सिरियाले सेनाको हवाई आक्रमण, ४४ जनाको मृत्यु

एजेन्सी वैशाख, ८ – सिरियामा सरकारी सेनाले गरेको हवाई आक्रमणमा परि ४४ जनाको ज्यान गएको छ । सरकारी सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तको बजारमा गरेको हवाई आक्रमणका कारण अरु धेरै मानिस घाइते भएको मानवअधिकारकर्मीले बताएका छन् । हवाई आक्रमणका कारण इडलिबको मारात अल–नुमनमा ३७ तथा काफ्रानबेल सात जनाको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । घाइतेमध्ये तीन जना बालबालिकाको अवस्था गम्भीर रहेको र ज्यान जानेको संख्या बढ्न सक्ने अब्जरभेटरीले जनाएको छ ।
सिरियामा अहिले सात हप्ते अल्पकालिन युद्ध विराम लागु छ । तर पछिल्ला दिनमा बढ्दो हिंसाका कारण त्यो कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको छ । सिरियाका विपक्षीको छाता संगठनले जेनेभामा हुने वार्तामा सहभागी नहुने बताएको छ । सरकारी सेनाले आक्रमण नरोकेकाले आफूहरु संयुक्त राष्ट्रसंघको समन्वयमा हुने वार्तामा सहभागी नहुने विपक्षीको भनाई छ । तर सिरिया सरकारले भने विपक्षी विद्रोहीले अल्पकालिन युद्ध विरामको उल्लंघन गरेको दाबी गरेको छ ।
रुसी हवाई सैनिकले सिरियाली सैनिकलाई सहयोग गर्दै आएका छन् । मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्से इडलिबमा सरकारी सेनाले गरेको आक्रमणलाई आमहत्या शंज्ञा दिएको छ ।