आफैले ढालेको रुखले किचेर एकजनाको मृत्यु

तेह्रथुम, वैशाख ८ – काठ काट्न भनेर आफैले ढालेको रुखले किचेर बुधबार तेह्रथुममा एक जनाको ज्यान गएको छ । सिम्ले गाविस-४ पैरे बस्ने ५५ वर्षका नरबिर निङ्लेकुको दिउँसो साढे चार बजे रुखले किचेर ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।
घर नजिकै काठ काट्नका लागि ढाल्दै गरेको रुख सोचेभन्दा विपरीत भएर ढल्दा निङ्लेकुलाई किचेको बताइएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सक्रान्तिबजारबाट प्रहरी टोली परिचालन गरिएको डिएसपी ढकालले बताउनुभयो । नरबीरसँगै रहेका स्थानीय रामप्रसाद लिम्बु भने रुख ढल्दा हाँगाले लागेर घाइते भएका छन् ।