नेपालको प्रगतिः फुटबल विश्व बरियतामा नेपाल छ स्थान माथि अायो

काठमाडौँ, २५ चैत, फुटबलको विश्व बरियतामा यो महिना छ स्थान सुधार गरेको नेपाल १७९ औँ स्थानमा उक्लिएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा छ । पाँच स्थान सुधार गरेको अफगानिस्तान १४७औँ स्थानका साथ पहिलो स्थानमा छ ।

दुई-दुई स्थान तल झर्नुका बाबजुद क्रमशः १६० र १६२औँ स्थानमा रहेका माल्दिभ्स र भारत दोस्रो र तेस्रो स्थानमा कायम छन् । त्यस्तै, थपघट नभएको बङ्गलादेश १७७औँ स्थानका साथ दक्षिण एसियामा चौथो स्थानमा रहेको छ ।

सात स्थानमाथि उक्ले पनि भुटान १८६औँ स्थानका साथ छैटौँ स्थानमा अर्थात् नेपालभन्दा पछाडि छ । त्यसैगरी, दुई स्थान उक्लिएको श्रीलङ्का १८७औँ स्थानका साथ सातौँ र तीन स्थान तल झरेको पाकिस्तान १९०औँ स्थानमा छ र पाकिस्तान दक्षिण एसियाको अन्तिममा छ ।

नयाँ फिफा बरियताको शीर्ष स्थानमा अर्जेन्टिनाको पुनरागमन भएको छ भने बेल्जियम दोस्रो स्थानमा झरेको छ । दुई स्थान सुधार गरेर तेस्रोमा पुगेको चिली फिफा बरियतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ भने चार स्थान सुधार गरेको कोलम्बिया बरियताको चौथो स्थानमा छ ।

त्यस्तै, एक स्थान तल झरेको विश्वविजेता जर्मनी पाँचौँ र तीन स्थान तल झरेको युरो कप विजेता स्पेन छैटौँ स्थानमा चित्त बुझाएका छन् ।

त्यसैगरी, एक स्थान झरेको पाँच पटकको विश्व विजेता ब्राजिल सातौँ, समान स्थान तल झरेको पोर्चुगल आठौँमा छन् । साथै, दुई स्थानमाथि उक्लिँदै उरुग्वे नवौँमा पुग्दा एक स्थान तल झर्दै इङ्ग्ल्यान्ड दसौँ स्थानमा रहेको छ । रासस

,