यस पटक म ‘खुल्ला पच्चिस’ भित्र उठ्दैछु -धनराज गुरुङ





 नेपाली कांग्रेसको १३ औं महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्यानल सहित चुनावी मैदानमा उत्रने भएका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यका आकांक्षीको सङ्ख्या अघिल्लो महाधिवेशनको तुलनामा यो महाधिवेशनमा वृद्धि भएको छ । पार्टीको नेतृत्व लिन भैरहेको हानाथाप, आगामी दिनमा कांग्रेसका नीति कार्यक्रम र उम्मेद्वारहरुको सङ्ख्या बढ्नुको कारण लगायतका विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुङसँग गरेको कुराकानी:

१३ औँ महाधिवेशनको तयारी कसरी अगाडि बढिरहेको छ ?
– नेपाली कांग्रेसको १३ औं महाधिवेशनले मुलुकको दिशा निर्देश गर्नुपर्छ । मुलुकको ‘रोडम्याप’ तय गर्न यो महाधिवेशन सफल हुनुपर्छ । यो मुलुकको समृद्धीसँग १३ औँ महाधिवेशन जोडिनु पर्छ । राजनीतिकरुपमा राजनीतिक स्थायित्व जोडिनु पर्छ । सामाजिकरुपमा सामाजिक रुपान्तरण जोडिनु पर्छ ।

यी तीन पक्ष महाधिवेशनमा जोडिन आवश्यक छ यदी यी कुराको खाका कोर्न सकिएन भने महाधिवेशन सफल हुँदैन । यो बहस महाधिवेशन केन्द्रित हुनुपर्छ । अहिले नेतृत्व चयनको कुरा पनि उठिरहेको छ । त्यो पनि महत्वपूर्ण कुरा हो । तर महाधिवेशनको दस्तावेज के हो भन्ने पनि महत्वपूर्ण कुरा हो । नेपाली जनताको निराशालाई आशामा बदल्न महाधिवेशन सफल हुनु पर्छ ।

महाधिवेशन पछि कांग्रेसका नीति कार्यक्रम राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका कस्तो हुनु पर्छ ?
– अब कांग्रेसको नीति जनसेवासँग जोडिन जरुरी छ । कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई अङ्गिकार गरी समयसापेक्ष बुझ्दै र बुझाउँदै जान आवश्यक छ भन्ने मलाई लाग्दछ । जसरी अहिले मुलुकमा ‘पहाडी भर्सेस मधेशी’, ‘मधेशी भर्सेस पहाडी’ गलत हल्ला फैलिरहेका छन् । त्यसलाई कांग्रेसले रोक्न सक्नु पर्छ ।

विविध जातजाति भएको हाम्रो देशमा तब मात्र राष्ट्रियता बलियो हुन्छ, जब हामीले सबै जातजाति, धर्म लिङ्गको समस्याको साझा समाधान खोज्न सक्छौँ । हामी सबैको साझा भावना जब जागृत हुन्छ त्यो नै बलियो राष्ट्रियताको आधार हो । त्यसकारणले सबै नेपालीहरुमा साझा भावना जागृत गराउने कार्यमा कांग्रेस अघि बढ्न जरुरी छ ।


नयाँ संविधान जारी भएपछि शुरु भएको मधेश आन्दोलन अहिले पनि पूर्णरुपमा समाधान भैसकेको छैन, महाधिवेशन पछि आउने कांग्रेसको नेतृत्वले यसलाई समाधान गर्न सक्छ ?
– १३ औँ महाधिवेशनले अनुमोदन गर्ने नीतिले मधेशलाई कति छुन्छ, कति सम्बोधन गर्छ, त्यसले पनि समस्या समाधान हुने वा नहुने भन्ने कुराको निर्धारण गर्छ । त्यसकारणले मधेशलाई छुने खालको हाम्रो नीति आउने छ ।

त्यसो भयो भने मधेश शान्त हुन्छ र अहिले मधेशी मोर्चाले घोषणा गरेका कार्यक्रम पनि अघि नबढ्ने अवस्था आउन सक्छ । किनभने नेपाली कांग्रेस मुलुकको ठूलो दल हो । सबै क्षेत्र, वर्ग लिङ्गको मुद्दालाई यसले सम्बोधन गरेर अघि बढ्न चाहान्छ । त्यसरी नै अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ ।

तर महाधिवेशनमा नीति भन्दा पनि नेताकै बढी चर्चा सुन्न पाइन्छ नी ?
– गाँउ, नगर, क्षेत्र, जिल्ला र केन्द्रसम्म नै हामीहरु जो साथी भेटे पनि म फलानो उम्मेद्वार भनिरहेका छौँ । हाम्रो नीति र विचारमाथि बहसै नभएको चाहिँ होइन तर तुलानात्मकरुपमा कम बहस भएको हो । यो विचारको बहसलाई महाधिवेशनको क्रममा चल्न नसक्दो रहेछ भन्ने कुरा हामीले पटक–पटकको महाधिवेशनहरुबाट देख्दै आएका छौँ ।

मैले केन्द्रीय समितिको बैठकमा नीतिगत बहस चलाउनका लागि कांग्रेसले छुट्टै खालको संयन्त्र बनाउन पर्छ भनेर प्रस्ताव राखेको छु । जसरी केन्द्रमा महासमिति भन्ने छुट्टै संयन्त्र छ । त्यसरी नै अबको दिनमा केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र हुँदै गाउँसम्म छुट्टै परिषद् जस्तो संयन्त्र बनाउनु पर्छ ।

त्यो परिषद्को क्रममा जसरी महाधिवेशनमा कार्यतालिका बनाउछौँ त्यसरी नै मिति तोकेर नीतिगत छलफल गर्न हरेक वर्ष कार्यक्रमहरु गर्नु पर्छ । त्यसो गर्न सकेको खण्डमा कांग्रेसको नीतिको सन्दर्भमा बहसनै चलेन भन्ने जुन आरोप छ त्यो पुनः लाग्दैन ।

यो परिषद् गठनको लागि महाधिवेशनमै छलफल हुन्छ कि महाधिवेशन पछि महासमितिको बैठकमा छलफल हुन्छ ?
– महासमितिको बैठकमा यो कुराको छलफल हुन्छ । अहिले छलफल हुने अवस्था छैन । महाधिवेशनमा केन्द्रीय समितिबाट आएको नीति तथा कार्यक्रम, महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन माथि छलफल हुने छ । विधानमाथि पनि छलफल हुन्छ भन्ने मलाई लाग्छ । यी बाहेक अरु विषयमा छलफल हुने अवस्था छैन । त्यसकारणले १ बर्ष पछि बस्ने महासमिति बैठकले यो संयन्त्रको बारेमा म आफैँ यसलाई अघि बढाउने छु ।

अहिले युवा सहभागिताको विषयले पनि प्राथमिकता पाएको छ, कांग्रेसको केन्द्रीय समितिमा युवा सहभागिता किन आवश्यक छ ?
– युवामा केही न केही नयाँ दृष्टिकोण आउने ‘जेनेरेशन’का हिसाबले हरेक पछिल्लो पुस्ता अघिल्लो पुस्ताको तुलनामा ‘फास्ट’ हुने गर्छ । त्यसैले समय र ‘जेनेरेशन’ले प्रभाव पार्छ । युवा सहभागिताको कुरा उठ्नु स्वभाविक छ ।

यसलाई हामीले नकार्न हुँदैन । युवाहरुको जुन जोश जाँगर छ त्यसलाई हामीले बटुलेर पार्टी निर्माणका लागि खर्च गर्न सक्नु पर्दछ । तर यसो भनेर बृद्धहरुलाई राख्नै हुन्न भन्ने होइन । ‘बृद्धहरुलाई सम्मान युवालाई काम’ भन्ने तरिकाबाट अघि बढ्न जरुरी छ ।

पार्टीको नेतृत्व लिन दुईतीन खेमा कसरतमा लागेका छन् यसलाई कसरी हेर्नु भएको छ ?
– महाधिवेशन गुट अनुहार हेरेर भन्दा विचार, सिद्धान्त कार्यक्षमता हेरेर प्रतिनिधिहरुले नेताको मूल्याङ्कन गर्ने उचित मौका हो । अहिले नेतृत्वको दाबी गरिरहेका नेताहरुले विगतमा आफ्नो भूमिका कसरी निर्वाह गरेका छन् । कार्यकर्ताले पाँचपाँच बर्ष सम्म हेरेका छन् ।त्यसकारण यसलाई मूल्याङ्कन गर्ने बेला यही हो ।

यो गुट, त्यो उपगुट भन्नु भन्दा पनि मूल्याङ्कनको आधारमा मतदान गर्दा जसले जित्छ, त्यसले पार्टीको नेतृत्व लिन्छ । सबैले यसरी नै मतदान गर्नु पर्छ भन्ने मेरो मान्यता छ । कसैले कसैको आकांक्षा मार्न दिन हुँदैन । इच्छा हुनेहरुलाई लड्न दिनु पर्छ । एक जना मात्रै उम्मेद्वार बन्दा आकांक्षा भएकाहरु माथि अन्याय हुन्छ । कार्यकर्तालाई मूल्याङ्कन गर्न पनि दिनु पर्छ ।

पार्टीमा देखिएको ६०–४० को भागबण्डा महाधिवेशन पछि अन्त्य हुने सम्भावना कत्तिको छ ?
– भागबण्डाको अन्त्यका लागि महाधिवेशन राम्रो मौका हो । ‘सकेसम्म सर्वसम्वत नसके स्वच्छ निर्वाचन’ मार्फत नेतृत्व छान्नु पर्छ । हार्ने र जित्ने बीच भाग खोज्ने होइन कि जित्नेले सबैलाई समेटेर लैजाने र हार्नेले समर्पित भएर अघि बढ्ने । एक आपसमा मलाई भाग चाहियो भनेर भन्नु भन्दा समर्पित भएर अघि बढ्ने हो भने पार्टी र देशका लागि समर्पण त्यही हो भन्ने मलाई लाग्छ । कुनै पनि पार्टीमा अब दृष्टिकोण नभएको नेताको काम छैन ।

त्यसकारणले भाग खोज्नेहरुलाई म ‘दृष्टि भएको तर दृष्टिकोण नभएको’ नेता हो भन्छु । यो महाधिवेशनमा कुनै पनि नेतालाई कार्यकर्ताले ‘नो’ भन्छन भने त्यसलाई हामीले ‘नेक्स्ट अपरच्यूनिटी’ हो भन्ने बुझ्नु पर्छ । हार्नेहरुले महाधिवेशन सकिएको भोलिपल्ट देखि नै आगामि अवसर भन्ने सम्झेर पार्टीको काममा लागि हाल्नु पर्छ ।

भागबण्डाका कारणले समेत कांग्रेस केही कमजोर भएको हो भन्ने गरिन्छ । भागबण्डाको अन्त्य गरी थप बलियो कांग्रेस बनाउन यहाँहरुको भूमिका के रहन्छ ?
– मेरो पाँच बर्षे कार्यकालमा मैले कुनै नेताको अनुहार हेरेर बहस गरिनँ । मैले एजेण्डा हेरेर बहस गरेँ । मैले आफ्नो दृष्टिकोण राख्ने काम गरेँ । आगामी दिनमा पनि म अरु युवा साथीहरुलाई निवेदन गर्न चाहान्छु, हामी युवा पनि नेताको अनुहार हेरेर बहस गर्ने हो भने हामी युवा नै होइनौँ ।

त्यसो भएका कारणले केन्द्रमा हामीले युवा पुर्याउने भनेको पार्टीलाई बलियो बनाउनु र त्यो भनेको एजेण्डामा बहस चलाउने, विचारको गहिरो मन्थन गर्ने हो । त्यो संस्कार बसाउनका लागि युवाले तत्परता देखाउनु पर्छ ।

यहाँ पुनः केन्द्रीय सदस्यमा लड्दै हुनुहुन्छ तपाईँलाई महाधिवेशन प्रतिनिधिहरुले भोट हाल्ने आधारहरु चाहिँ केके हुन ?
– अघिल्लो पटक म जनजाति कोटाबाट उठेको थिएँ । यस पटक म ‘खुल्ला पच्चिस’ भित्र उठ्दैछु । आरक्षण कोटाबाट सधैँ एउटै व्यक्ति उठिराख्ने हो भने अरुले अवसर पाउँदैनन् । एउटै व्यक्ति आरक्षणकोटाबाट उठ्दा नयाँ नेतृत्व उत्पादन हुँदैन त्यसैले म खुला तर्फबाट उम्मेदवार बनेको हुँ ।

महाधिवेशन प्रतिनिधिहरुले मलाई हेरेर हैन, मैले विगतदेखि अहिलेसम्म बोकेको एजेण्डालाई हेरेर मतदान गर्ने हो । यो मुलुक जातीय विविधतायुक्त छ । संविधान निर्माणको क्रममा जातीय राज्य हुनुपर्छ भन्ने कुरा उठेको थियो त्यती खेर यसले जातीय द्वन्द्व जातीय हिंसा भड्कन्छ भनेर अडान लिएको थिएँ ।

सबै मिलेर अघि बढ्नु पर्छ भनेर मैले जसरी अडान लिएँ, त्यो नै मुलुकका लागि भूमिका हो भन्ने लाग्छ । पार्टीमा पनि मैले दर्जनौँ प्रस्तावहरु लगेको छु । पार्टीमा मैले आलोपालो सिष्टमको प्रस्ताव राखेको थिएँ । जुन प्रस्ताव बलियो कांग्रेस निर्माणका लागि उपयुक्त थियो तर त्यो पास हुन सकेन । अहिले मैले अर्को प्रस्ताव पनि राखेको छु ।

अब नेताको शालिक बनाएर संगठन विस्तार गर्ने कुरा छाडौँ । मेरो प्रस्तावको आशय नेताहरुलाई हेला गरौँ भन्ने पनि होइन । नेतालाई अर्कै तरिकाले सम्झौँ भन्ने हो । नेताको शालिक बनाउन ८–१० लाख खर्च हुन्छ । शालिक बनाउन लाग्ने रकम नेताको स्मृतिमा राज्यको पहुँच नपुगेको खानेपानी नपुगेको ठाँउमा लानुपर्छ ।

उदाहरणका लागी विपी स्मृती खानेपानी लगायतका ठाउँमा लगानी गर्ने हो भने संगठन आफैँ मजबुद हुन्छ । राजनीतिलाई अब समाजसेवासँग जोड्नु पर्छ । राजनीतिलाई अब खाली भाषणमा मात्र सिमित गर्नु हुँदैन जनसेवासँग पूर्णरुपमा जोड्नु पर्छ । यो कार्यको थालनी कांग्रेसले नै शुरु गुर्न पर्छ ।

१३ औँ महाधिवेशनमा उम्मेद्वारको सङ्ख्या बढ्ने देखिएको छ यसको कारण चाहिँ के हो ?
– यो महाधिवेशनमा उम्मेद्वारको सङ्ख्या बढ्नुका कारण लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्नु र समयमा भातृसंस्थाको महाधिवेशन हुन नसक्नु हो । पार्टीमा दशकौँ काम गरेका साथीहरु निस्कृय बस्न सक्नु हुन्न उहाँहरुले कहीँ न कहीँ भूमिका खोज्नु हुन्छ र खोज्नु पनि पर्छ ।

स्थानीय निकायको निर्वाचन र भातृसंस्थाको अधिवेशन हुन नसकेका कारणले पार्टीको महाधिवेशनमा उम्मेद्वारहरुको चाप बढ्ने अवस्था सिर्जना भएको हो ।
नयाँ पेज

,