लंग आइल्याण्डमा राहदानी सम्बन्धी अन्तर्क्रियात्मक


न्यु योर्क, मार्च ८ |
 लंग आइल्याण्ड नेपाली समाजको आयोजनामा गत साता गत राहदानी वितरण, राहदानी फाराम संकलन तथा कर सम्बन्धी एवं अध्यागमन कानुन सम्बन्धी एक बृहत अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष दुर्गेश कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली वाणिज्यदूत कृसु क्षेत्रीले राहदानी फाराम सम्बन्धी विस्तृत जानकारी दिएका थिए । उपबाणिज्य दूत प्रवीण भट्टराईले मसिन रिडेबल राहदानीबारे जानकारी दिएका थिए । सो अवसरमा डेढ दर्जनलाई राहदानी वितरण गरिएको थियो ।

वाणिज्यदूतावास स्थापनापछि पहिलोपल्ट नेपाली समाजको आयोजनामा आयोजित यस कार्यक्रमबाट जनताको घरदैलोमा नै आएर जनताका राहदानी लगायत कन्सुलर सम्बन्धी सेवा उपलब्ध गराउन पाएकोमा क्षेत्रीले खुशी ब्यक्त गरेका थिए ।

गैर आवासीय नेपाली संघ लगायतका स्थानीय संघ संस्थाका सहयोगमा वाणिज्यदूतावासले नेपालीहरुको बसोबास रहेको क्षेत्रमा राहदानी फाराम भर्ने, संकलन गर्ने र तयार राहदानी वितरण गर्ने कार्यक्रम गर्दै आएको छ ।  गैर आवासीय नेपाली संघका अध्यक्ष डा. केशव पौडेल र वकिल रमेश श्रेष्ठले आ आफनो विचार व्यक्त गरेका थिए ।
स्रोत: कान्तिपुर