देउवा जोखना हेर्दै, पौडेल र सिटौलाले पालैसँग घोषणा गर्ने

काठमाडौं फागुन,१९-बिहीबारदेखि सुरु हुने १३ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेसले जनाएको छ । काठमाडौंमा हुने महाधिवेशनका लागि देशभरबाट महाधिवेशन प्रतिनिधि आउने क्रम सुरु भइसकेको छ ।
महाधिवेशनको उद्घाटन खुलामञ्चमा र बन्दसत्र भने भृकुटीमण्डमा हुने कार्यक्रम छ । बिहीबार उद्घाटनकै दिन मनोनयन दर्ता हुने भएकाले नेताहरु उम्मेद्वारी घोषणाको अन्तिम तयारीमा जुटेका छन् । आगामी चार वर्षका लागि पार्टीको नेतृत्व गर्न संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समूहले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।
सहमतिको प्रयास सफल नभएपछि संस्थापन पक्षबाट कार्यबहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिको लागि उम्मेदवारी घोषणा गर्दैछन् । दुवैले बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर प्यानलसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् । देउवाले बिहीबार बिहानसम्म उम्मेदवारी घोषणा गर्ने तयारी छ । यसअघि नै उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका देउवाले संस्थापन पक्षलाई पर्खेर बस्नुभएको हो ।
संस्थापन पक्षको उम्मेदवारी घोषणा गर्दा असन्तुष्ट हुने नेतालाई आफ्नो पक्षमा पार्न उहाँले सबैभन्दा पछि घोषणा गर्न लाग्नुभएको उहाँ निकट एक नेताले बताए । तर संस्थापन पक्षबाटै दुई समूह हुने भएकाले गुट छाडेर देउवातर्फ जाने नेता अहिलेसम्म देखिएका छैनन् ।
त्यसो त उम्मेदवारी घोषणाको लागि देउवाले ज्योतिष साइत पर्खेर बसेको पनि एकथरी नेताको भनाई छ । तर उहाँ निकट नेताले भने ज्योतिषको साइत नभएर संस्थापन पक्षलाई मात्र पर्खेर बसेको बताए । पौडेल समूहबाट महामन्त्रीमा विपी पुत्र सशांक कोइरालाले उम्मेदवारी दिँदै छन । यस्तै युवा नेता गगन थापाले सिटौला समूहबाट महामन्त्रीको उम्मेदवारी दिने तयारी गर्नुभएको छ । देउवा पक्षबाट अर्जुननरसिंह केसीले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । कोषाध्यक्षको लागि भने तीनै समूहबाट नाम सार्वजनिक भइसकेको छैन ।

,