जुटेर जानुको बिकल्प छैन, सबैले आफ्ना गल्तिको प्रायश्चित गर्नुपर्छ -गोपाल विश्वकर्मा

गोपाल विश्वकर्मा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य हुनुहुन्छ | बर्तमानको बिबादका बिषयमा उहाँसंग द नेपाल टुडेका लागि सतिश चापागाईंले गरेको कुराकानी प्रस्तुत छ:

गोपाल जी, जनसम्पर्क समिति अमेरिकाको विवाद के हो ? 
यो संस्थाको आन्तरिक छलफलको बिषय हो | सामान्य कुरा समय मै समाधान नहुदा ठुलो बन्न पुगेको छ |

कस्तो सामान्य कुरा हो ? भन्न मिल्छ ?
केहि आन्तरिक कुराहरु छन् | साथीभाईहरु बसेर छलफल गरेर समाधान हुनसक्ने कुराहरु हुन् | बाहिर मिडियामा र सामाजिक संजालमा छरपष्ट पार्ने बिषय होइनन |

तर बाहिर त आईसक्यो, छताछुल्ल भईसक्यो नी !
 जे नहुनु पर्ने हो त्यही भईरहेको छ | म पनि चिन्तित छु | यो विवादले जनसम्पर्क समिति अमेरिकाका सबै सदस्य चिन्तित हुनुहुन्छ भन्ने मलाई पनि लागिरहेको छ |

तपाई स्वयं बैठकहरुमा हुनुहुन्छ | किन समाधान खोज्न नसकेको ?
महासचिवले बोलाएको बैठकमा म थिईन | सभापतिले बोलाएको बैठकमा म थिएँ | सभापतिले बोलाएको बैठकमा मैले महासचिव र दुई उपाध्यक्षलाई तत्काल निलम्बन नगरौं भनेको हुँ | एक दुई जना अरु साथीले पनि भन्नुभएको थियो | तर उहाँहरुले सभापतिलाई नै निलम्बन गरेको र कार्यबाहक सभापति बनेको घोषणा गर्दै जुन प्रचारबाजी गर्नुभयो त्यसले अर्को पक्षलाई आक्रामक बनाएको मैले महशुश गरेको छु |

दुवै पक्षका गतिबिधि हेर्दा के लाग्दैछ ?

मैले भनिसकें नी म लगायत धेरै साथीहरुलाई चिन्तित बनाएको छ | महासचिवले बोलाएको बैठकले सभापतिको विचार नै नबुझी एकतर्फी ढंगले सभापतिलाई नै निलम्बन गरेको कुरा मिडिया र सामाजिक संजालमा आयो | त्यसो गर्नु उचित होइन | हाम्रो विधानले सभापतिलाई केहि बढी अधिकार दिएको छ | उहाँलाई बिधान अनुसार नै कारवाही गर्न सकिन्छ तर त्यो धैर्यता साथीभाईले गर्नुभएन | फेरी उहांहरुलाई नै कारबाही गरियो त्यो पनि अलि हतार मै भयो की भन्ने मलाई लागेको छ |

के गर्नु पर्थ्यो होला ?
पहिला त बसेर समस्याको समाधान निकाल्नुपर्थ्यो | सभापतिलाई आफ्ना कुरा भन्ने अवसर दिनुपर्थ्यो | चित्त नबुझे बैधानिक बाटो छदै थियो | उहाँहरुले निलम्बन गरेको कुरा गरेपनि सभापति बहुमत मै हुनुहुन्थ्यो | उहाँले नै छलफल र बार्ता गरेर विवाद टुंग्याउनुपर्थ्यो | त्यो पनि हुन सकेन |

भनेपछि तपाई दुवै पक्षका गतिविधिबाट सन्तुष्ट हुनुहुदैन ?
यो त केटाकेटी पारा भैहाल्यो नी | हामी त केहि नयाँ काम गर्न भनेर गएका हौँ | पछिल्लो महाधिबेशनको म्यान्डेड एकता थियो | हामी पुरानै ठाउंमा पुगेका छौं |

झगडा कांग्रेसीहरुको चरित्र नै बन्यो है ?
त्यसो होइन | त्यहाँ एक भएर सामाजिक काममा लाग्न र विदेशमा नेपालीहरुका बीचमा बृहत सम्पर्क स्थापना गर्ने विशुद्द सोच भएका साथिहरु पनि हुनुहुन्छ | मतभेदलाई छलफलबाट नै किनारा लगाउँ भन्ने साथीहरु हुनुहुन्छ | संस्था बिगारेर तत्काल आफ्नो फाईदा हेर्ने साथीहरु पनि होलान | हामी सबैले उनीहरुलाई समय मै चिन्नु जरुरी छ | हजारौं सदस्य भएको यो संस्थालाई त्यसरी कम सोच्न हुदैन | यो जे भईरहेको छ, सदस्यहरुको चाहना र हित बिपरित भईरहेको छ |

यो पाराले अझै एकता सम्भब छ र ? 
सम्भब छ | र त्यो छलफलबाट नै सम्भब छ | फुटेर होइन जुटेर जानुको बिकल्प छैन | सबैले आफ्ना गल्ति कमजोरीको प्रायश्चित गर्नुपर्छ |

,