फुटे केही हुँदैन, जुटे के हुँदैन ?




- ब्रजेश
एकाबिहानै एक सज्जन आफ्नो कुकुरलाई लिएर सडकमा हिँडिरहेका थिए । बेस्मारी भुत्ला भएको कुकुरलाई पनि उनले बाक्लो न्यानो लुगाले बेरेका थिए । एकातिर घरमा पालेको जनावरप्रति संवेदनशील आममानिस छन् अनि अर्कोतिर तिनैले चुनेर पठाएका प्रतिनिधिको सरकार छ । त्यो सरकार, जसले भूकम्पपीडित जिल्लामा त्रिपाल र टिनमुनि बसेका जनता देख्न सकेको छैन ।

असह्य चिसो खप्न नसकेर यो पंक्ति लेखुन्जेल आठ जनाको ज्यान गइसकेको छ, थुप्रै अरू बिरामी परिरहेका छन् । कसैले यसका लागि जिम्मेवारी लिए पनि नलिए पनि यी मानिसको सामूहिक हत्याको पाप तथाकथित सरकारलाई लाग्नेछ । उसलाई ती मानिस कति कष्टकर चिसा रात बिताइरहेका होलान् भन्ने मतलब पनि छैन । बूढाबूढी, केटाकेटी, अशक्त बिरामी र सुत्केरीलाई त झन् यो जाडो कति पीडादायी भइरहेको होला भन्ने कुरा सरकारले कहाँ बुझ्न सक्छ र ? पुन:निर्माण विधेयकलाई समेत आफ्ना कुत्सित स्वार्थका लागि उनीहरू लुछाचुँडीमा छन् ।

वैशाखमा गएको विध्वंशकारी भुइँचालोले घरबार भत्किएका मानिसका लागि यो मात्र होइन, पटक–पटक बनेका कुनै सरकारलाई चासो भएन । सात महिनापछि जाडोको याम आउँछ र नौ महिनामा त त्यसको चरम हुन्छ भन्ने उनीहरूलाई थाहा भएन । धिक्कार उनीहरूको सामान्य ज्ञान !

नौ महिना लामो समयमा आधारभूत तयारीसम्म गर्न नसक्नेहरू देश चलाइरहेका छन् । देश चलाउनेहरू मानिस होइन, गैँडा हुँदा रहेछन्, जसलाई न जाडो हुन्छ, न गर्मी । न त उनीहरूलाई बाढीपहिरो आउँछ । उनीहरूका घर, कार्यालय र कान तताउनका लागि कुनै कुराको अभाव हुँदैन । अगाडि–पछाडि मोटरका लस्कर लिएर हिँडडुल गर्न उनीहरूलाई इन्धनको अभाव पनि हुँदैन । केही रात चिसो आकाशमुनि सेल्टिन नपरेसम्म उनीहरूले कसरी बुझून् ती मानिसका पीडा ? त्यसैले यी गैँडा कानमा तेल हालेर बसेका छन् ।
तराईमा आगो बलिरहेको छ, टायर, मोटरसाइकल, ट्रक, बस, प्रहरी चौकी र सरकारी भवन त्यो आगोमा दन्किरहेका छन् । अपशोच ! त्यो आगोको राप गोरखा र सिन्धुपाल्चोकसम्म पुग्न सक्दैन । पुग्ने भइदिए त त्यसको न्यानोले पनि ती मानिसलाई अलिकति सहज हुन्थ्यो होला । विद्यालय जानुपर्ने कलिला विद्यार्थी आन्दोलनका नाममा ढुंगामुढा गरिरहेका छन् । मसी लतपतिनुपर्ने हात ढुंगाको रातो र टायरको कालोले पोतिइरहेका छन् । सिर्जना रोपिनु पर्ने मलिलो मगजमा विध्वंशको बीजारोपण भइरहेको छ ।

ससाना केटाकेटी प्रहरीमाथि जाइलागिरहेका दृश्य देख्दा मन एकतमासको भएर आउँछ । प्रहरी गोली चलाइरहेछ । गोलीले न दिशा चिन्छ, न मानिस देख्छ, न उमेर खुट्याउन सक्छ । यो कस्तो दीर्घकालीन वैमनष्यता रोपिरहेका छौँ हामी ? सम्बन्धहरूमा धाँजा फटाउन तुरुन्तै सकिन्छ तर तिनलाई पुर्न पुस्तौँ लाग्छ ।

जाडो सुरु हुनुअघि कतै पढ्न पाइएको थियो, यसपटक पहिलेको तुलनामा कम चिसो हुन्छ रे ! भूकम्पको मार र नाकाबन्दीका कारण चौतर्फी अभावले ढाड सेकिरहेको समयमा त्यो पढ्दा केही मात्रामा भए पनि मानिस खुसी भएका थिए । हुनेबेलामा चाहिँ त्यसको विपरीत यसपटक झनै बढी चिसो पो भइदियो । साँच्चै केही दिनयता चिसो ह्वात्तै बढेको छ । पुसको मौसम हो, चिसो बढ्नु स्वाभाविक मान्नुपर्छ । तर, मानिस–मानिसका सम्बन्धमा त्यसभन्दा बढी चिसो बढेको छ । यो चाहिँ अस्वाभाविक हो ।

सद्भावका लागि चिनिने हामी नेपाली आज नजानिँदो पाराले विभाजित छौँ । आफ् ना स्वार्थका लागि मात्र राजनीति गर्नेहरू हामीलाई टुक्र्याएर, लडाएर र फुटाएर भए पनि आफ्ना अभीष्ट पूरा गर्न लागेका छन् । हुन त यो शासकहरूको सदियौँ पुरानो फर्मुला हो, विभाजन र राज । कहिले धर्मका नाममा, कहिले जातका नाममा, कहिले वाद, रंग, भूगोललगायत कुनै पनि नाममा हामीलाई सधँ फुटाइन्छ र हामीमाथि राज गरिन्छ । ज्ञानलाई गलत रूपमा व्याख्या गरिन्छ, हामीलाई भ्रमित बनाइन्छ अनि हामीमाथि राज गरिन्छ । हामी जुट्यौँ भने हामीलाई उल्लु बनाउन सकिन्न भन्ने कुरा हरेक शक्तिका पुजारीले बुझेका हुन्छन् ।

आजको आवश्यकता भनेको हामी आफूआफूले नै एकअर्कालाई सहयोग गर्नु हो । सानातिना स्वार्थलाई भुलेर हामी नै एकअर्काका लागि उपयोगी हुनुपर्ने बेला हो यो । तराई र पहाडमा अरू मानिसलाई अकाल मर्न नदिन अब हामीले नै आफ्ना तर्फबाट सकेजति गर्ने बेला हो यो । किनभने, हाम्रो देशको कुनै पनि नेतृत्वले पदलोलुपता, भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनभन्दा बढी कुनै कुरा देखेको विगतमा पनि थिएन, अहिले पनि छैन र भविष्यमा पनि देख्ने छैन ।

(ब्रजेशको यो लेख नेपाल साप्ताहिकबाट साभार गरिएको हो |)