प्रधानमन्त्रीको चीन भ्रमणमा इन्धन खरिद सम्झौता के होला ?

काठमाडौं, चैत ५-भारत गएको ठ्याक्कै एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली उसैगरी जम्बो टोली लिएर ७ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँको चीन भ्रमणलाई पनि महत्वको साथ हेरिएको छ । चीनबाट यसअघि भनिएजस्तो इन्धन खरिद सम्झौता होला कि नहोला भन्न धेरैलाई चासो छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा तय गर्न बिहीबार साँझ मन्त्रिपरिषदको बैठक बसेको थियो । बैठकमा बिभिन्न एजेण्डाबारे छलफल भएपनि टुंगो लाग्न बाँकी रहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । शुक्रबारको बैठकमा सबै एजेण्डा टुंगो लगाउने तयारी छ । बिहीबारको बैठकमा चीनसँग पारवहन, खुला व्यापार, बैंकिङ सम्झौता गर्ने विषयमा छलफल भएको छ । यस्तै बैंकिङ कारोबार सहज बनाउन दुई देशका केन्द्रीय बैंकबीच सम्झौता गर्ने तयारी भएको हो । ग्यास भण्डारण, सडक विस्तार र निर्माणको विषयमा पनि चीनसँग सम्झौता गर्ने तयारी छ ।
व्यवसायिक रुपमा चीनबाट इन्धन खरिद सम्झौताबारे भने टुंगो लागिसकेको छैन । स्रोतका अनुसार अरु विषयमा सम्झौता भएपनि तत्काल इन्धन खरिदको सम्झौता भने नगरिने भएको छ । यसअघि चीनले दिएको अनुदानको तेल ल्याउन सडकका कारण अप्ठेरो भएकाले सडक स्तरोन्नति नगरेसम्म चीनबाट इन्धन ल्याउन नसकिने निष्कर्षमा सरकार पुगेको हो । चीन भने अहिल्यै इन्धन खरिदको सम्झौता गर्न तयार भैसकेको छ ।
गएको पुसमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा चीन भ्रमणमा जाँदा नेपाललाई आवश्यक पर्न एक तिहाई इन्धन चीनबाट खरिद गर्नेबारे दुई देशबीच हस्ताक्षर भएको थियो । प्रधानमन्त्रीको अहिले हुन लागेको चीन भ्रमणमा यसबारे सम्झौता हुने धेरैको विश्वास थियो । तर इन्धन खरिद गर्न सरकारले आँट गरिसकेको छैन ।