राम राम भन्न सकिन्छ, काँध हाल्न सधैं कहाँ सकिन्छ र ?


रामकुमार सुबेदी 

मलाई आज यो लेख्ने अधिकार गणेशमान सिंहले दिएका हुन्। मलाई अहिले लेख्दै गरेको कलमको हक किसुन जीले दिलाएका हुन्। छयालिसको परिवर्तनले हामीलाई आज कुनै समय चौघेरामा बसेर अँध्यारो पार्नेलाई चुनौति दिने त्यो हाम्रो स्वतन्त्रतालाई हामी अहिले हाँक दिंदै छौं। त्यो हाँक दिने हक पनि हामीलाई त्यही जनान्दोलन ४६ ले दिएको हो। त्यति मात्र हैन त्यो खुला मंचको गिरिजाबाबुको त्यो खुल्लमखुल्ला सबैलाई स्वामित्व दिने घोषणाले अहिले ती सबैले सम्प्रभूताको स्वामित्व ग्रहण गरेका छन्।

सदुपयोग भन्नुस अथवा दुरुपयोग धेरैले आफ्नो अनुकूल प्रयोग गरेका छन्।

जन आन्दोलनको निर्देश अनुसार भएको पहिलो आम निर्वाचनमा पूर्व जिल्लाका परिणाम आउंदै गर्दा त्यो मेरो बिजुली नभएको मदनपुरको टाँढे घरको आँगनमा लामो बाँसको टुप्पोमा चार ताराको झन्डा मुर्झाउँदै थियो "चार जिल्ला लाल किल्ला"को त्यो चर्को र टर्रो आवाजले मेरा अभिभावकहरूले ढोका थुनेर बस्नु पर्ने वाध्यता भएको थियो। अझै किसुनजी पराजयको परिणामले मेरी आमाको आँखा धेरै दिन रसायो। बिस्तारै पश्चिमतिरको परिणाम नेपाली काँग्रेसका पक्षमा आउन थालेपछि र अन्तिम परिणाम काँग्रेसको बहुमतमा आएपछि त्यो चर्को आवाज नून नहाल्दाको तरकारी जस्तै खल्लो र मत्थर भएको थियो।

काँग्रेसको त्यसबेलाको सरकारको अर्थनीति र विकासप्रतिको प्रतिवद्धता र कार्यान्वयनले आज त्यो मदनपुरमा बिजुली पुगेको छ, ट्रयाक्टर चढ्नु पर्ने मदनपुरमा मोटर बाटो पुगेछ। बिरिंगले बगाउला भन्ने त्रासको त्यो दिन अहिले पुल बनेछ।

आज नेपाली काँग्रेसको तेर्हौं महाधिवेशन काठमाडौँमा हुँदै गर्दा हामी हापप्यान्ट र हवाई चप्पल लगाएर कलबलगुडीको महाधिवेशन हेर्न जानेहरूमध्ये कति कतारमा हुने वर्ल्ड कपको रङ्गशाला बनाउँदै छौं। ईराकमा चरमपन्थीहरूको चौघेरामा छौं। कति जना कोशी नदीको किनारमा बालुवा चाल्दै छौं। कति हामीहरू रियाल बोकेर त्यो त्रिभुवन विमानस्थलमा रातो टिका र खादा लगाएर पासपोर्ट भित्र बोर्डिंग पास च्यापेर प्रस्थान कक्षको लाईनमा उभिएका छौँ।

टीनको बाकस भरी सामान ल्याउने अपेक्षा गर्ने उसकी श्रीमती र आमाको व्यग्रतापूर्वक कुराई हुँदा अकस्मात आगमन कक्षबाट काठको बाकस आउँदा त्यो आमाको कहिले ओभानो नहुने आँखाले र सिउँदो पुछिएका ती श्रीमतीहरूले पनि शायद काँग्रेसको यो महाधिवेशनले केही सान्त्वना दिने अपेक्षा गरेका होलान।

कार्यालय सहायकको विज्ञापन हुँदा एम ए गर्ने ती आवेदनकर्ताको आँखा लोकसेवा आयोग तिर हैन अहिले काँग्रेसको महाधिवेशनतिर फर्किएको छ। औषधि खर्चको अभावले, अस्पताल र चिकित्सकको अभाव र चरम गरिवीको कारण उपचार गर्न नसकेका सामाजिक संजालहरुमा फोटा सहित आएकी ढाड नचल्ने ती दिदीको निको हुने चाहना शायद काँग्रेसको अधिवेशनको समाचारमा सुन्न रेडियो कानमा राखेकी छिन्। भूकम्पले भवन मात्र हैन मन टुक्रा टुक्रा पारेका ती दुखी जीवनहरूको बिहान काँग्रेसले केही ल्याउला भनेर बारपाक र सिन्धुपाल्चोकबाट सोझै चारताराको चार भनज्याङ्गभित्र हुने निर्णयको व्यग्र प्रतीक्षामा छन्।

तर नेपाली काँग्रेसको अधिवेशन, नेपाली कांग्रेसको नीति, घोषणा र ती सीमान्तकृत र गरीवी र बेरोजगारीले मर्न बाध्य हुन लागेका जनताको लागि आगामी दिनमा गरिने प्रतिवद्धता जस्ता नीतिहरूको लागि बैठक बस्दैन, बसे पन्ध्र मिनेटमा सकिन्छ, अथवा आउने नया समितिले गर्छ भनेर आलटाल गरिन्छ। अनि कुम्भमेला शुरु हुन्छ लिगेसीको लागि म लड्ने, संस्थापनको म र हामी सही उम्मेदवार हौँ, मैले बिगतमा आएका अवसरहरूमा त्याग गरें अहिले मलाई चाहियो अथवा म कति पटक पछारिएं अहिले मलाई मौका देऊ भनेर फेसबुकमा देखिन्छन।

अर्को पक्ष, कसरी अर्को पक्षबाट, संस्थापनबाट चिढ्याएर आफ्नोमा ल्याउने, संस्थापनमा विभाजन ल्याएर आफूलाई विजयी गराउने कसरतमा छ। म उसको छोरो, म उसकी छोरी, म निरन्तर लडेको, मेरो थर मात्र फरक हो तर बी पीको असल विरासत मैले लिन सक्छु भनेर कुर्लिएका छन्। अनि यो घमासानमा, यो जाँतोको घुमाईमा सत्तरी डिग्रीको प्रचण्ड तापमा आफ्नो जीवनलाई मानेको पातमा, खुकुरीको धारमा राखी काम गर्ने ती साउदीमा रहेका नेपालीहरू घुन झैं पिसिन्छन्। मधेसको मुर्झाएको मन, पहाडको पींडा र हिमालको हीनतावोध झन बढेर जान्छ, झन निराशा र अन्योलतामा परिवर्तित हुन्छ। भूकम्पले तन,मन, धन र परिजन र जीवन वर्वाद गरी पालमा बसी अन्धकारयूगमा धकेलिएकाहरूको मुटु चर्किनेछ र मातृभूमि र माटोप्रतिको आस्थामा कम भएर जानेछ।

नत्र, नेपाली काँग्रेस ती निमुखा र निरास जनताको अपेक्षा परिपूर्ति गर्ने पवित्र सोच राखेर महाधिवेशन गर्दैछौ बिपीलाई एक पटक सम्झ | बिपीको विचारलाई एकपटक मनन गर, गणेशमानजीको पदप्रतिको महान त्यागलाई सम्झी देऊ। पहिलो अन्तरिम सरकारको शक्तिशाली प्रधानमन्त्रीमै हुँदा पराजय सामना गरी पार्टीलाई जिताएर र दोश्रो पटक बहुमत हुँदाहुँदै र उनकै नामले काँग्रेसले बहुमत ल्याएको तर उनको सरकार नौ महिना पनि नपुग्दै ढल्दा पनि छाता र सुराही बोकेर पुल्चोक र भैंसेपाटीतिर लागेका किसुनजीलाई एक पटक मन र मस्तिष्कमा अहिले महाधिवेशन प्रतिनिधिहरूले राखिदिए नेपाली काँग्रेस, महाधिवेशनपछि पनि देश बिदेशमा रहेका नेपाली जनताको आँखामा रहनेछ | तब मात्र सर्बसाधारण नेपाली जनता र गाउँमा बसेको हरेक कार्यकर्ताले कांग्रेसलाइ मनभित्र लुकाएर राख्नेछन्, काँग्रेसको हरेक आब्वाहन र आन्दोलनमा स्वस्फूर्त सरिक हुनेछन्। र काँग्रेसले राज्य संचालनमा निरन्तर सहयोग र समर्थन पाउनेछ।

हैन, निरन्तर काँग्रेस बिग्रह, विभाजन, बेथिति, बेमेल, विषाक्त र विपरीत ध्रुवतिर लाग्छ भने बुढापाकाले भन्ने छन्,"तेरो घरमा काङ्ग्रेस पसोस्।" अनि म र मजस्ता शुभ चिन्तक र शुभेच्छुकले भन्ने छौं, "भीरमा जाने गोरूलाई राम राम भन्न सकिन्छ, नजा भन्न सकिन्छ,  काँध हाल्न सधैं कहाँ सकिन्छ र?"

जय नेपाल !

कनेक्टिकट अमेरिका

,