नेपालकी फूलकुमारीलाई जापानवाट चिठी




प्रिय फुलकुमारी,
असीम याद अनि मिठो सम्झना !

प्यारी फुलु , एयरपोर्टमा छुट्टिने वेला तिमीले भनेकी थियौ :" दुख परेका वेला मलाई सम्झनु है" हो फ़ुलु आज म दुखित छु निराश छु र त तिमीलाई सम्झदै सम्झदै यो चिठी लेखिरहेको छु | तिमीलाई लाग्ला अचेल फेसबुकको ज़माना छ भाईबर, ईमो ,अनि स्काईपको जमानामा पनि किन चिठी लेखको ?

हो फुलु !  रहर त मलाई तिमीसंगँ स्काईप र भाईबरमै भिडीयो कल गरेर आखाँ जुधाएरै क़ुरा गर्ने छ तर के गर्नु फुलु म निराश छु | अचेल तिमीसगँ भिडीयो कल गर्दा गर्दै पिलिपिली आशुँ झारे भनेँ, भन्न खोजेका कुराहरु भन्नै नसकेर गलानै अबरुद्द भए भने, संम्वाद त्यसैमा टुगिंयो भने,  तिमी पनि ऊता ईन्द्रावति व्रगेल्ती पार्न थाल्यो भने, म कसरि मनलाई सम्झाएर राखुँ ? ज़िन्दगीमा कहिल्यै तिम्रा आखाँमा आशुँ झरेको देख्नै नसक्ने मैले मेरै अगाडी तिमीले आशुँ झारेको म टुलुटुलु हेरेर बस्न कहाँ सक्छु र ? त्यसैले मन शान्त पार्न भएपनि तिमीलाई यो चिठी लेखिरहेको छु |

कुनैवेला काठमाण्डौको सडकमा हिडीरहेका वेला आकाशमा उडिरहेको हवाईजहाज देखेर म पनि उड्ने सपना देख्थेँ | आफ्नै साथीभाईले समुन्द्रको किनारमा बसेर मिठो मुस्कान दिदै खिचेका तस्विरहरु, ठुला ठुला विल्डिगंमा बसेर खिचेका तस्विर अनि रेष्टुरेन्टमा पिजा र पास्ता खाएका तस्विरहरु फेसवुकका वालहरुमा पोष्ट गरेको देखेर म पनि उ वेला जापान उड्ने सपना देख्थेँ | तर मलाई त्यतिवेला के थाहा " जापानमा बस्ने तिनै साथीहरु मैले कालीगण्डकीको किनारमा बसेर खिचेको त्यो तस्विर, मैले धान फल्दै गरेको खेतको बिचमा बसेर खिचेको तस्विर र आमासगँ वसेर ढेडो र गुन्द्रुक खादै गरेको त्यो तस्विर फेसबुकमा देखेर गाऊँ फिर्ने सपना वुनिरहेका छन् भन्ने? "

तस्विर खिच्दा देखिएको त्यो हासोँ जवरजस्त निकालिएको क्षणिक हासोँ हो भन्ने मलाई के थाहा ऊ वेला?

 बिदेशी भुमिमा आज म निराश छु, जवकि नेपालमा बस्ने लाखौ युवाहरु मेरो जस्तै ज़िन्दगी जिऊने सपना देखिरहेका छन् | नेपालमा छदाँ मलाई पनि लाग्थ्यो, जापान सपनाको  शहर हो । अनि तिम्ले पनि भन्थेऊ कुनैवेला : "बन्धु हामी जापान जानुपर्छ | पैसा कमाऊनुपर्छ |  काठमाण्डौमा घर किन्नुपर्छ | कबिताको जस्तै हाईफाई ज़िन्दगी जिऊनुपर्छ |

त्यतिखेर त लाग्थ्यो, जापानमा पैसा फल्ने रुख़हरु प्रशस्तै छन् | हाम्रो काम गएर टिप्ने मात्रै हो | यि सव भ्रम रहेछ प्रिय !

जापान छिरेको दिनदेखिनै पैसा फल्ने रुख खोज्दै खुव डुलेँ शहरका गल्लीहरुमा, अहँ कतै भेटिएको छैन । मानिसहरु सोच्ने गर्छन -जापान सपना फुलाऊने सुन्दर बगैचा हो, तर यो जापान सपनाको थुप्रो मात्रै रहेछ | जापान प्रवेशपछि बाध्यताले सपना भुलाऊनेहरु धेरै रहेछन् । चयनले रात विताऊनेहरु र आनन्दले दिन कटाऊनेहरु यहाँ कमै मात्र भेटिदा रहेछन् | अहिले त यस्तो लाग्न थाल्यो जापान सपना फुलाऊने सुन्दर बगैचा हुदै होईन | यो त ऊराठ लाग्दो मरुभुमी हो | जहाँ एक थोपा पानीका लागी शितल रात या बर्षात कुर्नुपर्छ ।

 फेरि नेपालको  माया ममता नेपालीपन र नेपाली मन त यहाँ फेसबुकका भित्ताहरुमा मात्र झुण्डीने रहेछ वास्तविक मन त कता हो कता ! नेपालीपन भनेको कामबाट मिलेको थोरै फुर्सद हो, घर परिवारको याद अनि साहुको रिण हो । जापानभित्र सपनाको लागी ज्यान फाल्नेहरु धेरै रहेछन् | सपनाकै लागी ज्यान गुमाऊनेहरु धेरै छन् | जापान भित्र स्वाभिमानी शिरहरु पनि निहुरिएका रहेछन् |

वास्तवमा, जापान प्रवेशपछि मानिस येनकै धन्दामा भुल्दो रहेछ | बिहान उठेर एक कप कफि र पान(पाऊरोटी) खाएर काममा जानु अनि हतार हतार कुदेर गाक्कोऊ (क्याम्पस) ,फेरि गाक्कोऊ सकिएपछि हतार हतार रामेन (चाऊचाऊ) खाएर फेरि अर्कों काममा जानु धेरै नेपालीहरुको दैनिकी जस्तै रहेछ | समुन्द्रको किनार अनि साकुरा फुलसगँको तस्विर देखेर तिम्लाई पनि लाग्दो हो -जापान त जाउँ जाउँ जस्तो, बन्धुले चाडै वोलाएपनि हुने | तर जापानको यथार्थ त जव तिमी यहाँ आऊनेछौ अनि देख्नेछौ यहाँको पिडा अनि यथार्थता ।

हिजो नेपालमा छदाँ जुन सपना देखेको थिएँ योजनाहरु वनाएको थिएँ | आज सव भुल्न वाध्य भएको छु | वास्तवमै जापान केहिकालागी सुन्दर सपना, केहिका लागी धन रहेछ भने धेरैका लागी दुख पिडा, संघर्ष साथै मृत्युसगँ पनि जोडिएको रहेछ | जापानमा पैसाको रुख भएको सपना देखेर जापान छिर्नेहरुका लागी जापानमा जिवन रहेनछ मृत्यु रहेछ | तिमीले पनि सुनेकी हौली जापानमा नेपालीहरुको आत्महत्या गरेको खवर, यस्तै यस्तै कारण रहेछ आत्महत्या गर्नुको पनि |

अन्त्यमा,
लेख्नपर्ने त धेरै थियो तर यो पत्रमा सवै क़ुरा समेट्न सकिन | अर्कों पत्रमा अन्य कुराहरु लेखौला | मेरो वुढो जापान छ भनेर धेरै नफुर्कनु | बुढ़ाको संघर्ष यस्तै छ, यहाँ | अर्कों चोटी फेरि भेटौला | अहिलेलाई बिदा |

उहि तिम्रो
बिश्वबन्धु भण्डारी
जापानवाट

, ,