लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमसंग अमेरिकाको भर्जिनियामा भेटघाट कार्यक्रम सम्पन्न

 
नमुना शाही 

भर्जिनिया मार्च २१ |

लक्ष्मी प्रतिष्ठान भर्जिनियाको आयोजनामा भर्जिनियामा एक  भेटघाट  तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ | सो अवसरमा प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले प्रतिष्ठानले गरेका गतिबिधिका बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो |

प्रतिष्ठानले छ बर्षको अवधिमा नेपालमा शिक्षा, स्वास्थ, सडक सुरक्षा र टेक्निकल बिषयमा बिभिन्न कामहरु गर्दै आईरहेको छ | यो संस्थाले अहिले चितवनको कान्दामा रहेको चेपाङ्गहरुको बस्तिलाइ परिबर्तन गर्ने उद्देश्यले "कान्दा रुपान्तरण अभियान' संचालन गर्दै आएको छ |

भर्जिनियाको कार्यक्रम अध्यक्ष गौतमले सोहि जानकारी दिनुभयो | उहाँका अनुसार कान्दाका चेपांगहरुलाई आधुनिक सुबिधायुक्त घर बनाएर उनीहरुको जीवनस्तर उकास्न सहयोग गर्ने संस्थाको उद्देश्य रहेको छ | अहिलेसम्म प्रतिष्ठानले ८५ वटा घर निर्माण गर्ने लक्ष्य लिएको छ भने ४९ ओटा घर हस्तान्तरण गरिसकेको छ । प्रतिष्ठानले सुबिधायुक्त छात्रावास निर्माण गरी कान्दाका १ सय ६ जना बच्चाले सुविधायुक्त स्कुलमा पढ्न पाईरहेको पनि उहाँले जानकारी दिनुभयो |

नौं महिनाको अन्तरालमा आफ्ना दुईजना छोराहरुलाई सडक दुर्घटनामा गुमाएका बिष्णु गौतमले आफ्नी श्रीमती लक्ष्मीको नाममा यो प्रतिष्ठानको स्थापना गर्नु भएको थियो | उहाँले आफ्ना जीवनका अति दुखद ति घटनाहरु बताईरहदा उपस्थित सबैका आँखा रसाएका थिए | फेरी उहाँले सोहि पीडाबाट छुटकारा पाउन समाजसेवामा लागेको बताउदा सबैले सन्तोषको सास फेरेका थिए |

नेपालमा उहाँले गरिरहेका समाजसेवाका कामबाट खुशी र प्रभावित भएका भर्जिनियाका नेपालीहरुले लक्ष्मी प्रतिष्ठानको कान्दा अभियानलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुका साथै प्रतिष्ठानको आजीवन सदस्य बनेर सहयोग गरेका थिए |

कार्यक्रममा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले नेपालको बिकट क्षेत्रमा प्रतिष्ठानले पुर्याईरहेको सहयोगको प्रशंसा गर्नु भएको थियो | उहाँले यस्तो मानवीय र सामाजिक काममा सबैको सहयोग रहनु पर्ने विचार ब्यक्त गर्नु भएको थियो | भर्जिनियाको कार्यक्रमको संचालन तथा ब्यबस्थान राम बस्यालले गर्नु भएको थियो |