शिकागोमा नयाँ वर्ष धमाका सम्पन्न


सन्ध्या राई
 शिकागो, अप्रिल १८।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा शिकागोमा नयाँ वर्ष धमाका सम्पन्न भएको छ । शिकागोल्याण्ड नेपाली फ्रेण्डशिप सोसाइटीको आयोजनामा भएको सो कार्यक्रममा सम्पूर्ण नेपालीहरुले मनोरञ्जन लिनुका साथै एकै थलोमा शुभकामना आदन प्रदान पनि गरेका थिए ।

अमेरिकाको शिकागोमा हिजो सम्पन्न सो कार्यक्रममा स्थानीय प्रतिभाहरुको विभिन्न प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन गराएका थिए । विगतका कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुति मार्फत शिकागोबासीको मन जित्दैं आएका शान्ति क्षेत्री, बबि अधिकारी, पूजा पाण्डे, लगायत शारदा गौतम, विष्णु मगर, ललिता पौडेल, आर्य पाठक, रनिसा श्रेष्ठ, पूर्णिमा पाठक, र क्रिष्टिना पाठकले पनि आफूसँगै दर्शकहरुलाई नचाएका थिए । त्यसैगरी अघिल्लो कार्यक्रमहरुमा झैं स्मृति देवकोटा, श्रेया पाण्डे , ग्रिसा चापागाई, दिप्ती केसी, अक्षता कार्की तथा अस्था भण्डारीले पनि उपस्थित दर्शकलाई आफ्नो बेजोड नृत्यले मनोरञ्जन दिएका थिए ।

विगतका कार्यक्रमहरुमा नेपालबाट आएका कलाकारहरुको साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको थियो । तर यसपटक भने संस्थाले विभिन्न क्षेत्रमा दख्खल राख्ने स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले “शिकागो गट ट्यालेन्ट” को नारा सहित कार्यक्रम गरेको हो । संस्थाका कार्यकारी सदस्य तथा गायक शंकर पराजुलीको संयोजकत्वमा लाइभ तर्फ ड्रमसेटमा आसिक श्रेष्ठ, लिड गिटारमा मिनराज चौधरी, बेस गिटारमा आमोद बैजु, र रिदम गिटार तथा गायनका भुवनको राईको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । त्यसैगरी जगदीश यादव, विशाल बाँस्कोटा, नारायण गजमेर, आलोक थापा, र कृष्ण रानाले पनि मयुजिक ट्रयाकमा विभिन्न गीत प्रस्तुत गरेका थिए । उत्सब जोशीद्धारा नेपाली राष्ट्रिय गीतमा ट्रमपेट बजाएर शुरु गरिएको सो कार्यक्रममा पाँच सय भन्दा बढी उपस्थिति रहेको थियो ।

 संस्थाका सचिव इश्वरी बगालेले सञ्चालन गर्न भएको सो कार्यक्रममा उपाध्यक्ष काशीप्रसाद सिंहले उपस्थित सबैलाई संस्थागतको तर्फबाट स्वागत गर्नु भएको थियो । मनोरञ्जन प्रधान सो कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष बेनीमाधब कंडेल (गोपाल) ले उपस्थ्ति सबैलाई धन्यवाद दिनु भएको थियो भने सल्लाकारहरु मार्फत सम्पूर्ण कलाकारुहरुलाई प्रमाणपत्र तथा मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रमलाई व्यवस्थित तथा अनुशासित बनाउनको लागि संस्थका उपाध्यक्ष जितेन्द्र राणा, गणेश थापा, विक्रम थापा लगायत अन्य सदस्य तथा स्वयंसेवकहरुको महत्वपूर्ण भूमिका रहेको थियो ।

यस संस्थाले स्थापना नेपालका विभिन्न स्थानबाट आएर शिकागोमा बसोबास गरिरहेका नेपालीहरुलाई मनोरञ्जन दिदैं आफ्नो संस्कृतितथा परम्पराको संरक्षण तथा संबद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष यसरी नै सामूहिक रुपमा नयाँ वर्ष लगायत अन्य चाड पर्वहरु मनाउँदै आएको छ । यस परम्परालाई आगामी दिनहरुमा पनि निरन्तरता दिदैं बृहत बनाउँदै जाने समेत अध्यक्ष कंडेलले बताउनु भयो । उहाँले कार्यक्रम सफल बनाउन सहयोगी भूमिका निभाउने साथै प्रायोजकहरु पनि विशेष धन्यवाद दिनु भएको थियो ।

यसैबीच संस्थाले हालै मात्र आफ्नै कार्यलय समेत संचालनमा ल्याएको छ । अब सोही कार्यलयमा चाँडै नै नेपाली बालबालिकाहरुको लागि नेपाली पठन पाठन कक्षाको शुरुवात समेत गर्नेछ भने समर फुटबल प्रशिक्षणको समेत तयारी गरिरहेको छ ।