"म सूर्यकुमार क्षेत्री | घर स्यांग्जा पिंडीखोला |" -सतिश चापागाई


"दाई नै हो सतिश चापागाई ?" कहिल्यै नदेखेको र नचिनेको मान्छेले मलाई सोध्यो |
मैले "हो" भने |
"तपाईले देउराली र नव जनचेतनामा लेखेका लेख समाचार खुब पढ्छु | मलाई अति मन पर्छ | मलाई पनि लेख्न सिकाउनु पर्यो दाई |"
"तपाई को?"
"म सूर्यकुमार क्षेत्री | घर स्यांग्जा पिंडीखोला |" कसिलोसंग हात मिलाउदै उनले भने |

तानसेनको मखनटोलमा रहेको हुलाक कार्यालय आगाडी हाम्रो पहिलो कुराकानी भएको थियो | म नेपाल समाचारपत्र दैनिकको प्रकाशन संस्था कामना प्रकाशन समुहको पाल्पाको बजार व्यवस्थापकको काम गर्थें र रिपोर्टिंग पनि | रेडियो नेपालको रिपोर्टर थिएँ | उल्लेखित स्थानीय पत्रिकामा पनि काम गर्थें |

मैले "अफिसमा भेटम, कुरा गरम्ला" भने | उनी पछि लागे |
"जे काम पनि गर्छु | तालिम लिने व्यवस्था मिलाउनुस |" त्यसदिन उनको आग्रह थियो |
मैले "पत्रिका बाँड्ने भाई छदैछ, बेच्ने हो भने म केहि प्रति पत्रिका तपाईलाई दिन सक्छु" भने |

उनले स्वीकृति जनाए | अर्को दिनबाट काम शुरु भयो | म आफै पनि परेको बेला पत्रिका बाँड्ने भएकोले नयाँ भाईहरुसंग राम्रो कुरा मिल्थ्यो | फुर्सदमा हामी गफिन थाल्यौं | केहि समयपछि तालिमका लागि अवसर पनि प्राप्त भयो |

उनी कलेज भर्ना भईसकेका थिए | मलाई भेट्दा उनी माओबादीबाट भागेर आएका रहेछन | माओबादीले दाङ्ग र स्यांग्जा आक्रमण गरेको दिन उनी स्यांग्जा आक्रमण गर्न हिडेका व्यक्ति रहेछन | स्यांजाको बायंटारी बजारमा जुत्ता किनेर स्यांग्जा जाँदै गर्दा बाटोबाटै भागेर पाल्पा आएका रहेछन र लुकेर बसेका रहेछन | केहि महिनापछि उनले मलाई बताएको कुरा हो यो |

माओबादीको डरले नै उनी क्याम्पस भर्ना भएका रहेछन र पत्रिकामा आवद्द हुन चाहेका रहेछन | उनको यो स्वीकारोक्तिले मलाई झन् जिम्मेवारी बोध भयो | त्यसो त उनकी दिदि र जुम्ल्याहा दाई तानसेन मै पढाई गर्दा रहेछन |

तिक्ष्ण स्वभावका सुर्यकुमारको लेखनी पनि पत्रिका बाँड्दा बाँड्दै अगाडी बढ्दै गयो | हामी संगै बसेर समाचार र फिचर लेख्न शुरु गर्यौं |

समयक्रममा उनी पाल्पाको पत्रकारितामा आफ्नै मेहनतले सबैले चिन्ने पत्रकार बन्न सफल भए | मेरो साथ सुर्यलाई र सुर्यको साथ मलाई सधै रह्यो | उनले नवजनचेतनाको सम्पादन पनि गरे | श्रीनगर एफ.एम.मा समाचार सम्पादन गरे र कार्यक्रम संचालन गरे | पश्चिमान्चल रेडियोमा पनि काम गरे |

जिल्ला आक्रमण गर्न भरुवा बन्दुक लिएर हिडेका र बीच मै साथीलाई बन्दुक थमाएर हिडेका जुझारु स्वभाबका सूर्यकुमारलाई मन पर्ने गायक जीवन शर्मा, स्व. लोक बहादुर क्षेत्री र नारायण रायमाझी हुन् |  सरकार-माओबादी द्वन्दको त्यो अफ्टेरोमा पनि रेडियोबाट जीवन शर्माका गीत बजाउथे उनी | जीवन शर्माका गीतको पहेलो झोला उनको आफ्नै थियो | आफै ल्याउथे, आफै लान्थे | अनेक प्रशासनिक उल्झनका बीचमा हामीले उनलाई मात्र ती गीत बजाउने अधिकार दिएका थियौं |

म आफु प्रेस युनियनको पाल्पा सभापति हुदा उनले युनियनको सदस्यता लिएका थिए | र अहिले युनियनको सचिव थिए |

लोक गीतका पारखी क्षेत्रीले पाल्पामा हुदा नै पहिलो एल्बम बजारमा ल्याए | "औठी चिनो छ" नामको यो एल्बम २०६२ सालमा बगरमा आयो र सर्बाधिक चर्चित भयो |

कतिपय गीतको पहिलो श्रोता हुन्थे म | कार्यालयमा टेबुल ठटाउदै उनी गीतको लय बनाउथे र शब्द जोड्थे | मैले हौसला दिन्थें | अमेरिका आएपछी पनि उनले आफुले बनाउदै गरेको गीतहरु मलाई पठाउथे |

एउटा अजनबी केटो बिस्तारै मेरो सहयोगी, साथी र भाईमा रुपान्तरित भएको थियो | हामी धेरै समय संगै हुन्थ्यौं | हामी दुईको मात्र होइन हाम्रो परिवारका सदस्यको सम्बन्ध पनि नजिक हुदै गयो | पाल्पा छाडेर हिडेपछि पनि हामी उस्तै नजिक रह्यौं |

सूर्यले काठमाडौँमा संघर्ष गर्दैगर्दा म अमेरिका आएँ | मेरो बुवाको अचानक निधन भएर नेपाल जाँदा हामी रुदै रुदै काठमाडौँबाट पाल्पासम्म पुग्यौं |

काठमाडौँमा आएपछि पनि सूर्यले स्वाभाविक रुपमा संघर्ष गर्नु नै पर्यो | आफ्नो स्वभाबलाइ परिबर्तन गर्न मेरो कारण सहयोग पुगेकोमा उनी मसंग र अरुसंग पनि मेरो सधै तारिफ गरिरहन्थे र मलाई 'गुरु' भन्थे | हरेक बर्ष गुरु पुर्णिमाका दिन मेरो फोटो फेसबुकमा राखेर सम्झिन्थे | मैले उनलाई सधै भाईकै रुपमा माया गरें र साथीका रुपमा सम्मान |

बिरामी हुनुभन्दा केहि महिना अगाडी नेपालीकला डटकम शुरुवात भएको थियो | साथसाथै उनले आफ्ना मन पर्ने गायकहरु नारायण रायमाझी र जीवन शर्माको जीवनीमा आधारित पुस्तक लेख्ने कुरा मसंग गरेका थिए | मैले  "तपाईले लेख्नुस, प्रकाशनका लागि सहयोग गर्छु" भनेको थिएँ |

बिरामी भएपछी एक दुई पटक फोनमा र केहि पटक लेखेर कुरा भएको थियो | अचानक आज बिहान गीतकार भाई एकनारायण भण्डारीले फेसबुकको इनबक्समा "सुर्यकुमारजीको भर्खर अन्नपुर्ण अस्पतालमा निधन भयो रे" भन्ने खबर दिएपछी म छाँगाबाट खसेजस्तै भएँ | शुरुमा त पत्याउन सकिन तर सूर्यलाई माया गर्ने सबै साथीहरुले भाबुक हुदै दिएको श्रद्धान्जलीले मलाई शाश्वत सत्यलाई पत्याउन करै लाग्यो |

हामी दुबैको साथी कमल खनाललाई खबर गरें | कमलजीको फोन आयो | हामी दुबैजना रोयौं | त्यसपछि कसैको फोन उठाईन | सूर्य र मेरो सम्बन्ध थाहा भएका धेरै साथीहरुले बिभिन्न तरिकाले मसंग सम्पर्क गरे | सबैसंग लेखेरै कुराकानी भयो | आज दिनभर सबैसंग यहि बिषयमा कुरा भयो, पटक पटक भक्कानिएँ | सानो छोरो के गर्दै होला? सरिताको अवस्था कस्तो होला ? बुबा, आमा, दिदीबहिनी र दाजुभाईको स्थिति के होला ? म यहाँ त्यही बिषयले मन पोलेर बसेको छु |

हिजोको त्यो सिर्जनशील र जुझारु भाई हामी माझ छैनन् | साना साना कुराहरु पनि झल्झली आँखै अगाडी आउछन | सुतेपनि निदाउन सकिन | मन शान्त पार्न उठेर बिगत सम्झदै लेख्न बसें |

सूर्य भाई तपाईको आत्माले शान्ति पाओस ! अलबिदा !