कांग्रेसको अबको बाटो






- रामकुमार सुबेदी 

भोलि मेरो विचार तपाईंले पढ्दै गर्दा भृकुटीमण्डपमा शायद अवीर जात्रा भई सकेको हुनेछ। खादाका पसलहरू रित्तो हुनेछ। माला र नाराले काठमाडौँ गुन्जयमान होला। तर डोल्पाबाट हिंडेर आउने प्रतिनिधिले के लिएर जानेछ त्यसपछि। टीकापुरबाट झोला भिरेर आउनेले के पाउनेछन् र झापाका न्यौपाने परिवारलाई के भन्ने छन् गम्भीर प्रश्न यो हो।


उपत्यका बाहिर भूकम्पले धकेलिएकाहरूको सम्पर्क कार्यालय राजधानीभित्र खुलेका छन्। चार भन्ज्यांगभित्र खुलेका सुबिधायुक्त सम्पर्क कार्यालयहरूले बाहिर भन्ज्यांगमा बास बसिरहेका ती हजारौं अभागी जनतालाई उनीहरूको अन्योलतालाई कसरी सम्बोधन गर्ने त्यो महत्वपूर्ण सवाल रहेको छ।

जनता धरोहर हुन् I त्यो धरोहरहरुलाई धेरै पटकको धक्काले अक्कनबक्क बनाएको छ हामी राजधानीमा बसेर, सरकारमा र राज्यका अंगहरूमा बसेका "ठूला" भन्नेहरू एक महिनाको तलव धरहरा बनाउन दिन्छौं। संबिधानको प्रस्तावनामा नै परिभाषित राष्ट्र भनेको जनता हो भन्ने मर्मलाई लत्याएर त्यो अन्धकार र अनिश्चयमा कठोर जीवन बिताउने पींडितहरूलाई भुल्छौँ र शीतलनिवासमा कर्मकाण्ड गर्छौं, रानीपोखरीमा ईंटा राख्छौं, धरहरामा सेल्फी खिच्छौँ र ताम्रपत्रमा नाम लेखाउन लाखौँ नगद धरहराको लागि दिएको भनेर उखान र बयान गर्छौं। कांग्रेस ईतर भितर जसले गरे पनि ठूलो र जिम्मेवार दलका महाधिवेशन भएकाले त्यसको जवाफ पनि टेकुबाट फर्के पछि दिनु पर्छ।

संबिधान शिलालेख हैन तर पत्थर पनि त हुनुहुन्न। मधेसका नेताहरुमा स्वार्थ देखिए होलान् तर मधेसका आफन्तहरूको पनि निस्वार्थ अपेक्षा थियो होला। चार दर्जनभन्दा बढी मधेसबासी दाजुभाई दिदी बहिनीहरूको शहादत शायद मधेसका नेताहरूलाई सिहंदरवार, बालुवाटार र पुल्चोक मात्र पुर्याउने थिएन होला उनीहरूको युगौंदेखिको दमित आवाज विष्फोट भएको पनि त हुनसक्छ। तराईका फाँटहरूबाट चारतारा झोला भिरेर, गम्छा काँधमा राखेर आउनेले तिनीहरुको परिवारको आवाजलाई कति उठायौ त्यो कठोर प्रश्न हो र कति नीतिमा राख्न लगायौ त्यसको जवाफ दिनु पर्छ रात्री बसमा चढेर मधेसतिर झरेपछि।

रामजानकी मन्दिर प्रवेश गर्न पाउने मेरी आमाको हक, नाकाबन्दीले राष्ट्रमा पारेको प्रभाब र कांग्रेसको भूमिका र पाल्पाको रिडीमा भएको भेलामा रुद्राक्षमाला भिरेकी बजैको आवाज जस्तै दुई तिहाई भन्दा बढी नेपालीहरूको आवाजलाई किन सेतो कपडाले बेरेर संसद भवनमा पोको पारेर राखियो त्यसको उत्तर नेपाली जनताहरूले अरू दलबाट खोज्दैनन् र उत्तर उत्तरपन्थीहरूबाट वास्तविक आउँछ भनेर सोचेका पनि छैनन् त्यसको जवाफ पनि अहिले चारताराको झोला भरी लिएर गाऊँ ठाउँ जाने गहन अभिभारा हो।

 आत्मसमीक्षा र आत्मालोचना गरेर आफ्नो विधानमा संशोधन गरी आगामी संबिधान संशोधनमा राख्ने प्रण गर्ने ठोस जिम्मेवारी पनि तेह्रौं महाधिवेशनको हो।

मधेसबाट मात्र हैन, अन्य प्रदेशबाट मात्र पनि हैन प्रवासबाट पनि कांग्रेसको प्रतिनिधिहरू जानु भएको छ, हवाईजहाज चढाएर, चित्त नबुझी र असन्तोष र विवादबीच यहाँ र अन्य मुलुकबाट जनसम्पर्क समितिको नेतृत्व गर्दै जानु भएको छ। साउदीमा नेपाली महिला दिदीबहिनी माथिको अत्याचार पढ्नु भएको होला, सुन्नु भएको होला, महसुस गर्नु भएको होला, मलेसियामा नेपालीहरू माथि गरिएको अन्याय, कतारको नारकीय जीवन, भारतमा नेपाली पुरुष र महिला माथिको घृणित कार्य हामीले बयान गरी रहन पर्दैन। तपाईं हामी सबैको अथक प्रयासले हामीलाई संबिधानमा केही हाम्रा अधिकार, हक र कर्तव्य लिपिबद्ध गरिएका छन्। तर अझै अपर्याप्त छन्, कति द्विअर्थी लाग्ने देखिन्छन्, कति अस्पष्ट छन्।

संविधानको दफामा दर्ज भए पनि कार्यन्वायनका लागि ऐन, कानून र नियम बनिसकेका छैनन्। र बन्ने चरणमा छन्। नेपाली कांग्रेस संसदमा सबैभन्दा ठूलो दल, प्रमुख प्रतिपक्षी र भविष्यमा सत्ताको नेतृत्व गर्न सक्ने भएकोले संबिधान कार्यान्वयन, संशोधन र संबिधान अन्तर्गत बनिने अन्य ऐन कानून निर्माणमा नेपाली कांग्रेसको सहयोग,सद्भाव र समर्थन बेगर मुस्किल देखिन्छ।

त्यसैले हामी प्रवासीहरूको हितमा, हकमा, अधिकारमा र हाम्रो मातृभूमिप्रतिको निष्ठा र उत्तरदायित्वमा नेपाली कांग्रेसको नेतृत्वलाई कति विश्वास दिलायौ,कांग्रेसको नीतिमा र विधानमा लिपिवद्ध गरायौ लगेजभित्र राखिएको चारतारा झोलामा हालेर ल्याउनु होला। कुनै अमूक व्यक्तिलाई जिताउन र अर्को कुनै ए बि सी वा करासे कसैलाई हराउन नेपाल बाहिर बसेका कांग्रेस शुभेच्छुकले पठाएका हैनन्। चेतावनी हैन चेतना भया।
जय नेपाल !!

कनेक्टिकट, अमेरिका

,