चार दिनदेखि जाजरकोटमा विद्युत सेवा अवरुद्ध

जाजरकोट चैत, ५-जाजरकोट सदरमुकाम खलंगामा ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।  विद्युत आपूर्ति गदै आएको साङ्टारिसाङ्ग लद्यु जलविद्युत आयोजनाको नहर मर्मत तथा  केही उपकरण जलेका कारण चार दिनदेखि विद्युत आपूर्ति सेवा बन्द भएको हो । सेवा बन्द हुँदा उपभोक्ता मर्कामा परेका छन् ।
विद्युत सेवा बन्द हुँदा जिल्लामा सञ्चालित एफ एम रेडियो पनि प्रभावित भएका छन् । तीन मध्ये २ वटा रेडियो बन्द भएका छन् भने छापाखाना र प्रेसहरुको कामकाज ठप्प भएको छ ।
यस्तै एसएलसी दिने तयारीमा रहेका विद्यार्थी समेत मर्कामा परेका छन् । नजिकिदै गरेको एसएलसी परिक्षाको तयारीमा रहेका विद्यार्थी विद्युत नहुँदा समस्यामा परेका हुन् । एसएलसीको तयारीका लागि टिउसन पढ्न गाउँबाट सदरमुकाम पुगेका विद्यार्थी विद्युत समस्या भएपछि मर्कामा परेका छन् ।
विद्युत उत्पादन गृहको केहि समान जलेको र नहरको नियमित मर्मत सुधारको काम भइरहेकोले विद्युत सेवा बन्द गरिएको साङ्टारिसाङ्ग लद्यु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद शर्माले जानकारी दिए। जलेर नष्ट भएको समान आइ नपुगेको र नहरको सम्पूर्ण भाग मर्मत गर्नु पर्ने भएकोले विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने शर्माले बताए ।