खुट्टा नकमाऊ बाबुराम ! बाटो फराकिलो छ

 


- सरगम भट्टराई

बाबुराम भट्टराईले मलाई ब्यक्तिगत रुपमा चिन्दैनन र म जस्ता कैयौ नेपाली युवाहरुलाई उनले चिन्दैनन र चिन्न सम्भव पनि छैन । तर युवाहरुको चासो र पासो चिन्न सके भने उनकै लागि राम्रो होला ।

तिनै बाबुराम हुन जस्ले म सोह्र बर्षको लक्का जवान हँदा २०५२ फागुन १ गते  चालिस बुँदे माग राखी शसस्त्र  आन्दोलनको उद्घोषण गरेका थिए । देशमा ब्याप्त बिकृति र बिसंगतिलाई जरै देखि फ्याक्ने प्रण गरेका थिए । समय अनुकुल भएको भए र केहि कुराहरुमा सुधार भएको भए म पनि जनयुद्दको एउटा हिस्सा हुने थिएँ ।

उनी र उनका सहयोद्दाले शुरु गरेको जनयुद्दले दिन दुगुना रात चौगुना आफ्ना शसस्त्र गतिविधि संचालन गर्यो । यस संगीन परिस्थितिमा सत्र हजार नेपाली दाजुभाइले ज्यान गुमाए । कैयौ घाईते भए । अझै कति मान्छेहरु जीवन मरणको दोसाँधमा छन । कति त बेपत्ता छन अझै पनि ।

दश बर्षको जनयुद्दले कसैको मनमा कहिल्यै संचो नहुने घाउ बनाएर गयो भने कसैलाई सधैको लागि संझनाको तरेलीमा झुन्ड्याएर गयो ।

अनाहकमा यति धेरै नेपालीको जीवनलीला समाप्त हुने गरि मन्चन गरिएको नाटक ' जनयुद्द' को हिंसात्मक कदमलाई मैले र मेरो सोंचको प्रतिनिधित्व गर्ने तप्काले कहिल्यै पनि समर्थन गर्ने छैन । तर देशले साँच्चै परिवर्तनको आभास गर्छ भने जे हुनु भैसक्यो अब त्यस्तो घटना कहिल्यै नदोहोरियोस भनेर नज़रअन्दाज़ गर्न तयार छु ।

म र मेरो तप्काको प्रतिनिधित्व गर्ने स्वतन्त्र मनहरुले पनि गणतन्त्र आगमन पश्चात त्यो बिर्सनै नसक्ने परिघटना चाहेर नचाहेर नज़रअन्दाज़ गरिरहेकै छन ।

त्यहि जनयुद्दको प्रमुख डिज़ाइनर बाबुरामजी संगठनको आन्तरिक लोकतन्त्रमा सधैभरि पछाडि पर्यो, अर्थात उ माथि आफ्नै सहयोद्दाहरुले पटक पटक कहिले घोषित त कहिले अघोषित नज़रबन्द गरिरहे । तर पनि दशकौं सम्म क्रान्ति र आन्दोलनलाई धोका हुने ठानेर पार्टी भित्रै अनवरत रुपमा खटिरह्यो भन्ने तपाईको तर्क सत्य हो भनेर जनताले पत्याएका छन किनकी राजनीतिमा फोहोरी खेल भईरहेकै छ अचेल ।

सर्बहारा बर्गको उथ्थानको ढोल पिटेर एमाओवादीका कैयौ नेता कार्यकर्ताहरुले बिताईरहेको राजकीय जीवनको बाबुरामले बिरोध गरेको पनि जनताले सुनेका छन ।

देशको अर्थमन्त्री हँदा आर्थिक क्रान्तिका कतिपय आधारहरुमा जनताले अनुभुति हुने गरि गरेको कामलाई जनताले भुलेका छैनन, काठमांडौको बाटो फराकिलो पार्ने शाहसिक काम गरेर जनताको मनमा फराकिलो ठाउँ पाउने पनि बाबुरामजी नै हुन ।

बिप्पा लगायतका संझौतामा पर्याप्त गृहकार्य नगरी हस्ताक्षर गरेको, मधेस आन्दोलनलाई काखी च्यापेको , संबिधान जारी गर्नैलाग्दा काठमांडौ छाडेर दशगजामा लम्पसार परेको, भारतपरस्त र 'रअ' को एजेन्ट जस्ता आरोपहरु लगाईँए पनि ती सबै आरोपहरुको सप्रमाण खण्डन गर्ने काम उनैले समय अनुसार गर्लान नगर्लान त्यो त समयले बताउला । कोहि पार्टी वा समूहले आफू बाँच्नकै लागि आलोचना गरिरहन्छ भने त्यो हतास मानसिकताको द्योतक हो ।

यद्यपि बाबुरामलाई देवत्वकरण गरिरहन पर्ने कुनै कारण छैन, किनकी उनका मनग्गे कमज़ोरी पनि छन।

अहिले चर्चामा रहेको नयाँ शक्तिको बारेमा बिभिन्न पंक्तिबाट उठाईएका आरोपहरु कतिपय कायर मनस्थितिका उपज हुन भने कतिपय निराधार समेत हुन भन्ने कुराको चिरफार गर्न नयाँ शक्तिवादीहरु सक्षम हुनुपर्छ। किनकि लोकतन्त्र पछिका दिनहरुका एक दशक जनताको लागि केहि गर्न नसकेका, भ्रष्टाचारमा लिप्त र अदूरदर्शि हनुमानहरुको बाहुल्यता भएका पार्टीहरुबाट परिवर्तनको संकेत नभएपछि नयाँ शक्तिको बिकल्प रहेन ।

यदि देश बदल्ने सच्चा भिजन लिएर कोहि संकल्प प्रस्ताव सहित आउछ भने जो कोहिलाई पनि जनताले अवसर दिनेछन भने बाबुराम त बिद्दता भएका मान्छे हुन । उनीसंग देश बदल्ने भिजन छ भन्ने कुरामा जनताको एउटा ठूलो हिस्सा बिश्वस्त छ ।

यद्यपि नयाँ शक्ति नाम मात्रको भयो भने एमाओवादीबाट बिद्रोह गरि आएका बाबुरामहरु फेरि कहिल्यै उठ्न सक्ने छैनन , उनीहरुलाई जनताले उठ्न दिने छैनन।  बिकासको स्पष्ट नयाँ मोडल, स्वच्छ ब्यक्तिको मात्र प्रवेश, भ्रष्टलाई निषेध, परिणाममुखी योजना र युवा परिचालनको खाकालाई जनताले बुझ्ने र बिश्वास हुने गरि अघि बढ़ेमा नयाँ शक्तिले नयाँ काम गर्न सक्छ।

त्यसैगरि नातावाद, भनसुन र कागजी भ्रष्टाचारको उन्मूलनको ग्यारेन्टी, उद्यम बिकासका मोडलहरु, शिक्षा, स्वास्थ्य र पर्यटन संबन्धि भिजन दिन सक्ने हो भने नेपाली जनताले अझै बाबुरामलाई बिश्वास गर्ने आधारहरु तयार हुन सक्छन।

तर त्यहि हो हिजो माओवादी जनयुद्दमा लुट्नकै लागि आवद्द भएर अकुत सम्पति कमाएका र कमाएको देखेका लोभिपापीहरुलाई संख्या बढाउनकै लागि हुल्यो भने नयाँ शक्तिलाई नयाँ बोतलमा पुरानै रक्सी भरे जस्तै हुने पक्का छ।

अहिले पनि नयाँ शक्तिमा लाग्न चाहनेहरु मध्ये धेरै जसो तिनै लोभिपापीहरु, चाटुफकारहरु र हनुमानहरु छन, जस्को उद्देश्य पद र क़दको आडमा लुट्ने र लुटाउने हो ।

बाबुरामजीले फेरि पनि जंगल पसेर शसस्त्र संघर्ष गर्ने कुरा गरेको भए, फेरि पनि ब्यक्तिहत्या र चन्दा आतंक मच्चाउने भनेको भए त्यो भन्दा निन्दनीय अरु हुने थिएन । तर शान्तिपूर्ण तरिकाले बिकास गर्छु भन्ने प्रण गर्छन भने किन जरो खनिरहने ?

बाबुराम एमाओवादी पार्टी बाहिर बस्दैमा शहिद, घाईते परिवार र बेपत्ताहरुको अपमान भयो भन्नु राजनैतिक परिपक्वताको आधार होईन । नयाँ शक्तिमा रहेर झन तिनीहरुको उत्थानमा नयाँ आयाम थप्न सक्नेछन । त्यसैले बाबुरामजी खुट्टा नकमाउनुस : बाटो फराकिलो छ । जनयुद्दको क्षतिको ब्याज त तपाईले तिर्नैपर्छ चाहे तपाई नयाँ शक्तिबाटै तिर्नुस ।

अन्त्यमा नयाँ शक्ति भित्र बिशेषज्ञ मात्र हुल्दैमा कायापलट हुदैन, दृढ़ इच्छाशक्ति भएका योग्य निष्कलंक युवाहरु भित्र्याउनुस परिवर्तन पक्कै हुन्छ, हाम्रै पालामा हुन्छ ।

जनताले फलानो पार्टीलाई जीवनभरि भोट गर्छु भनेर क़सम खाएका छैनन, हिम्मत गरेर राजनीतिमा भएका दुर्गन्ध हटाउनुस, कुरा हैन काम गरेर देखाउनुस, आफूलाई हैन जनतालाई केन्द्रबिन्दु बनांउनुस, जनताले तपाईहरुको ब्यबहार देखेर ढिलो चाँडो पत्याउनेछन । किनकी माउँ पार्टीहरु बूढा र थोत्रा भईसके ।

कुनै सिद्धान्तका ठेली अनुसार हैन एउटा उकालो चढ्नेसंग बाटोको महत्व सोध्नुस भने तुईनमा झुण्डिनेहरु संग पुलको  महत्व सोध्नुस । बलात्कृत नारी संग महिला अधिकारको कुरा सोध्नुस ।

त्यसै गरि बिदेशिएकाहरु संग देशको महत्व सोध्नुस, सरकारी निकम्मापनले काम नभएर हैरान भएकाहरु संग कर्मचारीहरुको भ्रष्टताको बारेमा सोध्नुस, घरको महत्व घरवार बिहीन भुकम्प पिडितहरु संग सोध्नुस , औषधिको महत्व डोल्पाको दुर्गम गाउँमा सिटामोल नपाएर मर्नेहरुको परिवारलाई सोध्नुस । खानाको महत्व सडकमा बस्ने असहायलाई सोध्नुस ।

सबैतिरबाट पिसिएका हामी नेपालीहरु आ- आफ्नो दु:ख र दर्दका बिशेषज्ञ छौ । त्यसैले बाबुरामजी अगाडि बढ्नुस बाटो फराकिलो छ । कुरा होईन काम गरेर देखाऊनुस । जनता तपाईंकै साथ छ । जनताले नै भन्नेछन अब के गर्ने ?
             
भृकुटी -६ कपिलवस्तु

,