‘कांग्रेसका अगाडि चुनौतीका पहाड’ - डा. शशाङ्क कोइराला



काठमाडौँः नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा. शशाङ्क कोइरालाले विज्ञप्ति जारी गरेका छन् । उनले पार्टीमा तरुणको जोश, जाँगर र क्रियाशीलता कांग्रेसको प्रेरणास्रोत भएको बताए ।

कांग्रेसको काँधमा गहन जिम्मेवारी र चुनौती रहेको बताउँदै उनले सहमति, सहकार्य, समझदारीको आवश्यक्ता रहेको बताए । विज्ञप्तिमा उनले आपसी विश्वासको मेलमिलापबाट मधेस समस्या समाधान गर्न काँग्रेस कृतसङ्ल्पित रहेको उल्लेख गरेका छन् । बुधबार राजधानीमा विज्ञप्ति प्रकाशित गर्दै प्रजातन्त्रको मुहान मधेसमा असन्तुष्टी रहेको छ उल्लेख गरे ।

विज्ञप्तिमा भनिएको छ– ‘आजको परिहार्यता राष्ट्रियता, प्रजातन्त्र, प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय हो । यही जगमा टेकेर राष्ट्रिय एकता, मेलमिलाप, समन्वय, सहकार्य, समझदारी, सामाजिक सद्भाव, सामञ्जस्य र आपसी विश्वासको वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो ।’

अल्पसङ्ख्यक समुदायको अनुपम सम्मिश्रणबाट बनेको हाम्रो विविधताबीचको एकता र सामाजिक सद्भावपूर्ण नेपाली संस्कृतिलाई परम्परालाई अक्षुण्य राख्दै जलसम्पदा, प्राकृतिक स्रोत र गतिशील जनशक्तिको अधिकतम उपयोग गरी गरिबी, अशिक्षा, बेरोजगारी हटाउन कांग्रेस निरन्तररुपमा लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको महाधिवेशनलाई भब्यरुपमा सफल बनाउनु हुने महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक, नेता तथा आम कार्यकर्ता तथा पार्टीका शुभेच्छुक सबैमा उनले विज्ञप्तिमार्फत आभार व्यक्त गरेका छन् । उनले प्रजातान्त्रिक पद्दतिमा प्रतिनिधि छनोट प्रक्रिया ताजगीको प्रतीक बताउँदै पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै विधानतः परिचालन गर्ने प्रविधि भएको बताएका छन् ।

विज्ञप्तिमा महामन्त्री कोइरालाले नवनिर्वाचित सभापति र कोषाध्यक्षलाई बधाई ज्ञापन गरेका छन् । कांग्रेस आस्थाका धरोहर संस्थापक नायक विपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका साथै नेता रामनारायण मिश्र, महेन्द्रनारायण निधि, रामकृष्ण थारु, सुशील कोइरालालगायतले देखाएको बाटोमा अहोरात्र समर्पित र क्रियाशील रहने प्रतिज्ञा उनले विज्ञप्तिमार्फत जनाएका छन् ।

कांग्रेसका अगाडि चुनौतीका पहाड

नेपाली कांग्रेसका अगाडि चुनौतीको पहाड रहेको कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले बताएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि फेसबुकमा उनले ‘कांग्रेसका अगाडि चुनौतिका पहाड छन् र अवसर पनि उत्तिकै छन् । राम्रो भविष्यका लागि सबैजना एकजुट हुनुपर्छ ।’

१३ औं महाधिवेशनबाट पार्टीले नयाँ उर्जा प्राप्त गरेको उल्लेख गर्दै उनले महाधिवेशनका प्रतिनिधिहरु नयाँ उत्साह र उमंग बोकेर घर फर्किने बताएका छन् । कोइरालाले डेढ महिनाअघि पार्टीका सभापति सुशील कोइरालाको आकस्मिक निधनबाट ठूलो धक्का लागेको तर, त्यसका बाबजुद महाधिवेशन सफल रुपमा सम्पन्न भएको बताएका छन् ।