पौडेलको टिममा शशांक महामन्त्री, प्रकाशमान र रामशरणको साथ




काठमाडौँ, मार्च २ |

नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले पार्टी सभापतिका लागि औपचारिक रूपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। पौडेलको टीमबाट महामन्त्रीमा शशांक कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन्। दुबैको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा राम शरण महत छन्।

उम्मेद्वारी घोषणापछि पौडेलले उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै नयाँ नेतृत्वका लागि आफू नै पहिलो रोजाई भएको ठोकुवा गरे । "कार्यकर्ताहरुलाई राम्ररी थाहा छ की कांग्रेसको नेतृत्व कसले गर्न सक्छ भनेर | कांग्रेसको सभापति हुनका लागि केहिबेरको दौडधुपले हुदैन | त्याग, तपस्या र योगदान अनि अविचलित इतिहास पनि चाहिन्छ|"

पार्टी भित्र एकता र सुद्धिकरणको आवश्यकता एकसाथ रहेको औल्याउँदै पौडेलले भने,‘ विपी र गणेशमान पुत्र मेरै साथमा छन् भने कांग्रेसको मुलधार के रहेछ?’

"सबैलाई समेट्न खोजेको छु | अन्तिमसम्ममा धेरैको समर्थन पाउने छु | बिचलनमा नपर्न साथिहरुलाई आग्रह गर्दछु |" पौडेलले भने |

‘हिमाल पहाड तराई मिलेर नयाँ सम्पदा निर्माण हुँदैछ। त्यसको नेतृत्व मैले गर्छु,’  पौडेलले भने |

महामन्त्रीका उम्मेद्वार सशांक कोइरालाले पनि देखिएका नेता मध्ये रामचन्द्र नै सबैका साझा मिलनबिन्दु हुने ठानेर आफुहरुले समर्थन गरेको बताएका थिए |

"पार्टी चलाउन तीन वटा कुरा चाहिन्छ। नीति, नेतृत्व र संगठन। यसका लागि पौडेल सबै कुरामा पूर्ण हुनुहुन्छ। उहाँबाहेक अरूमा यो गुण छैन। त्यो सबै पार्टी हाँक्न सक्ने क्षमता पौडेलसँगै छ। उहाँले नै अब कांग्रेस हाँक्ने हो।" शशांकले भने |

पौडेलका प्रस्तावक नेता प्रकाशमान सिंहले पौडेलले कांग्रेसलाई एक ढिक्का बनाउने कुरामा आफु विश्वस्त रहेको विचार ब्यक्त गरे |

, ,