न्युक्यासल बन्यो म्यानचेस्टर सिटीका लागि बाधक

एजेन्सी,वैशाख ८ – रेलिगेशनबाट जोगिन संघर्ष गरिरहेको न्युक्यासलले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी न्युक्यासलसँग १–१ को बराबरीमा रोकिएको हो । १४ औं मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै म्यानचेस्टर सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । अग्युरोको गोललाई मान्यता दिने विषयमा विवाद भएको थियो । उनले हेडमार्फत गोल गरेका हुन् । एलेक्सान्डर कोलारोभको फ्रिकिकमा बल हेड गर्दा अग्युरो अफसाइड थिए । विवादका बिच पनि उनको गोलले मान्यता पायो । तर ३१ औं मिनेटमा भर्नोन अनिताले न्युक्यासलका लागि बराबरी गोल फर्काए । अनिताले सन् २०१४ को मार्चपछि पहिलो गोल गरेका हुन् । बराबरी पछि तेस्रो स्थानको सिटीको ३४ खेलबाट ६१ अंक भएको छ । एक खेल कम खेलको आर्सनल ६० अंकसहित चौंथो स्थानमा छ । ३४ खेलबाट २९ अंक जोडेको न्युक्यासल १९ औं स्थानमा छ ।