आगलागीमा १० घर जले

प्यूठान वैशाख , १६-प्यूठानका भिन्दाभिन्दै दुई स्थानमा भएको आगलागीबाट १० घर जलेर सखाप भएका छन् । प्यूठान नगरपालिका–१६ आँपडाँडामा बुधबार दिउँसो १२ बजेपछि लागेको आगोबाट ती घर जलेका हुन् ।
घटनामा आधा दर्जनभन्दा धेरै गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीयवासी तीन जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार जारी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
त्यस्तै, घटनाको क्षतिका विषयमा आज अध्ययन गरिने उहाँले बताउनुभयो । सुख्खा मौसम र आगलागी स्थानमा युवाको कमीले गर्दा आगो नियन्त्रणमा समय लागेको स्थानीयवासीले बताएका छन् । दिनभर लागेको आगो जिल्ला दैवी प्रकोप उद्धार समितिको सहभागितामा प्रहरी, नेपाली सेना, रेडक्रस, स्थानीयवासी र विद्यार्थीले साँझ ८ बजेपछि मात्रै नियन्त्रणमा लिएका थिए ।
त्यस्तै, अग्निपीडितका लागि बुधबार आफन्तसँग बस्ने व्यवस्था गरिएको र आज मात्र राहात वितरण गरिने प्रजिअ कुरुम्बाङले बताए । रासस