सभापतिलाई निलम्बन गर्नेहरु नै निलम्बित, जनसम्पर्क समिति अमेरिकाको पछिल्लो घटनाक्रम


केन्द्रिय समितिका १७ जना पदाधिकारीहरुको कन्फेरेन्स बैठकले सभापति आनन्द विष्टलाइ कारवाही स्वरूप निलम्बन गरेको भोलिपल्ट केन्द्रिय समितिकै बैठकले तिन मुख्य पदाधिकारीलाई निलम्बन गरेको छ |

यसरी निलम्बित हुनेहरुमा वरिष्ठ उप-सभापति धनन्जय नरसिंह केसी, महासचिव मुनेन्द्र नेम्वाङ्ग र उप-सभापति चेतप्रसाद (सीपी) पौडेल रहेका छन् |


समितिका सभापति आनन्द विष्टको सभापतित्वमा शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको सार्बजनिक भएको छ | यसैगरी समिति मातहतको अनुशासन बिभाग समेत विघटन गर्ने निर्णय गरेको छ | उक्त विभाग यस अघि सचिव भोजराज थोकरको संयोजकत्वमा गठन गरिएको थियो |

शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकमा सहभागी सबैले विधि विधानभन्दा माथि कोही नरहेको भन्दै संस्थाको हित विपरित काम गर्ने जोकोहीलाई पनि अनुशासनको दायरामा ल्याउनु पर्ने आवाज उठाएको बुझिएको छ |

शुक्रबारको बैठकमा सभापति आनन्द विष्ट, उप सभापति त्रय धर्मराज श्रेष्ठ, भगवान मैनाली र केशव बरालसहित केन्द्रीय सदस्यहरु वेद प्रसाद खरेल, सुवास लामा, लोक लामा, सुन्दर गुरुङ, सुभेन्द्र रानाभाट, मान्ती शाह, गोपाल विश्वकर्मा, माया कडायत, पिताम्वर भुषाल, सन्तोष पहारी, अमृत भट्टराई, हरि शर्मा, गोकुल ढकाल, परमानन्द खनाल र चन्द्रकान्त धिताल सहभागी थिए |

उक्त बैठकमा साथीहरुले गल्ति गरेपनि लिखित स्पष्टिकरण माग्ने र तत्काल कारबाही नगर्ने सुझाब आएको थियो | केन्द्रिय सदस्य द्वय गोपाल विश्वकर्मा र माया कठायत निलम्बनको पक्षमा थिएनन | तर अरु सबैले निलम्बन गर्नुपर्छ भनेपछि कारबाहीको निर्णय भएको सम्बद्ध सुत्र बताउछ |

उक्त बैठकमा रहनु भएका गोपाल विश्वकर्माले द नेपाल टुडेसंग कुरा गर्दै भन्नु भयो, "महासचिवले बोलाएको बैठकमा म थिइन | त्यसै मेरो नाम रखिएको छ भन्ने सुनेको छु | सभापतिले बोलाएको बैठकमा म उपस्थित थिएँ | जे भईरहेको छ राम्रो भएको छैन | मिल्नुको बिकल्प छैन | हामी दुवै पक्षलाई मिलाउने तरखरमा छौं |

यसैबीच सभापतिले बोलाएको बैठकको बारेमा केन्द्रिय समितिका सदस्य एवं प्रचार विभाग प्रमूख गोकूल ढकालले एक प्रेस बिज्ञप्ति जारी गरी बैठकका निर्णयहरु सार्बजनिक गरेका छन् | यसअघी केन्द्रिय समितिका निर्णयहरु प्रचार विभाग मार्फत आउने गरेका थिएनन |

प्रचार विभाग प्रमूख गोकूल ढकालले जारी गरेको प्रेस बिज्ञप्ति यसप्रकार छ :
मिति: अप्रिल १, २०१६ |

नेपाली जनसम्पर्क समिती, अमेरिका केन्द्रिय समितिको आज बसेको आकास्मिक बैठकले संगठनमा हालै भैरहेका रबैयाप्रती केन्द्रित रहेर संस्थाको काम, कर्तब्य र कर्तब्यापरायणतामा अंच आउने खालका हरेक समस्याको सामना गर्ने निर्णय गरेको छ । आज बसेको नेपाली जनसम्पर्क समिति, अमेरिकाले समितिको आकास्मिक बैठकले संस्थाको विधान विपरित काम गरेको ठहर गर्दै समितिका वरिष्ठ उप-सभापति धनन्जय नरसिंह केसी, महासचिव मुनेन्द्र नेम्वाङ्ग र उप-सभापति चेतप्रसाद (सीपी) पौडेललाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ | समितिका सभापति आनन्द विष्टको सभापतित्वमा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो | यसैगरी समिति मातहतको अनुशासन बिभाग समेत विघटन गर्ने निर्णय गरेको छ | सोही विभाग यस अघि सचिव भोजराज थोकरको संयोजकत्वमा गठन गरिएको थियो |

निलम्वित पदाधिकारीहरुले संस्थाको गरीमालाई आँच पु-याउने कार्य गरेको कारण यस्तो निर्णय गर्नु परेको जनसंपर्क समिती अमेरिका, केन्द्रिय समितिले ठहर गरेको छ । विकसित पछिल्लो तथाकथित प्रचारवाजी र अल्पमतमा रहेका केही पदाधिकारीहरुले गरेको भ्रमको खेतीका पछि नलाग्न समितिले सबै च्याप्टर सभापति, पदाधिकारी, साधारण सदस्य एवं शुभेच्छुकहरुलाई आग्रह समेत गरेको छ | शुक्रवार सम्पन्न केन्द्रीय समितिको बैठकमा सहभागी सबैले विधि विधानभन्दा माथि कोही नरहेको भन्दै संस्थाको हित विपरित काम गर्ने जोकोहीलाई पनि अनुशासनको दायरामा ल्याउनु पर्ने आवाज उठाएका छन् |

कन्फरेन्स कल मार्फत भएको बैठकमा १९ जना सदस्यहरु सहभागी थिए | बैठकमा सहभागी सबैले अनुशासनहीन कार्य गर्ने जोकोहीलाई पनि विधान अनुसार कारवाही गर्नुपर्ने सुझाव दिएका थिए | यसैबीच कोषाध्यक्ष विजय कुमार थुलुङ्ग र अनुशासन विभागका प्रमूख समेत रहेका भोजराज थोकरलाई अन्तिमपटक बिधानत: सच्चिने मौका दिने निर्णय समेत गरेको छ |

आजको बैठकमा सभापति आनन्द विष्ट, उप सभापति त्रय धर्मराज श्रेष्ठ, भगवान मैनाली र केशव बरालसहित केन्द्रीय सदस्यहरु वेद प्रसाद खरेल, सुवास लामा, लोक लामा, सुन्दर गुरुङ, सुभेन्द्र रानाभाट, मान्ती शाह, गोपाल विश्वकर्मा, माया कडायत, पिताम्वर भुषाल, सन्तोष पहारी, अमृत भट्टराई, हरि शर्मा, गोकुल ढकाल, परमानन्द खनाल र चन्द्रकान्त धिताल सहभागी थिए |

आजको बैठकले विकसित नयाँ परिस्थितिमा समितिका सबै च्याप्टरहरुसंग समन्वय गर्न संगठन विभागका प्रमूख समेत रहेका केन्द्रीय सदस्य वेदप्रसाद खरेललाई पहल गर्न जिम्मेवारी दिने निर्णय समेत गरेको छ | साथै सबै च्याप्टरहरुलाई विकसित परिस्थितिमा सिर्जना भएको अन्यौलका बारे भ्रममा नरहन समेत आग्रह गरेको छ |

न्यूयोर्कमा हुने नेपाल परेड डे कार्यक्रम आयोजना सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै यो कार्यक्रमलाई सफल बनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ | यसका लागि समिति मातहतको सांस्कृतिक बिभागका संयोजक सुवास लामालाई प्रतिनिधि तोकिएको छ |

आजको बैठकले हालै सम्पन्न नेपाली कांग्रेसको १३ औं अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल सहित सम्पूर्ण कार्य समितिलाई धन्यवाद दिने निर्णय समेत गरेको छ | यसैगरी कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई समेत कार्यकाल सफलताको लागि शुभकामना प्रस्ताव समेत पास गरेको छ |

गोकूल ढकाल
प्रमूख, प्रचार विभाग एवं केन्द्रीय सदस्य
नेपाली जनसम्पर्क समिति, अमेरिका |

,