अमेरिकामा आईफोनको रुख कतै भेटिएन साथी (साथीलाई चिठ्ठी ) - सरगम भट्टराई


               




आत्मीय साथी उत्सव,
मुटु भरिको संझना।

कस्तो छ तिमीलाई? आशा गर्छु ठिकै छौ। अनलाईनमा हेरेँ, धेरै दिनसम्म देख्न सकिन, त्यसैले यो पत्र लेख्न तम्सेँ।

अमेरिकाको ब्यस्त ज़िन्दगीबाट समय बचाएर तिमीलाई यो चिठ्ठी लेखिरहेको छु, आशा छ सरोकार राख्ने सबैलाई सुनाईदिने छौ।

ए साँच्चै! आफ्नो जन्मथलो नेपाल छाडेर अमेरिका भाँसिएको पनि एक बर्ष भई पो सकेछ हगि! यो एक बर्षमा तिमीले पठाएका सन्देशहरुको ब्यस्तताका बावजूद समयमा जवाफ फर्काउन नपाएपनि तिमीलाई सधै मिस गरिरहेको छु।अन्यथा नसम्झनू ल।

तिमीले पढ्यौ पढेनौ, सुन्यौ सुनेनौ? सपनाको देश अमेरिकाबाट हामीले के सिक्ने र के पछ्याउने?
सपनाको किनमेल गर्न अमेरिका भासिएपछि सबै सन्दर्भहरु समेटेर यो चिट्ठी लेख्दैछु। केहि मेरा र केहि मेरो जस्तै मनहरुका अनुभवको फ़ेहरिस्त तयार गर्दैछु।

मैले भुलेको छैन, मेरो अमेरिकाको भिसा लागेपछि मेरो हातमा भएको मोबाईलको अपेक्षा गर्नेहरुलाई मैले जवाफ दिएको थिएँ: पुगेर काम पाएपछि आईफ़ोन-६ पठाईदिन्छु नि है!

ल्यापटप र क्यामेराहरुको लिष्ट पनि मेसेन्जरमा आईरहेकै छ।

 तर यहाँ आएपछि यत्रतत्र हेरेँ त्यो आईफोनको रुख कतै भेटिएन। बरु धेरै दुख र थोरै सुख रहेछ।अरुलाई त के आफैलाई फोन किन्न नसकेर त्यहि बिग्रेको मोबाईल फोन स्वीच अन अफ गर्दै चलाईरहेको छु।

एयरपोर्टको बाटो आएकाको भन्दा महिनौ लगाएर समुन्द्री बाटो हुँदै मेक्सिकोको मृत्युपथबाट अमेरिका छिर्नेहरुको कथा सुन्ने हो भने मुटु छिया छिया हुन्छ। जिन्दगीको साँचों अर्थ मलाई भन्दा उनीहरुलाई थाहा होला।

अमेरिका त आईयो तर थुप्रै चुनौतीका पहाडहरु चढ्नुपर्ने रहेछ।

नेपालमा सरकारी जागिरमा हाई काढेर समय बिताएर सेल्फी खिच्दै बस्नेले  यहाँ १०-१२ घन्टासम्म उभिएर रेष्टुरेन्टमा  जूठा भाँडा माझेको,हात फुटेर छियाछिया भएको, क्लिनिंगको काम गर्दै गरेको, शौचालय सफ़ा गरेको र मासु पसलमा बुचर बनेर मासु काटिरहेको फोटो फेसबुकमा अपलोड गरेको भए पो थाहा हुन्थ्यो अमेरिकाको जिन्दगी !

यहाँ धेरै जसोको जिन्दगी खेताला सरह हो हात खुट्टा चलुन्जेल पैसा नत्र हुँदैन। अंग्रेजी नजान्नेहरुको त बिजोगै हुन्छ यहाँ।

तर केहि नेपालीहरुको मेहनत र लगनशीलताले राम्रो गरेका पनि छन है। त्यो देख्दा भने गर्व लाग्छ। यो काम राम्रो र यो नराम्रो भन्ने हुदैन यहाँ सबै कामको सम्मान हुन्छ अमेरिकामा।

जे होस फूलै फूलको बगैचाको छेवैमा खिचेको सेल्फी जस्तो छैन जिन्दगी यहाँ।

गाउँ घर, टोल छिमेकमा सबैले बा-आमालाई भन्दै होलान: छोरो अमेरिका छ के को दुख गरिरहन्छौ र? फेसबुकमा अपलोड गरेका फोटोहरुले राम्रै देखाईरहेका छन, अनि नभनून पनि कसरी?

छिमेकी भाइले अस्ति फोन गर्यो: गाउँको बाटो पिच हुने भो रे! गाउँका बिदेशमा भएका हरुले एक-एक महिनाको तलब सहयोग गर्नुपर्यो रे!

कति घन्टा काम गर्नुहुन्छ नि? मैले उत्तर दिएँ दिनको दश घन्टा।घन्टाको कति हुन्छ नि?
मैले उत्तर दिएँ: त्यहि त हो नि दश डलर।

ए त्यसो भए त महिनामा तीन सय घन्टा, दशले गुन्दा तीन हजार डलर। नेपाली रुपैया एक सय आठका दरले तीन लाख चौबिस हजार। भाइले ओठ टोके।

यस्तै हिशाब साथी भाइले घरमा पनि सुनाएकै होलान। घरमा तला थप्ने कुरा हुँदै थियो।बैनीलाई स्कूटी पनि नभई भा छैन रे।

अमेरिकामा पुगेको एक बर्ष भाछैन, फलानाले त एक करोड पर्ने कार किन्यो रे अमेरिकामा ! सिंगै घर भाडामा लिएको छ रे।आदि आदि।

यहाँ बिहान सबेरै काममा जानुपर्छ अनि राति आउँदा अबेर हुन्छ, सार्बजनिक सवारी सबै ठाउँमा नपुग्ने। अनि एक दुई हजार डलर दिए कार किन्न पाईने, बाँकी रकम किस्ताबन्दीमा बिना ब्याज। अनि किन्नै पर्यो। किनेँ पनि ।

कारको ईन्सटल्मेन्ट, कार ईन्स्योरेन्स, हेल्थ ईन्स्योरेन्स, लाईफ़ ईन्स्योरेन्स, फ्ल्याट रेन्ट,पार्किंग, वाई फाई, खानपिन र ग्याँस अनि ट्याक्समा क्यास खत्तम। उता नेपालमा घन्टा घन्टाको हिशाब भैरहेकै होला।

दुबई ,कतार,मलेशिया जाने दाजुभाईले पचास डिग्री सेन्टिग्रेडमा काम गरेर कमाएको पैसाको पनि यस्तै हिशाब निस्कन्छ भने अमेरिकाको त के कुरा?

यूरोपका धेरै देश र अष्ट्रेलिया, जापान तिरको कमाई र खर्च अनि ब्यस्तता पनि अमेरिका जस्तै त हो नि ! त्यहाँ छोरा छोरी भएकाले पनि त्यहि सोच्दै होलान ! फेसबुकमा अपलोड गरेका फोटोहरुमा ' ल ल मोज गर' भन्ने टिप्पणी देखेकै होवौला !

आज मलाई डा. रविन्द्र समीरले लेखेको ' मुस्कान' भन्ने लघुकथा झलझली याद आईरहेछ।


नेपाल हुँदाको सामाजिक जीवन यहाँ आएपछि कुवाको भ्यागुतो जुरुक्क उठ्यो काममा,दिनभरि काममा जोतियो, लखतरान पर्यो फ्ल्याटमा फर्केर फ्रिजमा राखेको तीन दिनको बासी तासी खायो सुत्यो...फेरि काममा हिड्यो.. क्रमश: उही दैनिकी।

अझ सानो बच्चा हुनेहरुको त एक्लैले खर्च धान्नुपर्दा गाह्रै हुन्छ, हुनत राज्यले केहि सहुलियत त दिन्छ तर त्यो सहयोग खर्चको अगाडि नगन्य नै हुन्छ।

परिबार छाडेर पढ्न आएकाहरु कुलत र दूर्ब्यशनमा फँसेर गोरी अघि पछि लगाई खुट्टा लर्खराएर हिडेकाहरुको कथा लेख्यो भने त झन कति लामो हुन्छ होला? यहाँको विकेण्डको रात्रि जीवन अनि बार र क्यासिनोको कथा पनि भो नलेखौं। उनिहरुका बा आमाले कति सपना बुनेका होलान ?

युरोप, अमेरिका ,अष्ट्रेलिया र जापान पढ्ने केटालाई छोरी दिन मरिहत्ते गर्ने छिमेकी काका काकीहरुले यहाँको सबै दृष्य देखे भने के जवाफ दिँदा हुन? हुनत अमेरिकामा के काम गर्नु हुन्छ बाबु भनेर त कसले सोध्या होला र? अमेरिका भन्ने बित्तिकै झिलीमिली हुन्छ सबैलाई ।

मेरै १० बर्षे भतिज ऋदमलाई ठूलो भएपछि के बन्छौ भनेर सोध्यो भने: अंकल जस्तै अमेरिका जान्छु भनेर उत्तर दिन्छ। तर यहाँको झिलीमिली भित्रको चुरो कुरो के थाहा उसलाई?

फेरि पनि मान्छेहरु अमेरिका छिरेको छिर्यै छन,केहि एयरपोर्ट त कोहि समुन्द्रको बाटो भएर। आफू गयो, मलाई यो गन्थन लेख्छ भनौंला! जनै छोएर भन्छु: मैले ढाँटेकै छैन।

हो, देशमा राजनीति गन्हायो, स्वाभिमान गन्हायो, बिदेशिनु अनिवार्य जस्तो भयो । तर राजनीतिमा राम्रा मान्छे आउने हो भने केहि समयमै कायापलट हुन्छ। अमेरिकाका गगनचुंबी महल भन्दा हाम्रै गाउँका डाँडा काँडाहरु सुन्दर छन।

साँच्चै नै यहाँ आन्दोलनले बाटो बन्द नभएको देख्दा, फेक्ट्री बन्द नभएको देख्दा, सबैलाई समान नियम लागु भएको देख्दा आफ्नो देश संझेर धुरु धुरु रुन मन लाग्छ।

सबै आफन्त, रमाईला डाँडा काँडा र सगरमाथा समेत बोकेर ल्याउन मिल्ने भए त स्वर्ग नै हो नि अमेरिका !

 तर के गर्नु चाडबाडमा एक्लै रुनुपर्दा पो मन अमिलो हुन्छ, तर डलरको मोहले भोलिपल्ट आँशु लुकाएर काममा जानुपर्छ। भएका आफन्त पनि काममै ब्यस्त हुनुपर्छ।

सबै कुरा एउटा सिष्टमले चल्ने, प्रबिधिमा अब्बल, नागरिकमा कर प्रतिको जागरण, जवाफदेहि राज्य आदि आदि कारणले होला नेपाल सहित बिष्वका कलाकार, पत्रकार र चाटुफकारहरु अमेरिका भासिएको भासियै छन।

तर अमेरिकामै पनि उल्लेख्य संख्यामा होमलेस हरु र बेरोजगारहरु छ्यास छ्यास्ती भेटिन्छन।

एउटा सानो काम बनाउन नेताहरुको दौरा समाउने हाम्रो बाध्यता सम्झदा कति दुख्छ कति मन ! देशले भ्रष्टाचारमा दिन प्रति दिन रेकर्ड राख्दा मन त कति भाँचिन्छ कति ! परदेशमा हुँदा देश झन धेरै दुख्दो रहेछ।

तर के गर्नु ! अमेरिका आउने नाममा भएको पुर्ख्यौली गैरी खेत बेचियो, अब खर्च त उठाउनै पर्यो। त्यसैले सकेजति गरेकै छु।

ए साँच्चै ! राजनीतिमा राम्रा मान्छे आए भने त देश बदलिन पनि कति समय लाग्ला र मित्र! बरु स्वच्छ छवि भएकालाई अघि लाए हुने नि।
तिमी हाम्रा हैन, राम्रा नेताको पछाडि लाग्नू है!

मलाई केहि समय पछि यो ग्रीनकार्ड त्यागेरै नेपाल आउने मन छ तर खोई यो ज़ंजीरबाट मुक्ति पाईने हो कि हैन!

लेख्दा लेख्दै गन्थन त लामो भएछ। जे होस नेपालमा बसेर सोँचे जस्तो होईन रहेछ अमेरिका। तर अमेरिकाकै शैलीको मेहनत, बिकास र प्रतिबद्दता हुने हो भने हाम्रै देश स्वर्ग हुने थियो, खै त्यो दिन कहिले आउने हो र ?

-सिकागो, अमेरिका

,