आकाश नदेखेको मेरो शिर -दीपक विश्वकर्मा दीपक विश्वकर्मा


दीपक विश्वकर्मा 

कहीँ न कहीँ
कतै न कतै छिद्रहरु छन्
र तिनै छिद्रहरुको सेरोफेरोमा म रुमलिएको छु
आजसम्म ।

भन्न चाहिन
मुर्कट्टाहरुको कथा आजसम्म मैले
लेखोटमा उतार्न समेत चाहिन
यी सफेद पबित्र पानाहरुमा
काला धव्वाहरु दर्ज गर्दै
कति दुरुह छ ?— मेरो अतित
सिलोट समाएर जव उकालो लाग्थे
बर्जुले भन्ने गर्दथिइन्—
पाइन हाल्न सिक हँसियामा
गाउँ कमाउन सक्लास्
स्कूलको कित्ली कहिल्यै समाइन मैले
केशव वा मानबहादुर गाहाले
टुटीबाटै खान सिकाउँथे
नभनेर हो आजसम्म कसैलाई मन खोलेर
मसंग ज्वालामुखी थेग्रिएकोछ
आगो ओकल्न तैयार
धन्य हो म, बाँचिरहेको छु
र बाँचेर सपना देखिरहेको छु
एक उदाउँदो ताराको ।
एकाबिहानै बा उठेर
खलातीको बिटो समाउँदा
म अर्धनिद्रा मै हुन्थे सधैजसो
आमैले भकारो सोहोरीसक्दा
वा दीले डोको नाम्लो बोकेर डाँडो काट्दा
म अर्धबेहोसी मै सपना देखिरहेको हुन्थेँ
र पनि त,
म स्कूल पुग्थेँ र गाउँथे—
ज्योतिले पंख उचाल्ने भाका ।
मैले कसैलाई सुनाएकै छैन
मरासिनी होटेलको सोह्रपैसे खिरको कुरो
सुनाउँदा दिगमिग लाग्ने गर्दछ आफैलाई
यद्यपि अपार स्वादको वखान छुट्नु हुँदैन
मैले कहिल्यै माझिन प्लेट—मनले
गिलास खकाल्दा कहिल्यै औला डुवाइन
प्लेट माझ्दा वा गिलास खकाल्दा
मेरो शिरले कहिल्यै आकाश देखेन
आज यतिका वर्ष पछि
बाको खलाती,
आमाको भकारो
दिदीको नाम्लो
थुम्केली मास्टरको छडी
मरासिनी होटेलको खिर
खकाल्दै गरेको चियाको गिलास
हँ त मैले कसैलाई नभनेर हो
वा भन्न नसकेर हो
अनेकौ बज्र सहेर स्पातिलो बनेको मेरो छातीकोकथा ।

बारबरा एडमको सम्झनामा