सुन तथा गहनाको बिक्री घट्यो

काठमाडौं चैत, ७ - बजारमा सर्वसाधारण उपभोक्ताको मागको तुलनामा सुनको आपूर्ति तीन गुणाले वृद्धि भएपछि सुन तथा गरगहनाको कारोबार प्रभावित भएको छ ।
गत फागुनदेखि सुनको मूल्यमा वृद्धि हुने क्रम सुरु भएपछि बजारमा सुन खरिद गर्न भन्दा बेच्न सर्वसाधारण तथा उपभोक्ताको भीड लागेको हो । अहिले बजारमा दैनिक करिब १० दखि १२ किलोको सुनको माग रहेको भए पनि विभिन्न क्षेत्रबाट मुलुकभित्र दैनिक ३५ देखि ४० किलोसम्म सुन आपूर्ति हुने गरेकाले कारोबार हुन नसकेको व्यापारी बताउँछन् ।
गत फागुनको पहिलो सातामा सुन प्रतितोला रु ४७ हजार मूल्य कायम भई कारोबार भइआएकामा दोस्रो सातादेखि क्रमिक रुपमा मूल्य वृद्धि भई चैतको पहिलो सातामा रु ५७ हजारसम्म पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सुन तथा गरगहनाको व्यापारमा मन्दी आएका कारण अहिले विभिन्न वाणिज्य बैङ्कमार्फत आउने दैनिक १५ किलो सुनसमेत उठाउन नसकिएको बताउनुभयो । भूकम्पका कारण सुन तथा गरगहनाको कारोबार ह्वात्तै घटेको भए पनि विवाह, व्रतबन्ध तथा तीजलगायतका पर्वले कारोबारमा क्रमिक सुधार आउन थालेको थियो ।
महासङ्घका अनुसार पछिल्लो पटक संविधान जारी हुने बेलामा मधेस आन्दोलन तथा अघोषित नाकाबन्दी भई यस क्षेत्रको व्यापारमा नकारात्मक असर परेको हो । सुनको मूल्य सस्तिएको समयमा खरिद गरेका उपभोक्ताले अहिले महँगिएको बेला बिक्री गर्दा बजारमा नकारात्मक प्रभाव परेको व्यवसायीको भनाई छ ।
अधिकांश नेपाली नगद आवश्यक पर्दा सञ्चय गरेको सुन तथा गहना बिक्री गरी जोहो टार्ने गर्छन् । सुनको मूल्य आइतबार प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
श्री रिद्धि सिद्धि सुनचाँदी तथा गहना पसलका सञ्चालक नरेन्द्र गुप्ताले राजनीतिक अस्थिरताले व्यवसायले गति लिन नसकेको बताए ।
नेपाल रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनले सुन, रत्न तथा गहना महङ्गो भएका कारण सबैको पहुँचमा पुग्न नसकेको बताउँदै भन्नुभयो 'स्वदेशमा पाइने महत्वपूर्ण रत्नको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि नेपालमा त्यसको व्यावसायिक उत्पादन हुन सकेको छैन ।' रासस