साधारण सभामै अवसर छ, कसलाई फाल्ने वा राख्ने भन्ने कुरो -गोकुल ढकाल


गोकुल ढकाल नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य तथा प्रचार बिभाग प्रमुख हुनुहुन्छ | अहिले दुई समुहका बिचमा विवाद भईरहदा उहाँले दुवै पक्षको गल्ति भएको भन्दै आफ्ना विचार सार्बजनिक गरिसक्नु भएको छ | यसै सन्दर्भमा द नेपाल टुडेले यो समस्यामा उहाँको बुझाई बुझ्ने प्रयास स्वरूप केहि लिखित प्रश्न पठाईएको थियो | ढकाल जीले यसको लिखित जवाफ नै पठाउनु भयो | जुन जस्ताको तस्तै प्रस्तुत गरेका छौं |

 गोकुलजी, नेपाली जनसम्पर्क समिती, अमेरिकाको वर्तमान विवादको वास्तविकता के हो ?

बिभिन्न अल्झनहरुलाई पार लगाउंदै करिव दुई बर्ष अघि टेक्सास राज्यको डालस शहरमा सम्पन्न जनसम्पर्क समिति, अमेरिकाको एकताको अधिवेशन पश्चात 'एकता र समर्पण' बोकेर फर्कदां फर्कदैं स्वार्थका लागि बिभिन्न ओठे बोली र कोठे बैठकहरुले प्रश्रयस्वरुप ठाउँ जमाए । संस्था अघि बढ्दै-जांदैं गर्दा संस्था र मर्यादा भन्दा, ब्यक्ती आफुले आफैलाई लौहपुरुष, सन्तनेता र महामानव ठान्ने एवम अनेकन वाहनामा कोठे बैठकलाई निरन्तरता दिने नराम्रो रोगले बैमनश्यताको बिज मौलाउंदै गयो ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि केन्द्रिय समितिमा सभापतिज्यूले प्रस्तुत गर्नुभएको 'प्रतिनिधी छनौट समिती' लाई सत-प्रतिशत सदस्यज्युहरुले अनुमोदन गर्नुभएको सत्यलाई तपाईंइंसंग ढांट्नु पाप हुनेछ । पछि महाधिबेशन प्रतिनिधी छनौट असन्तुलित भएको भनेर अर्को बिज रोपियो । संस्थाभित्र सभापतिज्यूले प्रस्तुत गर्नुभएको बिषयमा समान या भिन्न धारणा राख्ने सदस्य अथवा समुह हुनु अपवाद होईन । त्यसो त, पछिल्लो समयमा, चर्चित नेपाल परेड डे जस्तो नेपाल राष्ट्रको शान र नेपाली झन्डाको गौरवान्तित ईज्जतलाई कहिल्यै ननिदाउंने प्रख्यात न्यूयोर्क शहरमा नेपाली कला र संस्कृतिको प्रदर्शनका लागि संगठनकै सांस्कृतिक विभागले अन्य संस्थाहरुसंग समन्वय गरेको कार्यक्रमको बिषयलाई 'आधिकारीकताको बारेमा' जिम्मेवार पदाधिकारीज्युहरुले अस्पस्टता सिर्जना गरेको बिषय र हल्लालाई संस्थाको बैठकमा छलफल गर्ने बाटो हुंदाहुंदै 'एकताबाट टाढिन मिलेको वाहना' संगै सुल्झाउन सकिने न्युनतम कामलाई अधिकतम प्रचारको रुपमा 'मुसे कुरो ढिकी' बनेकाले यो विवाद बाहिर देखिएको हो ।

तपाईं महासचिव र सभापतिले डाकेको दुबै बैठकमा सहभागी हुनुभएको छ । यो विवादका सम्बन्धमा तपाईं कुन पक्षसंग नजिक हुनुहुन्छ ? 

सात समुन्द्र पारी आएर दु:ख जोहो गरेर परिवारका लागि रातोदिन खट्नुपर्ने पहिलो कर्तब्य र जिम्मेवारी भएको तपाईं, म र हामी । जिम्मेवारी र कर्तब्यबाट बचेको समयलाई सामाजिक सेवाका लागि चाहे जुनसुकै नाम दिएर खोलिएका संस्थाहरु नै किन नहुन, तिनमा लागेर 'गर्न खोजिने सामाजिक दायित्व'का लागि रहरलाई ईमानको कांध हालेर, परिवार र आर्जनको बाटो छोडेर बहिर निस्कनु पर्ने बन्धनको मान्छे, हामी सबै । हो, कोही धनार्जनपछि सामाजिक हैकमे प्रचारका लागि 'समाज सेवा'को नाममा बाहिर निस्केलान । तर बहुसंख्यक परदेशी परिस्थितीलाई मुट्ठीमै बांधेर समाजका लागि निस्केको हुन्छ । त्यसैले, यहाँ, त्यसमाथी बिरानो मुलुकमा कसैले घमन्डको फुर्ती नलागाए हुन्छ । सत्य यही हो । मैले यो सत्यता किन जोड्न खोजेको भने संस्थाभित्र छिरेपछी 'नियम, अनुशासन र सत्यको सपथ' हुन्छ । कसैले कागज पढेर सपथ खान्छन, कसैले ईमान र सत्यलाई, चोखो मनमा राखेर । संस्थाको र जीबनको रफ्तारमा म निपुण कहिल्यै छैन, जो सबै हुंदैनन । तर, सत्यमेव जायते । मैले संस्थामा सत्य र ईमान्दारिता कति प्रस्तुत गर्न सकें भन्ने जजमान न्यायधिश सिंगो केन्द्रिय समिती, सकृय कार्यकर्ताज्यूहरु र शुभेच्छुकज्यूहरु हुनुहुन्छ । झूटको छारोले मैले कसैलाई पबित्र बनाउंन सक्दिन ।

सतिशजी, यही सत्यको सपथलाई सम्झेर ईमानलाई बन्दकी राखेर जनसंपर्क समितिको जिम्मेवार सदस्यको नाताले पहिलोपल्ट तपाईं मार्फत भन्दैछु कि, म पछील्लोपटक महासचिवज्यूले बोलाउनुभएको बैठकमा उपस्थित थिईंन । हो, शक्तिशाली संगठनमा केन्द्रिय समितिका सभापतिज्यू, पदाधिकारीज्यूहरु, केन्द्रिय सदस्यज्यूहरु, सल्लाहकारज्यूहरु, अग्रज र साथीभाईसंग दिनानुदिन कुरा हुनु हामीले भन्ने गरेको गुटलाई प्रश्रयको टेवा हो र ? म एउटा सदस्य अर्को सदस्यसाथीसंग कुरा गर्नु अबैधानिक, अनैतिक र पाप हो र ?

मैले अघि नै भने, संस्थाभन्दा वाहिर, अमेरिकाको अन्य संस्थामा आबद्ध रहेर हाम्रो संस्थाको 'राजनिती' गर्ने केही कोठेहरुले चलाएको हल्ला हो, म महासचिवज्यूले बोलाउनुभएको बैठकमा गएको भन्नु । म त्यसमा सहभागी थिईंन । सिंगो केन्द्रिय समिती यस मामालामा जानकार छ । जहांसम्म, एउटा सदस्य म, कुन पक्षसंग नजिकको सवाल छ, सतिशजी, सामाजिक संजालमा छरपश्ट 'डालसको एकता भड्किएको पिर, हामीलाई भोट दिएर संस्थामा सुधारका कमसेकम न्युनतम पहलको आशा गर्नुहुने कयौं शुभेच्छुकज्यूहरुको चासो र ईमानलाई' हृदयमा राखेर भन्नु पर्दा म संस्था पक्षधर । संस्थापन पक्ष भन्दिन, किनभने निर्वाचित सभापति, अग्रज पदाधिकारीहरु, सिंगो बौद्धिक केन्द्रिय समिती र सन्तोषको आशा गर्ने कैयन शुभेच्छुकहरुको आशाको धरोहर जनसंपर्क समिती, अमेरिका, एउटा सिंगो संगठन वा संस्था पक्षधर हुँ, म । सत्यवादी अटल संस्थालाई संस्थापन र गुटफुटको उपमा दिनु पाप हुनेछ ।

 सभापती बिष्टले एकताको नेतृत्व गर्न नसकेको भन्ने आरोप छ । तपाईंलाई त्यस्तो लाग्छ ? 

हो, स्थापनाकालदेखी कुनै न कुनै वाहनामा जनसंपर्क समिती रुम्मल्लेको सांचो हो । नि-बर्तमान संयोजकज्यू, उहांको टीमले जनसंपर्क समिती अमेरिकामा धेरै राज्यहरुमा च्याप्टरको अधिबेशन गराएर डालसमा 'एकताको अधिबेशन' गर्न खेलिएको असिमित भुमुकालाई हामीले भुल्नु गलत हुन्छ । त्यो नेजसको ईतिहासमा लेखिएको छ । त्यसबाहेक गिरिजाबाबुले प्रथमपटक हाम्रा बर्तमान सभापती आनन्द बिष्टज्यूलाई संयोजक तोकेदेखि नेपाली जनसंपर्क समितिको रुप धारण गर्दै डालस पुगेका हौं । स्थापना, बैधानिकता, रजिश्ट्रेशन, बिधान र बैमनश्यतालाई डालसमा एउटै ठेकीमा मोथेर 'एकताको नौनी' निकाल्ने संकल्प सहितको भेलाको परिणाम हो, डालस अधिबेशन । जहाँ, जनसम्पर्क समिती अमेरिकाका नाममा हरेक तरहले कुनै न कुनै रुपमा नाम जोडीएका प्राय सबै शुभेच्छुकहरुको उपस्थिती थियो । यसो भनिरहंदा, डालस अधिबेशनले त्यस अगाडिका फरक विचार वा बैमनश्यतालाई एउटै ठेकीमा हालेर मोथ्यो ।

स्वाभाविक रुपमा ठुलो संगठन, निर्वाचन भयो । अबश्यभावी जित हारमा वर्तमान सभापतिज्यू लगायत बर्तमान केन्द्रिय समितिले जित्यो, सबैले जित्नुभयो । तर, रुन्छे मुख लगाएर कोही आफ्न राज्य फर्केनन । डालसको ठेकीले मोथेको 'एकताको नौनी' हो, बर्तमान केन्द्रिय समिती । सारांशमा, जे जस्ता आरोप प्रत्यारुप थिए, त्यस अगाडी, सबै सकिए । अब फेरी त्यसअगाडीका थोत्रे कुरा कोट्याएर निहुं खोज्नु भनेको चाचा मागेर रुने बालापन हो भन्छु म त ।

केन्द्रिय समितीको निर्वाचनबाट राज्य फर्कदा-फर्कदै जन्मभुमीमा गएको महाप्रलयमा सिंगो केन्द्रिय समिती, एकाबिहानै ब्युझिएर 'देशका लागि, सहयोगको जोहो' गरेको एकता कसैका सामु छिपेको छैन । केन्द्रियसमितिले अनुमोदन गरेर नेपालमा सभापती लगायत पदाधिकारीज्यूहरु आँफै गएर देश सेवामा खटेको कथा सुनाउंदा लामो हुन्छ । भनिन्छ नि, आफुले गरेको सेवाको बखान नगाउनु भनेर । अझै सबैभन्दा ठुलो एकता संस्थाको बिधान पासका लागी भएको बैठकमा देखियो । संशोधनका केही आवाज बाहेक सबैले ताली पिटेर बिधान पास गरेको बैठकमा भाग लिने म पनि एक हुँ । अब अहिले बिगतमा ताली पड्काएको घटनालाई सम्झेर छाती पिट्न ढिलाई भयो ।
केन्द्रिय समितिका बिभागहरु बने, माऊ पार्टीको महाधिवेशनमा भाग लिएर सबै फर्कनुभयो । यसभन्दा बढी भित्रका गूदी कोट्याउनु आबश्यक छैन । यही न त हुने, प्रवासको संगठनमा, होईन र, सतिशजी ?

बैठक भाको छ, बहुसंख्यकको सहमत छ । च्याप्टरहरुका कार्यक्रमहरु भएका छन, सभापतिज्यू, महासचिवज्यू, पदाधिकारीज्यूहरु, केन्द्रिय सदस्यज्युहरु जानुभाको छ, हामी सबैका आंखाले देखेका छन । हो, यती हुंदाहुंदै पनि, सभापतिज्यू, सबै कुरामा निपुण हुनुहुन्छ भन्ने कुरो छैन । कन्फेरन्सबाट संस्थाको बैठक चलाऊनुपर्ने यात्रा बिशाल मुलुकमा प्रत्यक्ष भेटघाटको अभाव, बैठकमा खुराफाती बाह्य ब्यक्तिहरुको प्रबेशले गोपनियताको भंग र काम गर्दै जांदा मानव जातीबाट हुने साना-तिना कुराहरुलाई र आफुलाई प्रस्तुत गर्न र गराउनका लागि केन्द्रिय समितिका बिभिन्न निकाय हुंदाहुंदै सभापतिले केही पनि गरेनन वा 'सभापतीले एकता बिर्सिए' भन्नु भन्दा ति भन्नेहरुलाई 'ए-- कता ?' भन्न् मन लाग्छ मलाई ।

महासचिव लगायतको टीमले सभापतिलाई कन्फरेन्स कलको बैठकबाटै निलम्बन गर्न हुन्छ ? त्यस्तो ब्यबस्था छ, विधानमा ?

एउटै परिवार हो, हामी । काम गर्दै जांदा आईपर्ने केही असन्तुष्टीहरुलाई समाधान गर्ने आफ्नै ठाउँहरु छन । बिद्धान, अग्रज र मभन्दा अनुभव र लगानीमा दुई चारवटा भोटाहरु पठाइसक्नुभएका महासचिवज्यू, पदाधिकारीज्युहरु लगायत असन्तुश्ट जनाउनुभएका केन्द्रिय सदस्यज्यूहरुलाई मैले के सिकाउन सक्छु र ?
तर, वहाँहरुलाई राम्रोसंग थाहा छ, बिधानको बारेमा म एकरत्ती पनि हल्लिन्न भन्नुहुने बरीष्ठ उपसभापतिज्यू आँफै हुनुहुन्छ । ईमान्दार महासचिवका रुपमा र सच्चा पारिवारिक सदस्यका रुपमा सबै आफन्तै हुनुहुन्छ । केन्द्रिय समितिको हिजोको बैठकमा सभापतिज्यूले कसैसंग राग नराखी बोल्नुभयो । सन्तुस्ट र असन्तुश्ट सबैको घर हो, जनसंपर्क समिती भन्नुभयो । जोड्न के लगेको भने, एउटै बिचार , बाटो र कसमा सहित समान गन्तब्यमा हिंडिरहेका हामी आज पनि एउटै परिवार सद्स्यहरु हौं ।
त्यसैले, महासचिवज्यूले पछील्लो पटक बोलाउनुभएको कन्फरेन्स बैठकले 'निर्वाचित सभापतिलाई हटाउने' भन्नु गलत हो । अघि नै भनें, महासचिवज्यूले सभापतिज्यूसंग सल्लह गरेर केन्द्रिय समितिको बैठक बोलाएर आफ्ना असन्तुश्टी राख्नुभएको भए, त्यो भन्दा प्रजातान्त्रिक, पारिवारिक र शुभेच्छुकहरुको आत्मा नरुआउने उत्तम उपाय के हुन्थ्यो होला र ? तर अहिले जग हंसाउने काम भएको छ भन्छु म त । अन्य संस्थामा सकुनीको रुपमा रहेकाहरुले नेजसको हाम्रो 'मिलन भईराखेको परिवार' भांड्न लगातार लागिपरेका कारणहरुको आंशिक प्रतिफल हो, यो, जुन भईराखेको छ ।
त्यसैले नेपाली जनसम्पर्क समिती, अमेरिकाको केन्द्रिय समितिको कुनै पनि ब्यक्तिले 'निर्वाचित सभापती त के, सदस्यलाई पनि निकाल्न सक्दैन', निलम्बन भन्ने शब्द त अर्कै भाषा हो ! स्पस्ट यो हो कि, 'कृयाशिल सदस्यहरुको साधारण सभामा दुई तिहाई सदस्यहरुको भोट संख्याले मात्र' निर्वाचित सभापतिलाई कारवाही गर्न सकिन्छ । एउटा साधारण बच्चाले पनि जान्ने नेपालको नजिर यही हो, राजनैतीक चेतनाले भरिपूर्ण भनेर घमण्ड गर्ने तपाईं हामीले यस्ता कुरा बुझेको छैन भन्नेलाई ओखती छैन ।

 मिलेर जानुपर्छ भन्ने सबैको भावना छ । तर मिल्ने उपाय के हुन सक्छ ? तपाईंले के देख्नुहुन्छ ? 
हजुर, सतिशजी, जनसम्पर्क समिती, अमेरिका मान्छेको बुझाईमा राजनैतीक संगठन हो । जुन सत्य होईन । जनसंपर्क समिती, एउटा प्रजातान्त्रिक पार्टीमा आस्था राख्ने तर 'प्रावासमा सामुदायिक सेवा' का लागि गठित संस्था हो । यो संस्थामा राजनीति गरेर, खुराफात भित्र्याएर, भाई-भाईलाई फुटाएर शायदै कोही नेपालमा भ्रश्टाचारको आशामा सांसद या मन्त्री बन्छ ! अत : एउटै बिचार भएका, प्रजातन्त्रप्रती आस्था राख्ने सबैको बोली, सेवाभाव र लगन एउटै भयो भने 'एक थुक सुकी, सय थुक नदी' भन्ने जस्तै सामाजिक दायित्वका लागि एकाकार हुन सकिन्छ भनेर नै यसको गठन अग्रजहरुले गरेका होलान । तर, दुर्भाग्यबश, यहाँ 'सेवाभाव भन्दा पुर्वाग्रह', सहिश्णु भन्दा प्रत्यारोपले जरा गाड्यो । खुराफात र राजनीति मौलायो । यसको जिम्मेवार एक्लो सभापती होईन, सिंगो केन्द्रिय समितिले लिनुपर्छ । हामी जिम्मेवारीताको भागीदार हुनुपर्छ । सभापतिज्यूले बोलाउनुभएको हिजोको केन्द्रिय समितिको बैठकको निर्णय पनि यही हो, सबै मिलौं, आपसमा छलफल गरौं । अरुका कुरा सुनौं, समाधानका लागि एक हौं ।
हामीले बुझ्नु पर्छ, कर्तब्यपरायणताका लागि जिताएर पठाउनुहुने शुभेच्छुकज्यूहरुको अपेक्षा के थियो ? हिजो अग्रजहरु फुटेर हाम्रो एकतामा कती सास्ती भयो ? हामी हामी मिल्न केवल अमेरिकामा त सात बर्ष लाग्यो भने त्यो महान एकतालाई भंग गर्न नैतिकताले दिन्छ या दिंदैंन ? जन(शुभेच्छुकहरुसंगको) संपर्क(हातेमालो) हाम्रो मुल कर्तब्य हुंदाहुंदै हामी छुट्टीनुको फाईदा म म त ॠषीमुनी परिन, सतिशजी ।
तर, सारांशमा मिल्ने तपाईंको प्रश्नमा म हिजोको बैठकले 'तीन महिनाको लागि निलम्बन' गरेको कुरा स्मरण गराउन चाहन्छु । जुन सार्वजनिकरण छ । यती हुंदा-हुंदै पनि भन्नु पर्छ, एउटा सदस्यको नाताले तपाईंको मिडिया मार्फत कि, परदेशमा आपसमा त्यसमाथी पनि एउटै थालमा गांस बांडेर खाएर हिंड्ने हामी, कुईंनामा बन्दुकका निलडाम बोकेर सपनासहित प्रवासमा झलझल्ती करेसाबारी, खोरिया, फांट र खोल्सो-कन्दरालाई सम्झदैं भुकम्पले क्षत्-बिक्षत परिवारको छानो, एक मुठ्ठी खान नाकाबन्दीले तड्पेर एकै मुठ्ठी श्वास लिएर तुईन तर्दै स्कुल जाने भाई-बहिनाहरुलाई छाडेर, अभाबले आक्रान्त, लाम्घुट्टेलाई छेक्ने झूलको अभावमा बारीका पाटाहरुमा भ्रस्टाचार गरेर बचेँको पैसाले एनजिओले दिएको एकसरो पाल टांगेर हाम्रो दुई डलरे रेमिट्यान्सको आशामा एक डलरको सय रुपैंयाको हिसाबमा रुंदै बस्नुभएका हजुरबुवा-हजुरआमालाई सम्झेर दु:ख गरी परिवार खुशी पार्ने जिम्मेवारीलाई छाडेर आरोप-प्रत्यारोप छाडेर फेरी बस्नुपर्दछ, एकैठांउं ।

आउनोस, जनसंपर्क समितिले उठाएको बांकी रहेको रकम आफ्ना गाउंमा पुनर्निर्माणका लागि दुई रुपैंयां भने पनि संगै बांडौं । संगै जम्मा गर्न अघि सरेको सहयोगी शुभेच्छुकहरुको सदस्यता शुल्कप्रतिको भावनामा लात नमारौं । एकताका लागि बनेका हाम्रा हातरु जग हसाउंन अरुका लागि ताली बजाउने साधनको रुपमा प्रयोग नगरौं ।
संस्थाको साधारण सभा आउंदैछ, बिचार  र असन्तुष्टीको मन्थन आँफैं गरौं । साधारण सभामै अवसर छ, कसलाई फाल्ने वा राख्ने भन्ने कुरो । नबुझेसरी शुभेच्छुकरुको भावनामा हामी जो कसैले पनि लात नहानौं । 'एकताको अगाडी तपाईं हाम्रा कारवाही पनि नगण्य हुन्छ'। मैले जानेका उपाय र सम्भावनाहरु यिनै हुन । सबैको जय होस् ।