेल दुवैले नगरुन


सतिश चापागाईं 

अन्तत: पार्टीको बैधानिक तवरबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति भएका छन् | विजयको यो घडीमा सभापति देउवालाई बधाई र शुभकामना छ | उप बिजता बनेका नेता रामचन्द्र पौडेललाई सान्त्वना छ | पौडेलले पनि देशभरका कांग्रेसी कार्यकर्ताका भारि मत प्राप्त गरेका छन् | अर्का उमेद्वार सिटौलाले पनि यो अग्नि परीक्षामा होमिएर सहि गरे वा गलत त्यो समयले बताउदै जानेछ, तर आजका दिनमा उनलाई पनि सान्त्वना दिनु वाञ्छनीय हुन्छ |

बधाई र शुभकामनाका शब्दसंगै अब शेरबहादुरसंग कांग्रेस पार्टी र सिंगो देशले ठुलो अपेक्षा पनि गरेको छ | जीवनभरको निरन्तर संघर्षबाट प्राप्त यो पदभन्दा देउवाले प्राप्त गर्नु पर्ने अरु कुनै चिज बाँकी पनि देखिदैन | सभापति पदका लागि गरेको तीन तीन पटकको रस्साकस्सी र तीन तीन पटक प्रधानमन्त्री भईसकेका देउवासंग पार्टी र मुलुक संचालनका लागि जति अनुभव छ सायदै कसैसंग होला |

लामो र संघर्षपूर्ण राजनीतिक यात्राका पथिक देउवाको विजयलाई उनले बिगतका गरेका र नगरेका कैयौं दोषहरुको आँखाबाट होइन उनले देश, जनता र पार्टीकाप्रति लगाएका गुणहरु सम्झेर बधाई दिनुमा सबैको हीत हुनेछ |

पार्टीको बिधान अनुरुपको प्रजातान्त्रिक अभ्यासबाट पार्टीको सर्बोच्च पदमा आसिन देउवाका अगाडी अब प्राप्त गर्नुपर्ने अधिकार होइन गर्नुपर्ने दायित्व र कर्तब्यका ठुल्ठुला पहाडहरु ठिङ्ग उभिएका छन् | अब मात्र प्रतिक्षाको बिषय छ- देउवाले ती अजंगका पहाडहरुको आरोहण कसरी गर्ने छन् |

आफ्नै पार्टीको एकता कायम राख्नु देउवाका लागी सबैभन्दा पहिलो चुनौती हो | पार्टी अहिले दुई चिरामा विभक्त छ | केन्द्र, प्रदेश, जिल्ला रगाउँ गाउँ मात्र होइन बिदेशमा समेत कांग्रेसीहरु बाँडिएका र भाँडिएका छन् | तितो नै लागोस, यसको मुख्य कारक देउवा स्वयं हुन् | समाधान गर्ने सीटमा उनी स्वयं आसिन भएका छन् | पार्टीको संसदीय दलको नेता भएर प्रधानमन्त्री भएका बखत पार्टीको साधारण सदस्यबाट समेत निष्काशनमा परेका देउवा आफै थिचोमिचो र अन्यायका भुक्तभोगी हुन् | प्रधानमन्त्री भएका बखत नै अपदस्त गरिएका देउवालाई राजनैतिक बेथिति, विसंगति र उल्झनका सारा पिडा अक्षरश: थाहा छ |

अब भने उनीसंग गुनासो गर्ने ठाउँ छैन | छ त केवल ती दिनहरु सम्झेर पार्टीका कार्यकर्ताहरुलाई योग्यता र क्षमताका आधारमा न्याय दिने अवसर प्राप्त भएको छ | छ त केवल विधिको शाशन कायम गर्ने ठुलो जिम्मेवारी प्राप्त भएको छ | छ त केवल राजनीतिक अस्थिरताका कारण जिर्ण भएको मुलुकलाई त्राण भर्ने र समृद्ध बनाउने अवसर प्राप्त भएको छ |

अरु कसैलाई दोष थुपारेर पानी माथिको ओभानो बन्ने सहजता उनका सामु उपलब्ध छैन | फेरी एकपटक भनौं- देउवालाई अब अधिकार माग्नु पर्ने छैन बरु न्याय दिनुपर्ने छ, पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र देशका सम्पूर्ण जनतालाई |

देउवाका अगाडी देखिएको पहिलो चुनौती पार्टीलाई एक र सुदृढ बनाउनु नै हो | पार्टी जीवनका हरेक तह र तप्कामा व्याप्त भागबन्डाले कांग्रेस छियाछिया भएको छ | बर्षौंदेखि पुराना कार्यकर्ताको नै ब्यबस्थापन हुन सकेको छैन | भएका कार्यकर्ताहरु या कांग्रेस छाडेर अन्यत्रै लहडीएक छन् या त पार्टी मै बिना काममा टहलिएका छन् | योग्यता अनुरुपको जिम्मेवारीको अभावमा कार्यकर्ताहरु ठेक्कापट्टा र घर जग्गा दलाल र बैदेशिक रोजगारका एजेन्टमा सिमित भएका छन | नेताका अगाडी चाकडी गरेकै आधारमा बक्स हुने संगठनका पदका कारण देश विदेशका कांग्रेसी संगठनहरु आक्रान्त छन्, निष्ठावान कार्यकर्ताहरु आहत छन् |

यो कार्यका लागी सभापतिका रुपमा देउवाले सम्पूर्ण भ्रातृ संगठनहरुको बर्षौंदेखि रोकिएको अधिबेशन सिघ्रातीसिघ्र सम्पन्न गर्नु पर्नेछ | अधिबेशन भएर पनि देश बिदेशका कतिपय भ्रातृत्व संगठनहरु मृतप्राय छन्, उनीहरुलाई शसक्त बनाउनु छ | यसो गर्नका लागि सभापति देउवालाई त्यति सजिलो भने छैन | किनभने यी सबै समस्याका कारण अरु नै भएपनि कारक देउवा स्वयं हुन् | यसो भनिरहदा नराम्रो सुनिएला तर सत्य र तथ्य यहि हो |

यो सत्य र तथ्यबाट भाग्ने बाटो सभापति देउवाका अगाडी छैन बरु यहि सत्य र तथ्यमा टेकेर उपयुक्त र सर्बस्वीकार्य बाटो निकाल्नु श्रेयस्कर हुनेछ | त्यो बाटो भनेको उपविजेता बनेका रामचन्द्र पौडेललाई विश्वासमा लिएर अगाडी बढ्नु हो | पौडेललाई उनी सुहाउदो जिम्मेवारी दिएर अघि बढे मात्र देउवाको कार्यकाल सहज रुपले अगाडी जाने छ | देउवाको शक्तिलाई कम ठान्दा संस्थापन पक्षले यी अबधिभर जोडघटाउमा मात्र समय बिताएको छ | यहि गल्ति देउवाले नदोहोर्याउन भन्ने बुझाई हरेक कार्यकर्ता र राजनीतिक विश्लेषकको छ |

प्राप्त पदको लाभले सत्ता प्राप्तिको लोभबाट टाढै रहेर पार्टीलाई एक गर्न सकेमा देउवाले आफ्नै कार्यकालमा एकताबद्ध कांग्रेस र कांग्रेस बहुमतको सरकार देशलाई दिन सक्ने प्रबल सम्भावना छ |


पौडेलका तर्फ 

उता, जीतको नजिक पुगेर हारेका रामचन्द्र पौडेललाई मुखमा आएको भाग खोसेजस्तै भएको छ | पार्टीका लागि पौडेलको हार एउटा निष्ठाको हार नै हो | पौडेलको पराजयले जिम्मेवारी मात्रै बहन गर्दै सिधा बाटो हिडेर राजनीतिको बाटोमा सफल हुन सकिदो रहेनछ की भन्ने शंकाको बिजारोपण गरेको छ |

आम कार्यकर्तामा ब्याप्त यो शंका स्वयं पौडेलमा पनि पक्कै छ | देउवाको त्याग, तपस्या, संघर्ष र योगदानको तुलनामा पौडेल कुनै पनि कुरामा कमि छैनन् | कार्यकर्ताहरुले मत मात्र कम डिएका हुन् मन दुबै नेतालाई बराबर दिएका छन् | पौडेललाई देउवाले किनारा लगाउनु हुदैन र पौडेलले पनि टाढा बसेर पार्टीलाई हेर्नु पनि हुदैन | आदरणीय र सम्माननीय हुदाहुदै पनि बिगतमा कांग्रेसका संस्थापक नेताहरुले अक्षम्य भुल गरेका छन् | यो गल्ति देउवा र पौडेलले नगरुन | उमेरका कारण र कार्यकर्ताका भावना कारण पनि पौडेल अब फेरी सभापतिमा उठ्ने र जित्ने सम्भावना कम छ | देउवाले नै पौडेललाई एक पटक प्रधानमन्त्री बन्ने अवसरको ढोका खोलिदिनु कांग्रेस पार्टीका लागि हितकर हुनेछ |

सिटौला र बाँकी कार्यकर्ताका लागि भने समय छदैछ | उनीहरुका हकमा नेपालीको चर्चित उखान पर्याप्त छ - एउटा पुषले जाडो जादैन |

, , ,