यात्रा (कविता) -दीपक विश्वकर्मा



यात्रा

अनौठा पात्र भेटिन्छन् यात्रामा
अनेक भाव, अनेक भङ्गिमा
अनेक सोँच र गन्तव्य बोकेका
आजको यात्रा कथा ढाक्रेको हुँदैन
न त पदेर्नीको नै हुन्छ
घाँस वा दाउराको भारी बोकेर
मालीगाईको पुच्छर निमोठ्दै
पसिना पुछ्दै उकालो चढ्ने
नत गोठालाको नै हुन्छ
तमोरको किनारै किनार
सुम्निमालाई अगाडि लगाएर
मधेश झर्ने वा
झुमालाई पिठ्युमा बोकेर
ब्रम्हापुत्र तर्ने बसाईको नै हुन्छ
क्षेत्रीको छोरो वा ल्याहासाको
भोटेको अजीव कहानी
मुनामदनको सेरोफेरोमा
न त उनिएर नै
आजको यात्रा कथा बन्दछ
समय निकै अगाडि पो लागेछ
हैन हो हाउ, पखेटा फैलाएर ।

रिजर्भेशन गरेकै हो इनटाइम
तर नि टिकट कन्फर्म भएन
लेकिन पर्सिसम्मको हो हाजिरी
साला बन्दले निस्कनै सकिएन
आजै हो उड्नु पर्ने क्यारम्
एयरपोर्ट जानै सकिएन
तीनदिन भो होटलमा बसेको
बेचियो जेथा र खर्च पु¥याइयो
गल्ला आजै लाग्ने हो कुणाघाटआँ
वा जल्यो नि हो हाउ मेरो त
बस जल्दा पासपोर्ट समेत
र यस्तै यस्तै र यस्तै ।

खलासीले सिट छ भन्यो
बसमा सिट थिए पनि
तर खाली थिएनन्
र म उभिएरै चुपचाप यात्रा गरे
चुपचापको पनि आफ्नै दर्शन छ
र छ आफ्नै लामो परिभाषा
भाडा बढिसकेछ,
यद्यपि तेल सस्तो भएको छ
यसको पनि आफ्नै शुत्र छ
यो शुत्र नानीको सेरेलेक
हुँदै किस्ताको बिटोसम्म पुगेको छ ।

अगिल्लो सिटमा बसेका थिए
गजदम्म एक सुकिला यात्री
मोवाइल खेलाउँदै थिए तन्मयभावमा
लिन्थे सेल्फी र मुसुक्क मुस्कुराउँथे
मानौ पुगे चुलीमा एभरेष्टको
मैले खुव गौर गरेँ
र खुट्याउन खोजेँ
ओहो मेरा पाठक पो परे उनि
जोडदार लाइक—कमेण्ट सहितका
खोइरो खन्छन् उनले मेरा रचना माथि
र सुझाव पस्किन्छन्—लम्बातान
बस झ्याप्प रोकियो साइड लाग्दै
र एक आमाछोरी हुलिए सकि नसकी
सायद आमा छोरी नै हुन्
हाउभाउले त्यस्तै भन्थ्यो
आमाको कुरो नगरौं
छोरीलाई चिनेचिने जस्तो लाग्यो
ओहो यिनै त हुन् उर्मिला
रिक्वेष्ट—एसेप्ट
लाइक—कमेण्टको फेरो मार्दै
इन्बक्स हुन पुगेकी
मैले मुन्टो बटारे
धन्नै आइ.यल.यू. सम्म पुगेको कुरो
मोवाइल री—चार्ज डिमाण्ड
र सेलको फेरोसम्म पुगिसक्दा
कुरो मोडियो र पो,
नत्र उनी पीडित बन्थिन वा
म पीडक बन्थे भन्न सकिदैन ।

आच्छा बस कहाँसम्म जाला ?
लेकिन खुटिया नै छैन जेवमा
यार सिन्की जस्तो खाँद्छ हो मुन्छेलाई
खालि पछाडि पठाम्च, झर्ने यहीँ हो
महिला सिट हो भाइ उठम्त
टासिनै नपाजस्तो अलि पर जाम्त
पाइलैपिछे यात्री
पाइलैपिछे स्टप
पाइलैपिछे गाली
पाइलैपिछे गुनासा
पाइलैपिछे कचकच
पाइलैपिछे अनेक कहानीहरु
यात्राकथाका नमुनाहरु
जोडिदै जानेछन् समयक्रममा ।
बुटवल, नेपाल