‘एभरेस्ट : दि समिट अफ दि गड्स’ हेरेपछि जापानी युवराज नारुहितोले नेपालबारे चासो व्यक्त गरे



ह्याप्पी वन्धु "बिश्व" 
जापान 
जापानी युवराज नारुहितोले नेपालमा भूकम्पपछिको अवस्थाबारे चासो व्यक्त गरेका छन् । जापानी चलचित्र ‘एभरेस्ट : दि समिट अफ दि गड्स’ (सगरमाथा : देवीदेवताको शिखर) हेरेपछि टोकियोस्थित नेपाली कार्यवाहक राजदूत गेहेन्द्रराज भण्डारीलाई भेटेरै सोधे, ‘भूकम्पले भत्काएको संरचना र पुनर्निर्माणको स्थिति कस्तो छ ?’

उनले महाभूकम्पको विनाशप्रति दु:ख व्यक्त गर्दै ‘सुन्दर मुलुक नेपाललाई परेको विपतमा सहयोग गर्न जापान नचुक्ने’ शुभेच्छासमेत प्रकट गरे ।

चलचित्र हेर्न युवराज नारुहितो, युवराज्ञी मासाको ओवादा र राजकुमारी आइको पनि उपस्थित थिए । सगरमाथा आधार शिविर र आसपास छायांकन गरिएको उक्त फिल्म जापानको प्रख्यात उपन्यास ‘कामिगामी नो इटाडाकी’ अर्थात् देवीदेवताको चुचुराको कथामा आधारित छ । जापानका प्रसिद्ध उपन्यासकार बाकु युमेमाकुराले यसलाई लेखेका हुन् । जापानी आरोहीको संघर्षपूर्ण सगरमाथा आरोहणलाई रोचक ढंगले प्रस्तुत गरिएको उक्त सिनेमा जापानमा यसै साता हलहरूमा लाग्नेछ ।


व्यावसायिक प्रदर्शनअघि नेपालका भूकम्पपीडितको सहयोगार्थ टोकियोको रोपोन्जी हिल्जमा प्रिमिअर शो गरिएको हो । हरेक हलमा पुग्दा उक्त सिनेमा निर्माण टोलीले आफ्ना दर्शकलाई पहिले नेपालबारे जानकारी दिएर फिल्म आरम्भ गर्ने त्यसका निर्देशक तथा कलाकारले जानकारी दिए । जापानीले पाँच हजार मिटरभन्दा माथि छायांकन गरेको यो पहिलो चलचित्र भएकोसमेत उनीहरूको भनाइ छ ।

चलचित्र हेरेपछि युवराज नारुहितोले ३ दशकअघि आफूले नेपाल भ्रमण गरेको क्षण स्मरण गराएको कार्यवाहक राजदूत भण्डारीलाई बताए । ‘उहाँले नेपाललाई सहयोग गर्न जापानी नागरिक कहिल्यै पछि नपर्ने विश्वास दिलाउनुभयो,’ भण्डारीले भने ।नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै उनले सन् १९८७ मा गरेको नेपाल भ्रमण झझल्कोमा आएको स्मरण गरे ।

नारुहितोले त्यतिबेला काठमाडौं, भक्तपुर र पोखराका विभिन्न क्षेत्रमा खिचेका श्यामश्वेत तस्बिर अझै सुरक्षित रहेको सुनाए । दुई देशबीच निकै पुरानो र घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै उनले जिज्ञासा राखे, ‘सुन्दर मुलुक नेपालले आफ्नो विकास कस्तो गरिरहेको छ ?’ नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको यसपालि ६० औं वर्षगाँठ मनाइँदैछ । दुवै मुलुकमा यससम्बन्धी वर्षैभरि कार्यक्रम छन् ।

चलचित्र प्रदर्शनका क्रममा निर्माता, निर्देशक र कलाकारले आहवान गरे, ‘नेपालीमाथि ठूलो विपत्ति आएको छ, सबैले खुलेर सहयोग गरौं । नेपाल भ्रमण गरेर सौन्दर्यको मज्जा लिऔं ।’ महाभूकम्पपछि सबैभन्दा धेरै राहत सहयोग जापानमै जुटेको थियो । जापानी सर्वसाधारण, व्यापारी र कर्मचारीले सहयोग गरेका थिए ।

चलचित्रका निर्देशक हिदेयुकी हिरायामा र मुख्य भूमिकामा रहेका नायक जुनिची ओकादा जापानका प्रख्यात निर्देशक र कलाकार हुन् । उनीहरूले सिनेमा देखाउनुअघि नेपालमा बिताएका पल र अनुभवसमेत प्रस्तुत गरेका थिए । नेपालमा महाभूकम्प जानुभन्दा तीन दिनअघि मात्र उनीहरू फर्किएका थिए । उक्त चलचित्र नेपालमा ३ महिना छायांकन गरिएको थियो ।
युवराजले भण्डारीसँग नेपालको अवस्थाबारे समेत सोधेका थिए ।

कार्यवाहक राजदूत भण्डारीले नेपालप्रति देखाएको सद्भावका लागि आभार प्रकट गर्दै पुन: भ्रमणका लागि आग्रह गरेको बताए । जापानी युवराजले दुई घण्टाको चलचित्र पूरै हेरेका थिए । त्यसपछि करिब आधा घण्टा कार्यवाहक राजदूत र चलचित्र निर्माण समूहसँग बिताएका थिए । उक्त कार्यक्रममा युवराजले नेपालप्रति राखेको चासोलाई संसारकै सर्वाधिक बिक्री हुने जापानी पत्रिका ‘आसाई सिम्बुन’ ले प्रमुखतासाथ छापेको कान्तिपुरले लेखेको छ |