ट्वेन्टी–ट्वेन्टी विश्वकप : न्युजिल्याण्ड सेमिफाइलनमा पुग्ने पहिलो टिम, पाकिस्तान पराजित

एजेन्सी चैत, १०-न्युजिल्याण्ड भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइलनमा पुग्ने पहिलो टिम बनेको छ ।
लगातार तेस्रो जित दर्ता गर्दै न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । मंगलबार राति मोहालीमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हरायो ।  न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका शरजिल खानले ४७, अहमेद सेहजादले ३०, उमर अकमलले २४, शाहिद अफ्रिदीले १९ तथा शोएब मलिकले नटआउट १५ रन बनाएपनि हार टार्न सकेनन् । न्युजिल्याण्डका मिचेल सन्टनर र एडम मिल्नेले समान दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पाँच विकेटको क्षतिमा एक सय ८० रन बनायो । उसका लागि मार्टिन गुप्टिलले ४८ बलमा १० चौका र तीन छक्काको मद्दतमा ८० रन बनाए । यस्तै रोस टेलरले २३ बलमा नटआउट ३६, कोरी एण्डरसनले २१ तथा केन विलियम्सनले १७ रन बनाए । पाकिस्तानका मोहम्मद सामी र शाहिद अफ्रिदीले समान दुई दुई विकेट लिए । पाकिस्तान अहिलेसम्म खेलेका तीन खेलमा एकमा मात्रै विजयी भएको छ । बंगलादेशलाई हराएको पाकिस्तान भारत र न्युजिल्याण्डसँग पराजित भयो । न्युजिल्याण्ड भने अहिलेसम्म खेलेका सबै खेलमा विजयी भएको छ ।