दिल्ली विमानस्थलमा नेपाल एयरलाईन्सका लगेजको बिस्कुन

काठमाडौं चैत्र,५-बिहीबार भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम रहेको हल्ला चलेपछि विमानस्थलका उड्ययन कर्मचारी र सुरक्षाकर्मीले एकाएक जहाज रोके। रन वेबाट जहाजलाई ट्याक्सी वे हुँदै विमानस्थलको एक कुनामा लगियो। केहीबेरमै त्यहाँ बम डिस्पोजल टोली आयो। दुईवटा दमकल, कुकरसहितका एयरफोर्सका सुरक्षाकर्मीले जहाज घेरा हाले। बाहिरको दृश्यले जहाज भित्रका यात्रुलाई त्रसित बनायो।
केहीबेरमा जहाजबाट यात्रुसँगै सबैको लगेज झारेर एकएकगरी जाँच सुरु गरियो। इन्धिरा गान्धी विमानस्थलको रन वे भन्दा बाहिरको कालोपत्र सडक (ट्याक्सी वे) मा जहाजका यात्रुको लगेज बिस्कुन जस्तै फिँजाइयो। जहाजदेखि निकै टाढा लगेर लगेज फिँजाइएको थियो। सुरक्षाकर्मीले ती लगेज एकएक गरेर जाँच गरे। त्यहाँदेखि केही टाढा लगेजका धनीहरु (यात्रु) को उस्तै जाँच चल्यो। महिला र पुरुषको बेग्लाबेग्लै लाईन लगाएर जाँच गरियो। गोजी छाम्नेदेखि मनि पर्स हेर्नसम्म सुरक्षाकर्मीले बाँकी राखेनन्।
अचम्मको कुरा त के भने बम रहेको भनिएको एयर इण्डियाको अर्को जहाजका यात्रुले हामीले जस्तो सास्ति पाएनन्। उनीहरुको जाँच त गरियो तर कम समयमै उनीहरुको जहाज गन्तव्यतर्फ उड्यो। हामीलाई दोस्र दर्जाको व्यवहार भयो। हामी करिब डेढसय यात्रुले पाएको दुःख जति बयान गरेपनि कम हुन्छ। पानी खान नपाएर यात्रुहरु तड्पिए। महिला र बालबालिकाको दुःख देख्ने त्यहाँ कोही भएन। यात्रुको रुवावास नै चल्यो, तर कसैको दया पलाएन।
धन्न हाम्रा क्याप्टेन विजय लामा निकै सिपालु परेछन्। उनी हामीलाई सान्त्वना दिन्थे। ८ घण्टासम्मको त्यो तनावमा क्याप्टेन लामा हरपल हाम्रो साथमा रहे। मसँगै यात्रामा रहेका दुई सज्जनसँग मेरो अघिदेखिनै कुराकानी भैरहेको थियो। मैले पछि मात्रै थाह पाएँ सज्जन द्वय त नेपालका ठूला नेता रहेछन्। एक उपेन्द्र यादव अर्का महन्थ ठाकुर। मैले पछि वहाँहरुलाई भनेँ आज मेरो 'ब्याडलक' हुँदाहुँदै पनि तपाँइहरुसँग भेट्ने 'गुड डे' पो रहेछ। हामीलाई तनाव भूल्नु थियो। विकल्प एउटै थियो–गफगाफ। हँसिमजाकमा उपेन्द्रजीले मेरो आधा तनाव कम गरिदिनु भयो। क्याप्टेन लामाको व्यवसायिक कार्यकौशल र नेपालका नेताद्वयसँगको गफगाफले मन भुल्थ्यो। तर एक यात्रुले कहिल्यै कल्पना नगर्ने सास्तिमा हामी प¥यौं। जीवनमा धेरै यात्रा गरियो, तर यस्तो तनाव मैले कहिल्यै पाएको थिइन्।
जे होस्, हाम्रो जहाज निर्धारित समयभन्दा अघि नै काठमाडौं ओर्लियो। १२ः४० मा ओर्लने जहाज ११ः५ बजे नै काठमाडौं ओर्लियो, तर एकदिन पछि। नेपालका मेरा मित्रहरुसँगको भेटघाट र मग्न भएर ध्यान गरेपछि यात्राको त्यो तनाव अवश्य शान्त हुनेछ। (अमेरिकी नागरिक, बलिउड गायक एवं ओशो सन्यासी रुपेश रावल बताए।