दुरदराजमा राज्यको आँखा नपुगे विदेशबाटै सहयोग गर्न सबै जुट्ने की ?- प्रकाश श्रेष्ठ


सबैलाई थाहा भएको कुरा हो नेपाल भौगोलिक विकटता भएको मुलुक हो । मुश्किलले ७५ वटै जिल्लामा बल्ल तल्ल कच्ची सडकहरु पुग्न सकिरहेको छ । पक्की सडक संजालमा सबै जिल्लाहरुका मुख्य मुख्य बजारहरु त जोडिन सकेका छैनन्, ग्रामिण भेगको त कुरै छोडौ । पछिल्लो दिनहरुमा भने गाउँलेहरुको जनसहभागिताबाट कच्ची सडकहरु पनि ग्रामिण क्षेत्रमा विस्तार हुने क्रम भने बढेर गएको छ । त्यस्तै गाउँलेहरुको सक्रियतामा स्कुलहरु खोल्ने क्रम र स्वास्थ्य चौकीहरु निर्माण हुने क्रम पनि जारी छ । यद्यपि अझै राजधानीबाट धेरै टाढा सुदुर गाउँहरुमा विकासका ढोकाहरु न राज्यले खोल्न सकेको छ न त जनताले नै सक्रियता देखाउन सकेका छन् । गरिवीले थिलो-थिलो परेका जनताहरुले दुई छाक हात मुख जोर्ने नसकिरहेको अवस्थामा यस किसिमको विकास निर्माणमा सरिक हुनु टाढाकै कुरा हुने नै भयो ।

            नेताहरु चुनावको बेला थुप्रै आस्वासन बाँडेर भोट बटुलेर राज्यसत्तामा पुग्न माहिर छन् तर चुनाव सकिए सँगै पुन अर्को चुनाव नहुन्जेल सम्म प्रायः नाक, मुख गाउँमा देखाउँदैनन् । अक्कल झुक्कल आउँदा समेत तामझामका साथ आउने र आश्वासनका लड्डुहरु सधैजसो बाँडेर जाने गर्दछन् । यो क्रम दशकौ देखि निरन्तर जारी छ । देशमा परिवर्तनका नाममा जतिसुकै व्यवस्था परिवर्तन भएपनि गाउँलेहरुको समस्या समाधानमा वास्तविकरुपमा नेतृत्वमा बस्नेहरु बेखवर नै छन् । बार्षिक रुपमा छुट्टाईने बजेट के , कसरी , कता खर्च भएर गएको छ गाउेलेलाई केही थाहाँ छैन । समस्या पहिले जे थिए तिनीहरु जस्ताको त्यस्तै , अझै थपिदै गएको छन् ।

           अहिले पनि नदीहरु-खोलाहरुमा आवात-जावत गर्ने झोलुंगे पुल समेत बनेको छैन । जनताहरु आफैले निर्माण गरेका अस्थायी फड्के र तुहीनको साहाराले जोखिमपुर्ण यात्रा गरि दैनिकी गुजारेका छन् । कोशौ हिडेर साना बालबालिका स्कुल पुगेर आफ्नो भविष्यको भाग्य रेखा कोर्न खोजिरहेका छन् तर विडम्वना न स्कुल भवनको छानो एकसरो पानी ओत्ने छ न त पढाउने शिक्षक-शिक्षिकाको नै उचित व्यवस्था छ । स्वास्थ्य र सरसफाईको हालत पनि त्यस्तै छ । सामान्य रोग लाग्दा उपचार गर्ने प्राथामिक स्वास्थ्य केन्द्रको समेत व्यवस्था छैन । अझै सामाजिक अन्ध-विश्वास र कुरितीहरुको त कुरै छोडौ । सामान्य  महिलाहरुमा मासिकरुपमा प्राकृतिकरुपमा हुने मासिक धर्म /रक्तश्राप(सामान्यतया  पानी बाहिर हुने वा नछुने हुने भनिन्छ ) मा समेत छुवाछुतको व्यवहार गरि कटेरो वा अलग्गै बस्नु पर्ने बाध्यता छ ।  सामान्य नुन-तेल जस्ता दैनिक सामान किन्नको लागी धेरै लामो पैदलयात्रा गरि सदरमुकाम जानु पर्ने बाध्यता छ । यस्ता धेरै समस्याहरु व्याप्त छन् ग्रामिण दुरदराजमा बस्नेहरुको बस्तीमा ।

          जाजरकोट , हुम्ला, जुम्ला, सल्यान , प्यूठान , रुकुम, रोल्पा, सोलुखुम्बु जस्तै धेरै दुर्गम गाउँहरुमा बस्ने सर्वसाधरणहरुको धेरै समस्याहरु छन् । यी समस्या बारे राज्य जानकार छ तर ती समस्या निराकरणको खासै प्रयासहरु भएका छैनन् । झण्डै एक बर्ष वितिसक्दा समेत भुकम्प पिडीतहरुको पुनर्वासको व्यवस्था हुन सकेको छैन । उनीहरुको समस्या बारे यति धेरै  संचारका साधनहरु -मेडियामा आईसकेको छ तर राज्यबाट व्यवस्थित प्रयास हुनै सकेको छैन । देश-विदेशबाट प्राप्त अरबौ सहयोगलाई समेत व्यवस्थित उपयोग गर्न नसक्नु राज्यको कति सम्मको गैरजिम्मेवारीपन हो यसको चर्चा जति गरेपनि कमै हुन्छ । आँखामा पट्टी बाँधेर बसेको राज्यसंयन्त्रलाई ब्युउँझाउन अव फेरी अर्को महाविपत्ती नै आउनु पर्ने देखिन्छ तर कामना गरौ गत साल जस्तो महाभुकम्प फेरी नआओस् ।

           झण्डै  ४० लाख भन्दा बढी विदेशमा नेपाली युवाहरु रोजीरोटीको लागी काम गरिरहेका छन् । सबैको चाहना देश समृद्ध बनोस् भन्ने नै छ । दुरदराजमा समेत विकासको ढोका खुलोस् भन्ने छ । तरपनि स्वदेश तथा विदेशमा बस्ने नागरिकको चाहनाले मात्र कुनै काम हुने रहेन्छ जव सम्म राजनैतिक नेतृत्वमा बस्नेहरु र प्रशासन एवं कार्यसम्पादन तहमा कार्यरत कर्मचारीतन्त्रहरुको ईच्छा शक्तीले काम गर्न तयार हुँदैन तव सम्म केही नहुने रहेछ । यति भनिरहँदा स्वदेश तथा विदेशमा रहने खासगरी युवाशक्ती टुलुटुलु हेरेर बस्नु भन्दा सामाजिक सेवामा केही न केही टेवा पुर्याउन आ-आफ्नो क्षेत्रबाट निश्चित अभियानका साथ लाग्नु पर्ने तड्कारो आवस्यकता देखिन्छ । यसको लागी गाउँ-ठाउँमा र विदेशमा रहेका युवाहरु संगठित भएर आपसमा सहयोग जुटाएर सामाजिक काममा जनस्तरबाटै जुट्न आवस्यक देखिन्छ ।

              विदेशमा काम गरेर , व्यवसाय, पेशा गरेर बस्नेहरुले पनि भाषण र देशप्रेमको मिठा सन्देश एवं भावुक अभिव्यक्ती सामाजिक संजालहरुमा व्यक्त गर्नुको अलवा केही आर्थिक सहयोग सबै मिलेर जुटाएर ती दुरदराजमा बस्ने हाम्रै नेपाली दाजु-भाई , दिदी-बहिनीहरुलाई केही न केही सहयोग गरे पक्कै पनि त्यस स्थानमा बस्नेहरुको मनले राम्रो आशिर्वाद दिने छ । बार्षिक रुपमा कम्तीमा कमाईको केही प्रतिशत वा एकै दिनको कमाई किन नहोस् सबै मिलेर जम्मा गरेर निश्चित भरपर्दो माध्यम मार्फत पुर्याएर तिनीहरुको हित हुने परियोजनामा खर्च गर्न सके निकै ठुलो काम र देशप्रेम हुने थियो । कम्तीमा शिक्षा ,स्वास्थ्य , खानेपानी जस्ता क्षेत्रमा थोरै भएपनि राहत पुर्याउन सके त्यस भेगका जनताहरुको जिवनस्तर माथी उठ्न सक्थ्यो । यस्तो काम सबै विदेशमा बस्ने नेपालीहरुले अभियानकै रुपमा चलाउन सके राज्यको आँखा पनि खुल्न सक्थ्यो की ? अव राज्यलाई गाली गरेर कुनै अर्थै छैन किनकी राज्य निकम्पा प्रायः छ । नेताहरु लम्पट बनेर भ्रष्टचारको दलदलमा फसेका छन् , हाम्रो खवरदारी जारी राख्दै गरेर जनताहरुनै मिलेर केही अभियान स्वरुप दुरदराज र ग्रामिण तहमा देखिने अत्यावश्यक सामाजिक सेवाहरु उपलब्ध गराउन आजै बाट प्रदेशमा बस्नेहरु जुटेर विशुद्ध राजनितीबाट टाढा रहेको संस्थाहरु खोलेर अगाडी बढ्नु जरुरी छ ।

          प्रदेशमा पनि यस्ता धेरै सामाजिक संस्था नखोलिएका होईनन् , सबै राजनैतिक दलका विदेश सम्पर्क समितीहरु पनि नभएका होईनन् र अझै गैरआवासिय नेपाली संघ (एन.आर.अन.)हरु पनि क्रियाशील नभएका होईनन् तर यी सबै संस्थाहरु आपसमै अलमल र राजनैतिक लुछातानीमै रुलमोलिएका छन् भन्दा फरक नपर्ला । यसो भन्दै गर्दा सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । कतिपय विदेशमा रहेका सामाजिक संस्थाहरुले आफ्नो गाउँठाउँमा र विभिन्न दुरदराजका ठाउँमा समेत विभिन्न सामाजिक सेवा र आपतविपतमा परेकालाई सहयोग पुर्याएको पनि देखिएको छ । अझै व्यवस्थितरुपबाट सामाजिक सेवाहरुमा लाग्नको लागी सबैको एकिकृतरुपमा प्रयास हुनु भने जरुरी छ ।
हामी प्रदेशमा कुनै राजनैतिक दलका झण्डा बनेर आफुलाई खाल्डोमा भासिन तयार हुनु भन्दा अव केही नयाँ सोचौ । हामीले पनि जनस्तरबाट केही गर्न सक्छौ की ? यसै बारे म एउटा सानो कुरा हजुरहरु समक्ष राख्न अनुमति चाहन्छु । म हाल अमेरिका भएको कारण यहाँकै बारेमा चर्चा गर्छु ।

            मलाई थाहाँ छ अमेरिका आईसके पछि अधिकांशको चाहना सधैभरी यतै परिवार सहित बस्न चाहने र यसैको लागी आवस्यक प्रकृया पुरा गर्न बाँकी भए सोही अनुसार लाग्ने अनि परिवार भएपछि एउटा कम्तीमा घर चाहियो , सके व्यापार-व्यवसाय गर्न पाए झनै राम्रो भन्ने सोच हुन्छ । यो अस्वाभाविक सोच भने अवस्य होईन तर यहाँ विदेशमा पनि हामी सयौ संस्थामा प्रत्यक्ष र परोक्ष आवद्ध छौ । सबैको नाम सामाजिक सेवाकै पगरी गुथेका छौ । हामीलाई राम्री थाहाँ छ कति सामाजिक संस्था समाज सेवाको लागी र कति समाजिक सेवाको नाम भजाएर आफ्नो अभिष्ठा पुरा गर्न वा नामको भोकले खुलेका हुन भन्ने कुरा , यो बारे टिकाटिप्पणी गरेर खासै अर्थ राख्दैन र नकारात्मक सोचेर पनि कुनै फाईदा छैन । म त्यतातिर गएर टाउँको दुखाउने प्रयासमा छैन ।

          मैले मात्र , अनुरोध यो गर्न खोजेको हो की । छातीमा हात राखेर सबै अमेरिका बस्नेले भनौ नेपालको माया छ कि छैन , बाहिर देखाउनको लागी नभई आत्मै देखि भनौ ? पक्कै सबैलाई छ होला हैन, तपाईका सपरिवार यतै भएपनि ईष्टमित्र, आफन्त र साथीभाई अझै नेपालमा बस्नेहरु पनि होलान् ? पक्कै पनि  छन् होला सबै यतै आईसकेका त छैनन् ।  उनीहरुलाई संझनु हुन्छ, पक्कै याद आउँछ त्यसो भने केही गरौ न त सबै मिलेर ! गर्ने के ? गर्नु धेरै पर्दैन मात्र ईच्छा शक्ती देखाउनु होस् केही गर्न सकिन्छ, कसरी ?

             मानौ, मोटामोटी हामी अमेरिकामा ४ लाख जनसंख्यामा छौ, सबै स्टेटको नेपालीको जनसंख्या जोड्दा । यसमा अधिकांश परिवार सहित हुन सकिएला, सिंगल पनि हौउला । मानौ, औसत १ लाख जना प्रति परिवारलाई प्रतिनिधित्व हुने व्यक्ती छौ ।  अब एक लाख जना मिलेर केही गरौ न त । सबैले एक दिनको कमाई जति हुन्छ डोनेशन जम्मा गरौ । कसैको धेरै कमाई होला कसैको थोरै । मानौ, सरदर १०० डलर जम्मा प्रति व्यक्ती हुन्छ भनेर । अव कति बन्ने भयो( १ लाख गुणन १०० डलर ) = १ करोड डलर । यसको हाल प्रचलित सामान्य Exchange rate मा पनि १ अरव नेपाली भन्दा बढि नै पर्न आउँछ ।