लोकप्रियतासँगै छाँगावरोहणलाई व्यवस्थित बनाउने पहल

काठमाडौँ वैशाख, १६ -अग्ला झरनाबाट डोरीको सहारामा खेलिने क्यानोनिङ (छाँगावरोहण) नेपालमा साहसिक खेलका रुपमा विकास हुँदैछ ।
हिमाल आरोहण, पदयात्रा, जलयात्रा, बञ्जीजम्प, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय गतिविधिप्रति पर्यटकको आकर्षण बढिरहेका बेला साहसिक खेलका रुपमा चिनिएको छाँगावरोहणप्रति पनि स्वदेशी विदेशीको आकर्षण बढ्दै गएको हो ।
“स्वदेशी विदेशी गरेर वार्षिक तीन हजार जति छाँगारोहणमा जान्छन्” – नेपाल छाँगावरोहण सङ्घका अध्यक्ष राजेन्द्रबहादुर लामा भन्नुहुन्छ । लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट, कास्की, ओखलढुङ्गा र काठमाडौँसहितका विभिन्न जिल्लाका झरना छाँगावरोहणका लागि बढी प्रचलित छन् । पाँच हजार २०० मिटर उँचाइमा अवस्थित मनाङको फुको झरना संसारकै सबैभन्दा उँचाइमा रहेको छ ।
अग्ला पहराबाट खस्ने छहराको चिसो पानीसँगै गर्मीयाममा खेलिने जोखिमपूर्ण तथा साहसिक खेललाई व्यवस्थित बनाउन नेपाल छाँगावरोहण सङ्घ लागिपरेको छ । सङ्घले नेपालका २० भन्दा बढी झरनामा व्यवस्थित अन्वेषण गरेर छाँगावरोहणको व्यवस्था मिलाएको छ ।
छाँगावरोहणको प्रवद्र्धन गर्न कार्यशाला, राष्ट्रिय र अन्तर्राष्ट्रिय महोत्सव र गाइड प्रशिक्षणजस्ता कार्यक्रम गरेर प्रचारसहित प्राविधिक सीपको विकास गरिरहेको सङ्घका कोषाध्यक्ष क्षेत्रबहादुर बस्नेत बताउनुहुन्छ । “छाँगावरोहणमा नेपालीको सहभागिता बढाउन महोत्सव आयोजना गर्न लागिएको छ” उहाँले भन्नुभयो ।
सङ्घको हालै बसेको बैठकले विभिन्न सामाजिक सञ्जालहरुमा नेपालमा छाँगावरोहणसम्बन्धी दक्षता प्रमाणित नभएका, सम्बन्धित निकायबाट इजाजत नलिएका र सङ्घले प्रमाणित नगरेका व्यक्ति, कम्पनीहरुले छाँगावरोहण गर्ने गराउने, झरनामा व्यक्तिगत स्वामित्व देखाउने र छाँगावरोहणसम्बन्धी तालिमको समेत आह्वान गरेको जानकारीमा आएको भन्दै त्यसप्रति सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएको छ ।
सङ्घका महासचिव देवेन्द्रबाबुद्वारा जारी विज्ञप्तिमा छाँगावरोहण साँच्चै नै साहसिक र जोखिमयुक्त पर्यटकीय गतिविधि भएकाले यदि कोही देश वा विदेशका नागरिक छाँगावरोहणमा रमाउन चाहेमा पूर्वरुपमा नेपाल सरकार तथा छाँगावरोहण सङ्घबाट स्वीकृति लिएको कम्पनी, गाइड र तोकिएका झरनामा मात्र गर्न र गराउन अनुरोध गरिएको छ ।
सङ्घको पहलमा सरकारबाट छाँगावरोहण कार्यविधि निर्देशिका आइसकेको र केही बुँदा संशोधन गर्न सङ्घले गृहकार्य सुरु गरेको जनाएको छ । रासस