प्रचण्ड तह लगाउने विकल्पहरु



रवीन्द्र श्रेष्ठ |
प्रचण्डले एक पटक यस पंक्तिकार संग भनेका थिए —‘मोहन विक्रमलाइ ०४१ सालमा ढुंगामुढाले हानेर तह लगाइएको हो , त्यो मान्छेले क्रान्तिको नेतृत्वगर्न सक्दैन भन्ने लाग्दथ्यो तर वैकल्पीक राजनीतिक लाइन पनि थाहा थिएन , त्यसैले जे जे पाइयो त्यसैले हानेर ठिक पारियो र त्यस पछि मात्र वैकल्पीक राजनैतिक लाइनको वारेमा खोजी गर्न थालियो ।’ यथार्थ पनि यस्तै थियो, किनभने ०४१ सालको महाधिवेशनमा राजनैतिक दस्तावेजहरु सबै मोहनविक्रमको नै पारित भयो तर मोहन विक्रम भने कारवाहीमा परे । ०४२ सालको फुट पछि पनि मोहन विक्रम समुहको पातलो मसालको दस्तावेज र मोहन बैद्य नेतृत्वको तात्कालिन मोटो मशालको दस्तावेज एउटै थियो , मोहन विक्रमले नै लेखेको ।

तर समय क्रममा मोटो मशाल भित्रका क्रान्तिकारीहरुको संयुक्त प्रयास स्वरुप नया कार्यदिशा बन्यो र ०५२ सालमा पुग्दा जनयुद्धको शुरुवात भयो । प्रचण्डले जनयुद्धको कार्यदिशा परित्याग गरेपछि प्रचण्ड त्यहि पुरानो ०४१ सालको जस्तै ढुगामुढा गरेर आफ्ना विपक्षी लाइ तह लगाउने तरिका अपनाउन थालेका छन् । तर अहिले परिस्थिति फरक छ र विपक्षी पनि मोहन व्रिक्रम जस्ता सोझा गौ प्राणी होइनन् ।

उपरोक्त प्रसंग उल्लेख गर्नुको उद्देश्य प्रचण्डको क्रुर र जे पनि गर्न तयार हुने प्रवृति लाइ थप प्रष्ट पार्नु मात्र हो । प्रचण्डले जनयुद्ध परित्याग गरे पछि वारम्वार ठुल्ठुला निहु खोज्ने र धम्की दिने गरेका छन् । तर पानी तताइ दे नत्र भन्दै थर्काउने जंड्याहा को जस्तै नत्र के भन्ने वित्तिकै चिसै पानीले नुहाउछु भन्दै पुच्छर लुकाएर पछि हट्ने प्रवृत्तिको विकास प्रचण्डमा भएको छ ।

प्रचण्डले आफु प्रधानमन्त्री भएपछि कटुवाललाइ यस्तै ढुंगामुढा गरेर हटाउन खोजे तर कटुवालले वहालवाला प्रधानमन्त्री लाइ नै तह लगाउने धम्की दिए पछि भने प्रचण्डले चिसै पानीले नुहाउछु भन्दै लुरुक्क राजीनामा दिएर ज्यान जोगाउन तिर लागे । त्यो बेला प्रचण्डले आफुलाइ नेपाली सेनाले कब्जामा लिन खोज्ने हल्ला सुनेर आफ्ना जनसेनाका लडाकुहरुको एक टुकडि वालुवाटार मै राखेर बरु लडेरै मर्ने तर सेनाको गिरफ्तारीमा नपर्ने भनेर आफ्ना लडाकु गार्डहरुलाइ भनेको कुरा त्यहा बसेका लडाकुहरुले पछि सार्वजनिक गरिसकेकाछन् ।

तर प्रचण्डले चिलिका वामपन्थी राष्ट्रपति एलेण्डेले जस्तै लडेर शहिद हुने वाटो लिने हिम्मत गरेनन् । प्रचण्डले राजीनामा दिएर चिसो पानीले नुहाए ।यो काण्ड भन्दा अगाडि पनि पहिलो संविधानसभाको चुनावमा ठुलो दलको रुपमा एमाओवादीले विजय पाए पछि गिरिजालाइ राष्ट्रपति वनाउन त प्रचण्डले रोक्न सके तर ठुला धम्कीका वावजुद पनि सरकार वन्ने र हटाउने कुरा सहमतिमा नभएर वहुमतीय संसदिय प्रणालीमा जाने गरि संविधान संशोधन गर्ने गिरिजाको प्रस्तावमा घुंडा टेकेर सहमती जनाउन प्रचण्ड वाध्य भए । अर्थात त्यो वेला पनि अन्तमा चिसै पानीले नुहाए उनले । विचरा प्रचण्डले राष्ट्रपतिको कटुवाललाइ सेनापति मै कायम राख्ने निर्णयका विरुद्ध ठुलो आन्दोलनको घोषणा गरे तर अन्तमा चिसै पानीले नुहाए र अहिले राष्ट्रपतिले वोलाए पछि दगुर्दै पुच्छर हल्लाउदै प्रचण्ड जाने गरेका छन् ।

माधव नेपालको प्रधानमन्त्रीत्व कालमा कठपुतलि सरकार भन्दै सात दिने नेपाल बन्द सहित विद्रोहको घोषणा गरे , प्रधानमन्त्रीलाइ सिंहदरवारवाट कठालो समातेर निकाल्ने भन्दै एमाओवादीका केही नेताहरुले भाषण पनि गरे । तर अन्तमा प्रचण्डले आफ्नो कथित विद्रोह सडकमा फिल्मी नायिका संग आफै नाचेर टुंग्याए । जबकी प्रचण्डले त्यो वेला सबै हतियार बुझाइ सकेका थिएनन् , लडाकु समायोजन पनि भएको थिएन , संविधानसभामा एमाओवादी ठुलो दल नै थियो ।


पार्टी वाहिर मात्र होइन कि पार्टी भित्र पनि प्रचण्डले चिसै पानीले नुहाउन वाध्य बन्न थालेकाछन् । बैद्य , वावुराम , वादल र नारायणकाजीलाइ आपसमा लडाउदै र खेलाउदै नेतृत्व कब्जा गरेर वसेका प्रचण्ड धोवीधाट गठबन्धन पछि पार्टी भित्री संघर्षमा पनि नराम्रो संग पछारिए । फलस्वरुप प्रचण्डको दोश्रो पल्ट प्रधानमन्त्री हुने सपना तुहियो र वावुराम प्रधानमन्त्री बने । अहिले आएर वावुरामलाइ नेतृत्व हस्तान्तरण गर्छु भनेर चिसो पानीले नुहाउन वाध्य भए । जबकी कुनैबेला प्रचण्डले वावुरामलाइ गिरफ्तार गरेर राखेका थिए र झण्डै मारेका थिए ।

संविधानसभाको दोश्रो चुनाव पछि जब एमाओवादीको लज्जास्पद पराजय भयो ,त्यो बेला पनि प्रचण्डले चुनावमा धांधली भएको भन्दै ठुलो कोलाहल मच्चाएका थिए । संविधानसभाको वहिष्कार गर्ने धम्की पनि दिएकै थिए । तर प्रचण्ड अन्तमा घुंडा टेकेर चिसो पानीले नुहाएर पजेरो चढेर संविधानसभामा गए ।

अहिले प्रचण्डले ठुला धम्की दिएकाछन् । यो उनको यस चरणको अन्तिम धम्की हो , अन्तिम उपाय पनि हो । एमाले कांग्रेशले दुई उपाय वाट प्रचण्डलाइ तह लगाउन सक्छन् — फकाएर वा थकाएर । फकाएर भन्नुको अर्थ प्रचण्डलाइ एमालेमा विलिन गराएर पार्टी एकता गर्ने र उनलाइ राष्ट्रपति बनाइदिने , किनभने जातीवाद भन्दा वाहेक नमिलेको कुरा कमै छ अब , यसका लागी प्रचण्डले जातीवाद छोड्नु पर्नेछ । अर्को तरिका भनेको प्रचण्डलाइ आन्दोलन गर्न दिने र आन्दोलनमा सरकारले दमन पटक्कै नगरि थकाउन दिने । तर प्रचण्डकै बुद्धि लिएर ढुंगामुढा गरेर प्रचण्डलाइ ठिक गरिन्छ भन्ने उपाय अपनाउन थाल्यो भने एमाले कांग्रेशले पनि ठुलो मुल्य चुक्ता गर्नु पर्ने हुनसक्छ । अर्को उपाय भनेको जसको नीति अन्तरगत आन्दोलन र असन्तोष चलिरहेको छ उसै संग वार्ता गरेर लेनादेना गर्ने अर्थात मधेशको समस्या वारे प्रचण्ड संग होइन कि मधेशवादी दलहरु संगै वार्ता गर्ने र जनजाती समस्या वारे जनजाती नेताहरु संगै वार्ता गर्ने र लेनादेना गरेर संविधान वनाउने । किनभने ती दुबै मागहरु प्रचण्डका होइनन्, प्रचण्ड त उनीहरुको शरणमा परेका मात्र हुन् अथवा उनीहरुलाइ उपयोग गर्न खोजेका मात्र हुन् आफु सत्तामा जानका लागी ।
स्रोत: दृष्टि साप्ताहिक