डडेल्धुरा ‘मटेलाका’ देउवा

को हुन् शेरबहादुर देउवा ?


काठमाडौं। शेरबहादुर देउवा अब कांग्रेस बरिष्ठ नेतामै सिमित रहेनन्। पहिलो पटक उनको हातमा देशकै मुख्य पार्टीको नेतृत्व आएको छ। उनको तेस्रो पटकको अथक प्रयास अन्ततः जिम्मेवारीमा बदलियो। समयले उनकै पाल्टामा कांग्रेस पार्टीको नेतृत्व हालिदियो। यद्यपि, उनले दोस्रो चरणको निर्वाचनको सामना गरे। पहिलो चरणमा ११ मतले उनलाई सभापति निर्वाचित हुन रोकेको थियो।  उनी तेस्रो पटक पार्टी नेतृत्वका लागि निर्वाचन लडेपनि पहिलो पटक देउवा प्रमुख दावेदारको रुपमा उभिए। महाधिवेशन प्रक्रियाकै क्रममा पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि उनी पहिलो पटक प्रमुख दावेदार भए। उनको तेस्रो उम्मेद्वारी अन्तिम अवसर पनि भनियो।

कांग्रेस राजनीति यात्रामा ५० वर्ष विताइसकेका देउवा उमेरले ६९ वर्ष पुगे। नेतृत्व लिने सन्दर्भमा देउवा निकै जानकार छन्। उम्मेद्वारी घोषणा गर्दा समेत देउवाले ‘म सँग निर्णय गर्ने क्षमता र आँट छ’भनेका थिए । तर, त्यो आँट निर्णय क्षमता प्रमाणित गर्ने समय बल्ल सुरु भएको छ। देशको आर्थिक, सामाजिक र राजनीतिक विषमताहरु चिनुपर्ने, संविधान कार्यान्वयन एवं कानुन निर्माणको जिम्मेजारी पूरा गर्नु पर्ने चुनौती देउवाकै काँधमा आएको छ।



डडेल्धुरा ‘मटेलाका’ देउवा
विसं २००४ जेठ ३० गते डडेल्धुराको असिग्राम गाविस —५ मटेला, रुवाखोलामा जन्मिए। बुबा प्रसाद देउवा ‘तमिल्दार’ र आमा द्रोपदीदेवी देउवाका जेठा छोरा हुन्, शेरबहादुर देउवा। ६ दाजुभाई र ५ बहिनी मध्ये एक जना भाईको निधन भइसकेको छ। अहिले ५ भाई मध्ये प्रेमबहादुर देउवा र शेरबहादुर काठमाडौं बस्छन् भने, ३ भाई कैलाली र कन्चनपुरतिर बसाइ सरेका छन्।

देउवाको पुख्र्यौली घर समेत छँदैछ। देउवाका बुबा प्रसादको केही वर्ष अघि मात्रै निधन भएको हो भने, आमाको निधन बुबा भन्दा अघिनै भइसकेको थियो। बुबा छँदा देउवा र कांग्रेस नेताहरु घरमै पुग्थे। डडेल्धुराका अन्य क्षेत्रमा उनका बुबा छँदै बाटो र विजुली पुगेपनि आफ्नो घर जाने रुवाखोलामा पुल बनाउन पहल गरेका थिएनन्। अहिले झोलुङ्गे पुल बनेको छ। मोटरबाटो भने भरखर खनिएको छ। देउवाका बुबालाई एउटै चिन्ता भइरहन्थ्यो। ‘घर आउने जाने खोलामा सल्लाको मुढा तेस्र्याएर बनाइएको पुलेसो बाढीले बगाउने हो कि पानीले गलेर झर्ने हो।’देउवा पिता प्रसादलाई पाहुनाले मुढाको पुलेसो हुँदै खोला तरेको बारे सोध्थे पनि। उनले ‘एउटै जवाफ दिन्थे, खै तीन पटक प्रधानमन्त्री भो’ देश र जिल्लाबारे सोच्यो घरको बारे सोचेन।’   शेरबहादुर अहिले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास बस्दै आएका छन्। देउवाका एक छोरा छन्। देउवाकी धर्मपत्नी आरजु पनि अहिले व्यवस्थापिका संसद् सदस्य हुन्।

राजनीतिक यात्रा र उदय ? 
विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट नेपाली राजनीतिमा प्रेरित भएका देउवाले  त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक गरे। देउवा सोही विषयमा सन् १९८८–०८९ मा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो भए। देउवा स्कुले जीवन देखिनै लिडर बन्न रुचाउँथे। ८ कक्षा सम्म डडेल्धुराको महेन्द्र माविमा पढेका देउवाले ९ र १० को अध्ययन डोटीको जिजोडामाण्डौं –१ उच्चाकोटमा रहेको सिताराम हाईस्कुल (हालको सिताराम क्याम्पस) मा गरे। २०१९ सालमा एसएलसी लिएका देउवा सो विद्यालयबाट एसएलसीमा सहभागि हुने ८ विद्यार्थी मध्ये १ र उत्तिर्ण हुने तीन विद्यार्थी मध्ये पनि एक थिए। उनकै व्याजले सो विद्यालयबाट पहिलो एसएलसी सहभागिता जनायो । २०१७ सालमा स्थापना भएको विद्यालयका तत्कालिन प्रधानाध्यापक सिताराम खत्री थिए । त्यो बेला श्रेणीको महत्व भन्दा पनि एसएलसी पास हुनु भनेको ठूलो सफलता मानिन्थ्यो । देउवा पढाईमा अब्बल नै थिए । त्यसका अतिरिक्त उनी स्कुलमा लिडर बन्न अग्रसर हुन्थे । वक्तृत्वकलामा स्कुले जिवनमै खरर भाषण गर्थे । पहिले उनी निकै प्रस्ट बोल्ने गुरु लोकराज पन्तले बताए । सामूहिक काम गर्न साथीहरुलाई हौस्याउँथे । एसएलसी उत्तिर्णपछी देउवा पढ्नलाई काठमाडौं हानिए ।

विद्यार्थी जीवनबाटै राजनीति सुरु गरे । उनी कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य हुन् । पहिलो निर्वाचित अध्यक्ष ।
प्रजातन्त्र पुनःस्र्थापना हुँदा २०४६ मा देउवा कांग्रेसका सशक्त युवा नेताका रुपमा उदाए । २०४८ सालको आम निर्वाचनमा देउवा अत्यधिक मतका साथ डडेल्धुराबाट विजयी भए । त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री भए ।

देउवाले २०५१ र २०५६ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समेत जीत हासिल गरे । ०७० को संविधानसभा निर्वाचनमा देउवा डडेलधुरा र कैलाली –६ बाट निर्वाचित भए । २०५२ सालमा पहिलो पटक मुलुकको ३२औं प्रधानमन्त्री बने । जहाँबाट देउवाको व्यक्तित्व थप चुलियो ।
पार्टीभित्रको अन्तरसंघर्षमा देउवाले २०५९ सालमा कांग्रेस पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेस गठन गरी त्यसको सभापति भए । पहिलो संविधानसभा निर्वाचनअघि २०६४ सालमा उनको प्रजातान्त्रिक नेपाली कांग्रेसमा गाभियो ।

यस्तै, सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका देउवा सन् २०१३ देखि हालसम्म सो संगठनको एशिया क्षेत्रको अध्यक्ष र अन्तर्राष्ट्रिय उपाध्यक्ष छन् । जुन संस्थामा कांग्रेस नेतृत्वको इतिहासमा वीपी कोइराला मात्रै जोडिएका थिए । वीपी समेत अन्तर्राष्ट्रिय उपाध्यक्ष थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा देउवाले विभिन्न पटक गरी ९ वर्ष जेल जीवन व्यतिथ गरे । राणाहरुले दुःख दिए पनि देउवाले गृहमन्त्री पदमा बहाल भएकै समय ४५ वर्षको हुँदा आरजू राणासंग विहे गरे ।

वीपीका प्रियपात्र 
युवाअवस्थामा शेरबहादुर देउवा कांग्रेस संस्थापक वीपी कोइरालाका प्रियपात्र बने ।  जसकारण अहिले पनि शेरबहादुर वीपीपछिको आँटिलो मै हुँ भन्ने गर्दछन् ।  विडम्पना देउवाको वीपीसँग लामो सहकार्य रहेन । देउवाले राजनीति सुरु गर्दा वीपी जेलमा थिए । जेलमुक्त भएपछि उनी भारत निर्वासनमा रहे । २०३३ सालमा वीपी भारतबाट फर्केपछि देउवाको वीपीसँग उठबस सुरु भयो । २०३३ सालदेखि २०३९ सालसम्मको समयमा वीपी जहाँ जहाँ गए देउवालाई साथी लगे । देउवालाई धेरै काखी च्यापेको भनेर गुनासो आउँदा वीपीले जवाफ दिन्थे, ‘यो जे कुरा पनि सिक्न खोज्छ, अरुले चासो दिँदैनन् ।’ वीपीकै आडमा देउवा दुई कार्यकालसम्म नेविसंघका निर्विरोध अध्यक्ष भए ।

वीपीका भाई गिरिजाप्रसाद कोइरालासंग समेत देउवाको सुरुदेखि राम्रो सम्ब्न्ध रहयो । तर, २०५० सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईविरुद्ध अन्र्तघात गर्न नमान्दा देउवासँग गिरिजाको सम्बन्ध बिग्रेको बताइन्छ । गिरिजाप्रसाद कोइरालाले २०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा देउवालाई मन्त्रालय रोज्न लगाउँदा उनले गृह रोजेका थिए । रामचन्द्रले स्थानीय विकास र शैलजा आचार्यले कृषि मन्त्रालय रोजेकी थिइन् ।

गृहमा देउवा कठोर प्रशासक जस्तै देखिए । तत्कालीन समयमा एमाले नेता मदन भण्डारीको रहस्यमय मृत्युपछि एमालेले सडक आन्दोलन गर्दा देउवाले कठोरतापूर्वक सामना गरे । मिलिजुली सरकारको प्रधानमन्त्री बन्दा भने देउवाले कठोरतालाई समान्ययीकरण गरे । जस कारण देउवा सत्ता टिकाउनका लागि जुनसुकै सम्झौता गर्ने ‘सम्झौता परस्त’ प्रधानमन्त्रीका रुपमा चित्रित समेत भए । यस्तै, देउवा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धामा ११औं र १२औं महाधिवेशनबाटै अघि सरेका थिए ।

देउवाका सामाजिक काम  
प्रधानमन्त्री बन्दा देउवाले निकै काम गरे। भारतसँग महाकाली सन्धि, नेपालमा मूल्य अभिवृद्धि कर लागू, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने गरी कानुन निर्माण गर्ने, कमैया मुक्तिको घोषणा गर्नेलगायतका काम देउवाले गरे । देउवाले कैलाली र कञ्चनपुरमा रहेका थारुहरुलाई कमैया मुक्त मात्रै गरेनन् । उनीहरुबीचको विभेद र खाडल पुरिदिए । पहिले कञ्चनपुरबाट कैलालीको टिकापुर आउन भारत हुँदै आउनु पर्ने बाध्यता रहेकामा उनले नेपाल भारत सहयोगमा कर्णाली पुल सम्म सोझै बाटो जोड्न पहल गरेपछी दूरी मात्रै छोट्टिएन । उनीहरुबीचको रोध प्रतिरोध समेत मेटियो ।

कर्णाली क्षेत्र र पीछडिएको भू–भाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाती र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण कदम उठाएका देउवाले कर्णाली(दलित, महिला, जनजाति,मधेस (कदमजम) को अवधारणा ल्याए । उनले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गर्न लगाए । देउवाले महिला र बालबालिकालाई ध्यानमा राख्दै प्रजन स्वाथ्यसम्बन्धि विधेयक ल्याएर विधि तयार गर्न समेत पहल गरे ।

देउवाको कार्यकारीणी काल 
देउवा विसं २०५२ भदौ २६ मा पहिलोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेको एक वर्षपछी २०५३ फागुन २६ गते प्रधानमन्त्रीबाट पद मुक्त भए । विसं २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म देउवा दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई राजा ज्ञानेन्द्रले बर्खास्त गरे । विसं २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले अपदस्थ गरेका देउवालाई २०६१ जेठ २१ मा फेरी आफैले प्रधानमन्त्री बनाए । यसपटक प्रतिगमन आधा सच्चिएको भन्दै एमाले र प्रजातान्त्रिक कांग्रेसको सरकार बनेको थियो । तर, ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम बताउँदै पदबाट दोस्रोपटक बर्खास्त गरी १० महिना नजरबन्दमा समेत राखे । विसं २०५६ मा माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष बनेका देउवा विसं २०५८ सालमा ४८ सदस्य रहेको ठूलो आकारको मन्त्री मण्डल बनाएर गलत अभ्यास शुरु गरेको आरोपमा आलोचित बने ।

देउवाको नराम्रा पक्ष 
उनको नराम्रो पक्ष हेर्दा संसदीय विकृतिका सूत्राधार मानिन्छन् । देउवा प्रधानमन्त्री हुँदा नै संसद किनबेच देखि सुत्केरी भत्तासम्मका प्रकरण बाहिर आए । देउवाकै कार्यकालमा सबै संसदलाई भन्सार सुविधामा पजेरो गाडी दिने विवादास्पद निर्णय भयो । सरकार टिकाउनका लागि जम्बो मन्त्रिमन्डल बनाउने सिलसिला उनैले सुरु गरे । पजेरो संस्कृति शुरु गरेको र आफ्नो सरकार टिकाउनका लागि दुईजना साँसदहरुलाई थाईल्याण्ड पठाएको घटनामा पनि उत्तिकै आलोचित छन् । यस्तै,  तत्कालिन नेकपा(माओवादी)को सशस्त्र विद्रोह दमनका लागि धेरै व्यक्तिलाई अनाहकमा मारेको, यातना दिएको र बेपत्ता बनाएको अभियोग समेत देउवालाई लागेको छ । माओवादी नेताहरुले अझ आफुहरुको टाउकोको मूल्य तोकेको विषय  कयौं पटक भाषणको मसला बनाए ।

पढे लेखेका भए पनि देउवाको व्यक्तित्वमा बौद्धिकता देखिएको छैन । कुनै पनि विषयवस्तुको गहिरो विश्लेषण गरेर  ठोस मार्गचित्र आउनेगरी प्रस्तुत हुने क्षमता हाल सम्म देखाएका छैनन् । आँटिला केही काम गरेका भएपनि कांग्रेसमा कुनै नयाँ विचार र दृष्टिकोण दिन भने सकेका छैनन् । जहाँ देउवा आफुलाई विपी पछिको आँटिलो भन्दछन् ।

देउवा सहज वक्ता होइनन् भन्ने उनको भाषण स्वभावले प्रस्ट हुन्छ । वक्तव्य गोलमटोल हुन्छ, भने पत्रकार वा कार्यकर्ताबीच तार्किक रुपमा प्रस्तुत हुन सक्दैनन् । आवेशमा आउने रिसाहा स्वभाव छ । यस्तै, सामान्य परिवारका व्यक्ति भएपनि  पछिल्लो समय देउवा विलासी जीवनशैलीमा रहेको भन्दै आलोचित छन् ।

भ्रमण 
देउवाले भारत, चीन, भुटान, माल्भ्दिस, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्वीटजरल्यान्ड, ग्रीस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलिया लगायत मुलुक भ्रमण गरेका छन्।


, , ,