प्रेमिकालाई सिन्दुर पोते लगाउन गएका प्रेमिको हत्या

बारा चैत, ५-बारा कलैयामा प्रेम सम्बन्धमा परेकै कारण एक युवकको ज्यान गएको छ । आफ्नी प्रेमिकालाई सिन्दुर पोते लगाउन प्रेमिकाको घर गएका बाराको कलैया नगरपालिका-६ का २६ वर्षका संतोष साहको हत्या भएका हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक विनोद शर्माले सन्तोषकी प्रेमिका सहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेपछि सन्तोषको हत्याको कारण खुलेको हो ।
प्रहरीले सन्तोषकी प्रेमिका कलैया-४ निवासी २० वर्षकी नीभा कुमारी जयसवाल, उनका बुबा शिवप्रसाद साह कलवार, आमा सुमित्रादेवी साह कलवार र भाइ कन्हैया कुमार साह कलवार पक्राउ गरेर  सार्वजनिक गरेको हो । निभा र संतोषबिच गएको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको र निभाका अभिभावकले उनको अर्कै केटासँग बिहे गर्नका लागि टिकाटालो गरेको थाहा पाएपछि गएको मंगलबार राति सिन्दुर र पोते लिएर निभासँग जबरजस्ती विवाह गर्न उनकोे घरमै पुगेका सन्तोषलाई निभाका परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ ।
निभाका परिवारले सन्तोषको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको र शव बुधबार दिनभर घरमै राखेर रातिको समयमा घर नजिकैको बकुल्ला घारीमा लगेर फालेको प्रहरी नायव उपरीक्षक शर्माले बताए । सन्तोषको शव प्रहरीले बिहीबार बिहान फेला पारेको थियो । पक्राउ परेका सन्तोषकी प्रेमिका सहित चारै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।
घटनाको अनुसन्धनमा राम्रो काम गरे बापत जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी चौकी बसपार्क कलैयाका प्रहरी नायव निरीक्षक रामलखन महतोलाई पुरस्कृत समेत गरेको छ । प्रहरी नायव उपरीक्षक शर्माले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षकहरु र अनुसन्धानका लागि सादा पोसाकमा खटिएका प्रहरीहरुको पनि प्रशंसा गरे ।