सभापतिलाई पूर्ण सहयोग गर्नेछु -रामचन्द्र पौडेल

नेपाली कांग्रेसका  नेता  रामचन्द्र  पौडेलले कांग्रेस पार्टीलाई चरम गुटबन्दीबाट मुक्त पार्दै एकताबद्ध बनाएर लैजाने आफ्नो उद्देश्य रहेको बताएका छन्। उनले गुटबन्दी कुनै पनि प्रजातान्त्रिक पार्टीमा हुने भएपनि चरम गुटबन्दीको अन्त्य गर्न आफूले भूमिका खेल्ने बताए।

प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले प्रजातन्त्रमा जीतहार हुने भएकाले स्वभाविक भएको प्रतिक्रिया दिए। सरकारमा जाने मनस्थितिमा नरहेको प्रष्ट्याउँदै पौडेलले केही समय कांग्रेसले धैर्य गर्नसक्ने सङ्केत गरे।

'पार्टीलाई पूरापुर सहयोग हुन्छ, पार्टीलाई एकताबद्ध बनाएर लैजाने मेरो उद्देश्य हो' पौडेलले भने, 'पार्टी बलियो भए मात्रै आफू बलियो हुने मेरो मान्यता हो, अब पार्टीलाई अझै बलियो बनाउन मेरो पूर्ण सहयोग हुन्छ।'

पारिवारिक कामका सिलसिलामा चितवन आएका उनले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियाका विषयमा सुनुवाइ समिति नै छैन भनेर प्रधानमन्त्रीले संवैधानिक निकायमा नियुक्ति रोक्न नहुने बताए। 'पुरानो सुनुवाइ समिति थियो, नयाँ समिति बनाउन त निर्वाचनमा नै जानुपर्छ, त्यतिञ्जेल समिति छैन भनेर रोक्नु हुँदैन,' उनले भने। रासस