अायल निगमकै ट्यांकर र कर्मचारी कालोबजारमीमा !

काठमाडाैं, १७ चैत, नेपाल आयल निगमको ट्यांकरसहित ४ जना प्रहरी नियन्त्रणमा छन्। कालोबजारीमा संलग्न रहेको अारोपमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका ट्यांकर चालकसहित अन्यलाइ प्रहरीले अनुसन्धान सुरू गरेको छ।

ललितपुरको बज्रबाराही प्याङ गाउँको चौरमा ट्यांकर रोकेर इन्धन अर्को गाडीमा हालिरहेको अबस्थामा चापागाउँ प्रहरीले गएराति नियन्त्रणमा लिएको हो ।

गएराति साढे १२ बजे प्रहरीले लु अ क ५००० नम्बरको टाटा जिपमा बाह्रवटा ड्रममा ट्यांकरबाट खन्याइएको तीन हजार लिटर डिजेल बरामद गरिएको चापागाउँ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले टाटा जिप चालक दिपक घिमिरे, तेल लिने व्यक्ति काभ्रेका दिलबहादुर वाइवा र ना २ ख ६६९८ नम्बरको ट्यांकर चालक मकवानपुर थाहा नगरपालिकाका रामकुमार थोकर र बज्रबाराही ११ का रामकृष्ण बस्नेतलाई पक्राउ गरेको हो । उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
गएराति उक्त स्थानमा तेल झार्ने अर्का एक चालक ट्यांकरसहित फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।